हरिविनोद अधिकारी
शक्तिराष्ट्रका राष्ट्रप्रमुख या सरकार प्रमुख जो कार्यकारी हुन्छन्, तिनको भ्रमण जहाँ भए पनि संसारभर त्यसको चर्चा हुन्छ र परिणामको आँकलन गरिन्छ। नेपालमा पनि भर्खरै भएको चीनका महामहिम राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणको पनि भावी परिणामका बारेमा समीक्षा शुरू भएको छ।
नेपालमा पनि, नेपालबाहिर पनि। नेपाल–भारत र चीनका लागि एउटा रणनीतिक ठाउँका रूपमा विकसित हुँदै गएको परिप्रेक्ष्यमा महामहिम सीको भ्रमणले अपेक्षित तथा अनपेक्षित परिणामका बारेमा चर्चा हुनु स्वाभाविकै हो।
महामहिम सीले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग प्रत्यक्ष वार्ता गर्नुभयो महत्वका साथ। यसलाई नेपाली कांग्रेसले सरकारमा हुँदा वा नहुँदा दलको वा नेपालको विदेश नीति सञ्चालन गर्दा चीनको कुनै पनि चासोको विपरीत नगरेको पुस्ट्याइँ हुन्छ। नेपालका कम्युनिस्टहरूले नेपाली कांग्रेसलाई बलजफ्ती भारतको पक्षधर भन्दै गाली गरिरहने त्यो परम्परागत बानीलाई चीनले यसपटक गलत सावित गरेको देखिन्छ।
चीन स्वभावैले शान्त र कार्यमूलक कूटनीतिक अभ्यास गर्नेगर्छ। संसारकै सबैभन्दा धेरै सैनिकको क्षमता राख्ने चीनले आफ्ना साना छिमेकीहरूलाई कहिल्यै पनि तर्साउँदैन र अनावश्यक दुःख पनि दिँदैन भन्ने मान्यता स्थापित जो छ। चीनका महामहिम राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने राजकीय भ्रमण (१२ र १३ अक्टुबर २०१९ अर्थात् २५ र २६ असोज, २०७६) सम्पन्न गरी चीन फर्किसक्नुभएको छ।
तेस्रो विश्वलाई नेतृत्व गर्ने शक्ति राष्ट्रका उदीयमान नेता, जसको नेतृत्वमा संसारमा नै शक्तिशाली मानिने देशका रूपमा गणना हुन थालेका देश चीनका महामहिम राष्ट्रपति सीको नेपालप्रति देखिएको सद्भाव र सदाशयतालाई प्रशंसा नगरिरहन सकिँदैन। उहाँको बोली, शरीरको चालढाल (बडी ल्याङ्ग्वेज), उहाँको नेपाल बसाइको क्रममा देखिएको नेपालका सबै दलहरूप्रतिको सद्भाव र सहयोगका भावनालाई सम्मान गर्नुपर्छ।
चीनको सामान्यतः नदेखिने कूटनीतिक चलन के हो भने सरकारभन्दा बाहिरका दलहरूसँग खासै औपचारिक सम्बन्ध नराख्ने गरिन्छ तर यसपटक महामहिम सीले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग प्रत्यक्ष वार्ता गर्नुभयो महत्वका साथ।
यसलाई नेपाली कांग्रेसले सरकारमा हुँदा वा नहुँदा दलको वा नेपालको विदेश नीति सञ्चालन गर्दा चीनको कुनै पनि चासोको विपरीत नगरेको पुस्ट्याइँ हुन्छ। नेपालका कम्युनिस्टहरूले नेपाली कांग्रेसलाई बलजफ्ती भारतको पक्षधर भन्दै गाली गरिरहने त्यो परम्परागत बानीलाई चीनले यसपटक गलत सावित गरेको देखिन्छ।
नेपालको विदेश नीतिका कुरा गर्दा यसपटकको सीको भ्रमणमा कुनै द्विविधाजन्य अवस्था देखिएन। सबै दलहरूको एउटै बोली र भावना देखियो। यसले नेपालमा शुरू भएको बाहिरका लागि एकीकृत भावनाको विकास भएको पाइन्छ। सामान्यतः अरूको काममा दोषमात्र देख्ने परम्पराबाट माथि उठेर चीनका राष्ट्रपतिको स्वागत, वार्ता र बिदाइ भएको देखियो।
यो परम्पराका लागि प्रमुख प्रतिपक्षीले देखाएको संयमता र एकतालाई सत्तापक्षले कसरी हेरेको छ भन्ने कुरा अबका अरू घटनाले देखिनेछ। हुनसक्छ, संयमित र सहिष्णु विपक्षी भएर मात्र यसो हुन गएको हो कि आपसमा एकताको वातावरण शुरू भएको हो ? बुझ्नु जरुरी छ। यस्तो भइरहोस् भन्ने चाहना बुद्धिजीवीहरूमा देखिन्छ।
वास्तवमा समस्यारहित छिमेकीका रूपमा नेपाल र चीन रहेका छौं। महामहिम राष्ट्रपति सीको भ्रमण धेरै वर्षदेखि अपेक्षित थियो र पनि अहिले मात्र सम्भव भएको छ। योभन्दा पहिले २३ वर्ष सन् १९९६ मा चीनका राष्ट्रपति चियाङ चमिनको नेपाल भ्रमण सम्पन्न भएको थियो र हाम्रा राष्ट्रपति विद्यादेवी भण्डारीको यसै वर्षको अप्रिलमा राजकीय यात्रा सम्पन्न भएको थियो । हाम्रा प्रधानमन्त्रीहरूको पनि बारम्बार चीनको भ्रमण भई नै रहेको छ।
चीनका तर्फबाट उच्चस्तरीय भ्रमण कमै भएको भए पनि नेपाल चीन सम्बन्धमा कुनै पनि समस्या देखिएको छैन।छिटो–छिटो राष्ट्रपतिहरूको भ्रमण आदान–प्रदान नभए पनि नेपाल र चीनको सम्बन्धमा कहिल्यै पनि उतार–चढाव आएको छैन। एउटा सार्वभौमसत्तासम्पन्न राष्ट्रलाई दिने सम्मान चीनले नेपाललाई दिइरहेको छ। नेपाल र चीनको भौगोलिक र राजनीतिक अन्तरले खासै असर पारेका छैन र नेपालको आन्तरिक मामिलामा अहस्तक्षेपकारी भूमिकामा चीन सदैव दृढ देखिन्छ।
अनि नेपाल पनि एउटै मात्र चीनको अस्तित्वका लागि सधैं सम्मान गर्ने देशका रूपमा देखिएको छ। हिजोका दिनमा जुन बेला चीन मुख्य भूमि नै संयुक्त राष्ट्रसंघको सदस्यताभन्दा बाहिर थियो, त्यो बेलामा पनि नेपालले एक चीनको नीतिलाई दृढताका साथ समर्थन गर्दै ताइवानलाई चीनको विकल्पमा मानेको थिएन।
यसमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको राजनीतिक उचाइले काम गरेको थियो। उहाँले चीनसँग देखाउनुभएको सदाशयतालाई आज पनि चीनले उत्तिकै सराहना गरेको पाइन्छ जुन कुरा यसपटकको महामहिम सीको भ्रमणमा पनि उहाँले उदाहरणीयरूपमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगको आत्मीय भेटघाटले स्पष्ट पारेको छ। त्यसको केही सकारात्मक परिणाम देखिन थालेको छ नेपाली राजनीतिमा।
