‘फरक क्षमता भएका व्यक्तिका लागि विशेष योजना ल्याइने’



लहान । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले फरक क्षमता भएका व्यक्तिको विकास र उन्नतिका लागि प्रदेश सरकारले विशेष योजना ल्याउने बताउनुभएको छ ।

सिरहा बहिरा सङ्घको रजत जयन्ती महोत्सवमा आज उहाँले प्रदेश सरकारले बनाउन लागेका ऐन कानूनमा पनि फरक क्षमता भएका व्यक्तिको अधिकारलाई समेटिएको भन्दै आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सिरहा बहिरा सङ्घ प्रदेशको लागि मात्र नभई मुलुक कै लागि उदाहरणीय रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले बहिरा सङ्घलाई प्रदेश सरकारले मुलुककै नमूना संस्थाको रुपमा विकास गर्न लागेको बताउनुभयो ।

सङ्घका अध्यक्ष गगाराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल, प्रदेशसभा सदस्य दिलीप साह र नरेश यादव, सिरहा नगरपालिकाका प्रमुख अशेश्वर यादव लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा मुख्यमन्त्री राउतले रजत जयन्ती स्तम्भको अनावरण गर्नुका साथै शल्यकक्षको उद्घाटन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्