नेपालको बीमा बजार अहिले सानो र साँघुरो अवस्थामा छ।केही समयपहिले जताततै मौलाएको नेटवर्किङ व्यापारमा बीमा गर्नेलाई असर गरेको छ। बीमा कम्पनीहरूको संख्यात्मक वृद्धि र कारोबारका आधारमा समेत वृद्धि भइरहेको देखिए पनि वास्तविकरूपमा बीमा आधार बढाउनका लागि पर्याप्त पहल भएको भने छैन।
बीमा समिति नेपालका अनुसार अहिले जनसंख्याको दश प्रतिशतमा बीमाको पहुँच छ, जुन गत वर्षसम्म केवल ८ प्रतिशतको हाराहारीमा मात्र थियो। यसरी देशका ९० प्रतिशत जनसंख्यामा बीमाको पहुँच नपुग्नु भनेको समग्र बीमा प्रणालीकै कमजोर अवस्था हो। यसमा ध्यान जान जरुरी छ।
बीमाको बारेमा नेपाली जनतामा भएको भ्रम चिर्न जरुरी छ। बीमासम्बन्धी सचेतना बढाउनका लागि चालिएका कदमहरू पर्याप्त नहुँदा आमनागरिकमा बीमासम्बन्धी बुझाइ नै कमजोर छ। २०७२ सालको भूकम्पपछि बीमा गर्नेहरूको संख्या केही बढेको देखिए पनि बुझेरभन्दा बाध्यकारी अवस्थामा यस्तो संख्या बढेको हो।
जबसम्म मानिसमा बीमाको आवश्यकताबारे सही ढंगले सचेतनाले विकास गरिँदैन, तबसम्म बिमितहरूको संख्या बढ्ने अपेक्षा गर्न सकिँदैन। अहिले निर्जीवन बीमामा भवन तथा सवारीसाधनको बीमा बाध्यकारी अवस्था मात्र हुने गरेको छ। जोखिमविरुद्ध सुरक्षा लिनका लागि भन्दा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन बाध्यतावश बीमा गर्नुपरेको गुनासो धेरैको सुनिन्छ।
विशेष गरी जीवन बीमाका क्षेत्रमा अझै पनि आमनागरिकमा किन बीमा गर्नुपर्छ र यसले जीवनकालमा र आफ्नो निधनपछि के–के फाइदा हुन्छ भन्ने विषयमा पर्याप्त सचेतना बढाउन सकेको छैन। एउटा अध्ययनअनुसार पहिले १५ प्रतिशत जनसंख्यामा मात्र बीमासम्बन्धी जानकारी रहेको देखिएको छ। यो बीमासम्बन्धी नियामक निकाय र समग्र बीमा व्यवसायीहरूको कमजोरीको प्रतिफल हो।
नेपालमा अहिले १८ वटा जीवन बीमा कम्पनीसहित कुल ३९ वटा बीमा कम्पनी क्रियाशील छन्। यी बीमा कम्पनीहरूले वर्षमा करिब २० अर्ब रुपियाँबराबरको बीमा प्रिमियम संकलन गर्ने गरेका छन्। यसअनुसार बीमा दाबी भुक्तानी पनि बढेको र बीमा कम्पनीहरूको नाफा आधार पनि बढ्दै गएको बीमा समितिको प्रतिवेदनबाट देखिन्छ।
नाफाको आधार वृद्धि हुनलाई कारोबारको स्तरमा पनि वृद्धि हुनुपर्ने सर्त रहन्छ। बीमा कम्पनीहरूले गर्दै आएको कारोबार गर्ने हो भने बीमा व्यवसाय विस्तारका लागि कम्पनीहरूले ठोस पहल भने गरेको देखिँदैन। सीमित ढंगले गरिएको विज्ञापन वा प्रसार–प्रसार मात्र बीमा कारोबार बढाउनका लागि पर्याप्त हुँदैन।
यसका लागि तल्लो तहबाटै बीमा सचेतना बढाउनु आवश्यक देखिएको छ। पाठ्यक्रममै बीमा शिक्षा समावेश गर्नका लागि शैक्षिक सामग्रीहरूको विकासका साथै नागरिक तहसम्म सरल भाषामा बीमा जानकारी प्रवाह गर्ने प्रणाली बनाई बीमा सचेतना बढाउन सकिन्छ।
अहिले बीमा क्षेत्रमा जम्मा हुँदै गएको जोखिम कम गर्ने हो भने बीमा कम्पनीहरूको कारोबार व्यवसायलाई विविधीकरण गरिनै पर्छ।हालैका दिनहरूमा बीमा कम्पनीहरूले आफ्नो कारोबारस्तर बढाउन बीमा अभिकर्ताहरूको संख्या बढाउँदै लगेका छन् तर बीमा अभिकर्ताहरूले आफ्नो कारोबार बढाउनका लागि सर्वसाधारणलाई सही जानकारी प्रवाह गर्नुभन्दा कृत्रिम मुनाफा वा अन्य किसिमका आर्थिक लाभको प्रलोभन देखाई बीमा गराउने क्रम बढेको छ।
सही जानकारीबिना यसरी बिमितहरूको संख्या बढ्दा तत्कालका लागि बीमा कम्पनीहरूको नाफा लक्ष्य पूरा होला, भविष्यमा गएर बिमितहरूले पहिले देखाइएअनुसारको आर्थिक प्रतिफल पाउन सकेनन् भने त्यसबाट जन्मने परिणामका विषयमा अहिले नै नियामक निकायसहित बीमा कम्पनीहरू पनि गम्भीर हुनु जरुरी छ। सरकारले पनि विशेष पहल गर्नु जरुरी छ।
तुलसी काफ्ले, बुटवल।
प्रतिक्रिया