विश्वका उदीयमान अर्थतन्त्र भएका छिमेकीहरू, भारत र चीन, हामीसँग छन्। उनीहरूका साझा चासोका विषयहरू पनि हामीसँग केही जोडिएका छन्। हामीले ती चासोका विषयहरूमा समानरूपले समभाव प्रकट गरी व्यवहारमा विश्वस्त पार्नु पनि हाम्रो कर्तव्य हो, कूटनीतिक कौशलता हो। यसलाई नेपालका सबै दलहरू, नागरिक समाजहरू र आम सञ्चारहरूको सहयोगमा साझा नीति तयार गरी एउटै आवाज दिन सक्नुपर्छ जस्तो कि भारतमा देखिन्छ।
चीनमा देखिन्छ। अमेरिकामा नै देखिन्छ। त्यो परिपक्वता हामीले पनि आर्जन गर्नुपर्छ। राष्ट्रपति सीले के–के दिनुभयो भन्ने कुरा यहाँनेर यस कारणले पनि गौण हुन्छ कि उहाँको सद्भाव र नेपाललाई हेर्ने सकारात्मक दृष्टिकोण नै हाम्रा लागि प्रशस्त भएको छ। सबैभन्दा ठूलो कुरो यति लामो खुला सीमा भएको दुई देशमा सीमाका बारेमा समेत खासै कुनै समस्या छैनन् र नेपालका तर्फबाट यही समस्याले गर्दा हाम्रा बीचमा समाधान हुन बाँकी छ है भन्ने पनि केही छैन।
जुन महत्वका साथ राष्ट्रपति सीले नेपालको सम्मान गरेको पाइयो, त्यो नै आजको हाम्रो असल परिणाम हो।हाम्रो काम भनेको छिमेकीका बीचमा तगारो होइन कि सम्बन्ध सेतु बन्ने हो। भारतसँग समस्या आयो भने चीनलाई गुहार्ने र चीनसँग समस्या परेका बेलामा भारतलाई गुहार्ने चलन गर्नुहुँदैन।
बरु हाम्रो प्रयासले यदि कुनै समस्या ती देशहरूमा देखियो भने पनि मध्यस्थता गर्ने हिम्मत गर्न सक्नुपर्छ। सुशील कोइराला प्रधानमन्त्री हुँदा सार्कको जुन शिखर सम्मेलन भयो, कोइरालाले भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफको हातै समाएर मिलाई दिनुभएको थियो जसले भारत र पाकिस्तानका बीचमा आइस ब्रेक भएको थियो।
हामीले गर्ने त्यस्तो पो हो। विश्वमा नेपालको जुन शान्तिपूर्ण देशको छवि छ, त्यसलाई अझ उजिल्याउने हो र अब आधारभूत आवश्यकताका लागि चिच्याउँदै मगन्ते हुनुभन्दा आन्तरिक समस्या पहिल्याउँदै आफ्नो खुट्टामा उभिने प्रयास गर्ने हो।
नेपाल भू–परिवेष्टित छ, यो जगजाहेर छ। यो हाम्रो भूगोलको विशेषता नै हो। हामी भारत र चीनले घेरिएका छौं, यो पनि सत्य हो। तर, त्यही भू–परिवेष्टितपन नै हाम्रो गरिबी र पछौटेपनको कारण बन्नुहुँदैनथ्यो। तर, बनेको छ। न त हामी आफ्नो भूगोल परिवर्तन गर्न सक्छौं, न त हामी छिमेकी साट्न सक्छौं। नेपालको तीनतिर भारत र उत्तरतिर चीन रहेको तथ्यलाई पनि हामीले छोप्न सक्दैनौं। उत्तरतिर विकट सीमा छ, पहाड छ, हिमाल छ, चिसो अत्यधिक छ।
त्यो पनि हामी परिवर्तन गर्न सक्दैनौं तर विकटतालाई सुगम बनाउनका लागि चीनले देखाएको तत्परतालाई हामीले आत्मसात् यसरी गर्नुपर्छ, स्वागत गर्नुपर्छ। यसलाई हामीले सम्झनुपर्छ कि यो चीनको काम होइन, हाम्रा लागि चीनले गरेको आत्मीय सहयोग मात्र हो। चीनले गत ३० वर्षमा ७० करोडभन्दा बढी चिनियाँहरूलाई गरिबीबाट मुक्त पारेको छ।
यसो हुनुमा आफूलाई चाहिने खाद्यान्न आफ्नै देशमा विभिन्न वैज्ञानिक उपायहरूको अवलम्बन गरी उत्पादन गरेकोले हो। बन्जर भूमिको उपयोगिता, पानीको वितरणमा सन्तुलन तथा ऊर्जाको राम्रो प्रबन्ध नै हो। समुद्रमा समेत खेती गर्ने प्रविधि छ। बाह्रै महिना कृषिको उपजलाई सम्भव तुल्याएको छ। हामीले सिक्नै पर्ने कुराहरू हुन्। सडक सञ्जाल, रेल सञ्जाल र हवाई सञ्जालको विकास यसरी गरिएको छ कि जसरी पनि जनताको सेवा सम्भव भएको छ।
चीनको अभूतपूर्व आत्मविश्वास बढेको र विकासको पाइला सुदृढ भएको देख्दा हामीले त्यो गुणचाहिँ पछ्याउनुपर्छ र चीनले उदारतापूर्वक गर्ने सहयोगको हामीले अत्यधिक सदुपयोग गर्नुपर्छ जसले चीनलाई पनि आफ्ना जनताको गाँस काटेर दिएको अनुदानको सदुपयोग भएको प्रत्याभूति होस्।
राजकीय यात्राको क्रममा केही सम्झौता, केही सहमति र केही अपेक्षाहरू देखिएका छन् दुई देशका बीचमा। संयुक्त विज्ञप्तिले तिनलाई स्पष्ट पार्ने कोशिस गरेको पाइन्छ। त्योभन्दा पनि हाम्राबीचमा देखिएको समान सम्मान र हार्दिकता नै हाम्रा दुई देशका बीचको मित्रताको आधारशिला हो। साँच्चै महामहिम सीले भनेजस्तै हाम्राबीचमा मित्रता बाहेक अरू कुनै कुरा छैन।
कुनै समस्या छैन। अबको कर्तव्य भनेको चीनको सहयोगका सदुपयोग गर्ने हो। विकास हामी आफैंले गर्ने हो। नेपालको विकासमा चीन तथा भारतले सहयोगको टेवामात्र दिने हो, हाम्रो काम हामी आफैंले नै गर्ने हो। मात्रै मगन्ते जस्तो हुनुचाहिँ राम्रो होइन। हाम्रो उत्पादन बढाउन र हामीले आफ्ना खुट्टामा उभिनुपर्छ भनेर अरूले सिकाउने दिन नआओस् भन्नेतर्फ बढी नै सचेत हुनुपर्नेछ आगामी दिनमा।
नेपाल चीन सम्बन्ध अरू कसिलो र हार्दिक बन्दै जाओस्। चीनका विकासका लागि भएका प्रयासहरूको हामीले नक्कल गर्नुभन्दा त्यस्तै हुने परिश्रम गर्न सक्नुपर्यो। चीनले यस्तो कुराको संकेत पनि गरेको छ। सुशासनले मात्र विकास सम्भव छ र जनताका आधारभूत आवश्यकता पूरा गर्न सकिन्छ भन्ने कुराको जानकारी नेपाललाई नभएको त हैन तर चीनले मुखै खोलेर भन्ने बेला पनि आएको देखिन्छ।
२१औं शताब्दीलाई आफ्नो प्रगतिको अन्तिम बिन्दुसम्म पुर्याउने जमर्कोमा लागेको चीनबाट धेरै कुरा सिक्नु छ तर हाम्रै आफ्ना विशेषतालाई समेट्दै अघि बढ्नु जरुरी छ। यो राजकीय भ्रमणले सिकाएको पाठ भनेको कठिन परिश्रमबाट मात्र देशको विकास गर्नुपर्छ जुन नेपाली आफैंले गरेर मात्र सम्भव हुन्छ।
रेल आउला, सुरुङ बन्ला, चीनका बन्दरगाहहरू नेपाली सामानले भरिभराउ होलान् तर हामीले आफ्नै बुतामा आफ्नो आवश्यकता पूरा गर्न सक्नुपर्छ जस्तो कि चीन र भारतले आफ्ना खुट्टामा टेकेको देखिरहेका छौं। सिकौं उनीहरूबाट र मगन्ते हुनुभन्दा केही गरेर मात्र अघि बढौं।
प्रतिक्रिया