मुस्ताङ्ग पुग्ने पर्यटकलाई सास्ती, दैनिक तीन/चार पटक सडक अवरुद्ध



दुर्गाप्रसाद शर्मा, पर्वत ।

सडक स्तरोउन्नतीको काम समयमा नै सम्पन्न नहुँदा हिमालपारिको जिल्ला मुस्ताङ्ग जाने पर्यटकले सास्ती बेर्होदै आएका छन ।

चीनको सिमाना कोरल्ला नाका सम्म पुग्ने गरि एक दशकअघि ट्रयाक खुलेको बेनी–जोमसोम सडक स्तरोन्नतिमा भएको ढिलाइले पर्यटकले सास्ती बेर्होन बाध्य भएका छन । कठिन भूगोल र प्रतिकुल मौसमका कारण तोकिएकै समयमा सडक सम्पन्न हुन सकेको छैन ।

असोज र कार्तिक महिना मुस्ताङ्ग घुम्ने सबैभन्दा ब्यस्त सिजन हो । मुक्तिनाथको दर्शन गर्ने, कागबेनीमा पितृलाई पिण्डदान गर्ने देखि मुस्ताङ्गको प्राकृतिक सौन्र्दयमा हराउन चाहने स्वदेशी तथा बिदेशी पर्यटक पुग्ने गर्दछन । मुक्तिनाथमा मात्रै एक बर्षमा ३ लाख भन्दा बढी पर्यटक पुग्ने गर्दछन । पर्यटक जाने सिजनमा सडकको अबस्था भने दयनीय रहेको छ ।

साँघुरो, जीर्ण, ग्रेड तथा घुम्ती नमिलेको सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको मुस्ताङ्ग पुगेर फर्केका हेटौडाका प्रबिण कटुवालले गुनासो गर्नुभयो । ‘मुस्ताङ्ग पुगेपछि स्वर्गमा पुगेकै अनुभूति हुन्छ’ उहाँले भन्नुभयो ‘सडकको अबस्थाका कारण मुस्ताङ्ग पुग्नै धेरै सास्ती बेर्होनुपर्दोरहेछ’ । विभिन्न ठाउँमा पहिरो खसेर दैनिक तीन/चार पटक सडक अवरुद्ध हुन्छ। घन्टौंसम्म जाम हुँदा यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन्। ठाउँठाउँमा गाडी परिवर्तन गरेर गन्तव्यमा पुग्नु परेको यात्रुको गुनासो छ।

पर्यटकीय हिसाबले काठमाण्डौ, पोखरा पछि धेरैको रोजाईमा पर्ने ठाउँ हो । सडक सहज हुने हो भने मुस्ताङ्गमा अहिलेको भन्दा दोब्बर पर्यटक एक बर्षकै अन्तरालमा भित्रन सक्ने पर्यटन ब्यबसायी कृष्णप्रसाद श्रेष्ठ बताउनुहुन्छ । पर्वतको कुस्मा होटलब्यबसायी समेत रहनुभएका श्रेष्ठका अनुसार पर्वतका होटल ब्यबसाय देखि पर्यटकीय क्षेत्रहरु पनि मुस्ताङ्ग जाने पर्यटकको ट्रान्जिट भएकै कारण भरिभराउ छन । ‘मुस्ताङ्गमा पर्यटकको संख्या बढाउन मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ्ग खण्ड र कालीगण्डकी करिडोरको मालढुंगा देखि कोरल्ला सम्मको सडक समयमा नै सम्पन्न गर्न जरुरी छ ।’ उहाँले भन्नुभयो ‘सडक मात्रै सहज भए पर्यटक दोब्बर भैहाल्छन । ’

म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेतेसम्मको सडक जोखिमयुक्त छ । बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडकमध्ये बेनी–जोमसोम ७६ किमिलाई ४ प्याकेज र जोमसोम–कोरला खण्डको १ सय १० किमिलाई ११ प्याकेज बनाई सडक विस्तारको काम भइरहेको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनामन प्रमुख मुकुन्द अधिकारीले बताउनुभयो ।

बेनी देखि जोमसोमको ३५ किलोमिटर क्षेत्रमा सडक कालोपत्रे गर्नुपर्ने भएपनि पहिरोका कारण सामान्य मर्मत गरेर बस्नुपरेको र अन्य क्षेत्रमा भने काम सन्तोषजनक भएको बताउनुभयो । गत बर्ष हिउँदर हिमपात भएको र बर्षा याममा निरन्तर बर्षा भएका कारण दुई महिना पनि राम्रो संग काम गर्ने वातावरण बन्न नसकेको भनाई उहाँको थियो । ‘म्याग्दी खण्डमा भूगोलकै कारण पनि काम गर्न कठिन छ’ उहाँले भन्नुभयो ‘मुस्ताङ्ग खण्डमा केही स्थानमा बाहेक सडक निर्माण कार्य सहज रुपमा नै अघि बढेको छ ।’

नेपाल भ्रमणबर्षको पुर्ब सन्ध्यामा संसदको बिकास समितिकी सभापति कल्याणी खड्का सहितको संसदीय टोली र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल सहितको टोलीले पनि सडकको अनुगमन गरेर फर्केको छ । दुबै टोलीले नेपाल भ्रमणबर्षलाई लक्षित गरि सडक मर्मत र निर्माण कार्यलाई दु्रतगतिमा अगाडी बढाउन निर्देशन समेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस्