आज राष्ट्रपति र हिजो संघीय प्रतिनिधिसभाका सभामुख र सर्वोच्च अदालतका प्रधानन्यायाधीशसम्म महिला नै भएको मेरो देश नेपालमा महिला किन यति असुरक्षित ? के अब महिला सधैं त्रासमा बाँच्नुपर्ने हो ? दिन प्रतिदिन बढ्दो डरलाग्दा घटना बाहिरिँदा पनि किन चुप छौं महिलाकर्मी ? के सुरक्षा निकाय साँच्चै निदाएको हो ? किन मौन छ यो सरकार ? यसरी किन मौन रहन्छौं हामी सबै ?
म छोरी मान्छे हुँ। मलाई डर लागिरहेछ। सबै कुरा जानकारी हुँदाहुँदै पनि म किन डराइरहेकी छु ? किन मसँग यस्ता तमाम प्रश्नका जवाफ छैनन् ? छोरी मान्छे भएर जन्म लिनु मलाई आफैंलाई कहिलेकाहीं घृणा लाग्छ, डर लाग्छ। हिजो निर्मला पन्तजस्ता धेरै छोरी दिदीबहिनीहरूको बलात्कारका शिकार बने। रोशनी शाही जस्ता शक्तिशाली महिला पनि आफ्नै हाकिमबाट कुटिइन्।
कहिले बलात्कार, कहिले निर्घात कुटपिट त कहिले एसिडको प्रहारको कहर। किन पुरुष यति खतरनाक बनेर महिलामाथि जाइलाग्छन्। के महिलालाई स्वतन्त्र भएर बाँच्ने कुनै अधिकार छैन ? हामी सबै मानव हौं। जीवन सबैको छ। बाँच्न पाउने अधिकार सबैमा समान हुन्छ। अनि फेरि कहाँबाट आयो महिला र पुरषमाथिको भेदभाव। किन महिलालाई कुदृष्टिले हेरिन्छ ?
अहिले मुलुकमा घटेका तमाम घटनामध्ये आधाभन्दा बढी महिलाकै छन्। घरेलु हिंसाले महिलाको अकाल मृत्यु भइरहेको छ। कतै भोलिका दिनमा म र मजस्तै दिदीबहिनीको पालो त आउने होइन ? के अब कुनै कडा नियम बन्दैन ?
कि त पैसाले चलेको हाम्रो देशमा हाम्रो आवाज कसैले सुन्दैन ? दुःख लाग्छ मलाई। विगतका दिनहरूमा बलात्कार र हत्याका विरोधका थुप्रै आवाज उठे तर दिन प्रतिदिन बढेको महिला हिंसा र घटनाका विवरण लुकाइयो।
सुरक्षाकर्मी र राजनीतिकर्मीको मिलोमतोमा जनताका भावनामाथि खेलवाड गरियो। त्यसैले सचेत रहनु हाम्रा देशका दिदीबहिनी। हिजो निर्मला पन्तजस्ता दिदिबहिनीमाथि भएको घटेको घटना हामीमाथि पनि नहोला भन्न सकिन्न।
मनीषा शिवाकोटी, लैनचौर, काठमाडौं।
प्रतिक्रिया