१२ हजारभन्दा बढी मानिस अट्ने सुविधा सम्पन्न रंगशाला



सुरेश तामाङ
ललितपुर

ललितपुरको गोदावरी नगरपालिकाले अघिल्लो वर्षदेखि सुविधासम्पन्न मिनी रंगशाला योजनालाई विशेष चासो राख्दै अगाडि बढाएको छ। खेलकुद विकासलाई टेवा पुर्याउने उद्देश्यले नगरपालिका मिनी रंगशाला निर्माण योजनालाई अगाडि बढाएको नगरपालिकाले जनाएको छ।उक्त योजना अहिले कार्यान्वयन चरणमा अगाडि बढिसकेको नगरप्रमुख गजेन्द्र महर्जनले नेपाल समाचारपत्रलाई बताउनुभयो।

‘नगरभित्रका युवाको खेलकुद देखिएको प्रतिभालाई उजागार गरी राष्ट्रियस्तरको क्षमतावान् खेलाडी उत्पादन गरी खेल क्षेत्रको विकास गर्न खोजेका छौं।’ –उहाँले बताउनुभयो।
‘अहिले यो योजना नगरका साथै प्रदेशले समेत सँगसँगै लगिरहेको छ। यो हाम्रो प्राथमिकतामा रहेको छ। योजना पूरा गरेरै छोड्छौं।’ –उहाँले बताउनुभयो।

नगरपालिकाले टाहाखेलस्थित बन्द अवस्थामा रहेको ढुंगा खानीमा रंगशाला बन्न लागिएको हो। नगरले अहिले यो योजनाको कामलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ।
प्रदेश सांसद चेतनाथ सञ्जेलले आफ्नो घरछेउमै मिनी रंगशाला निर्माण हुन लागिराख्दा आफ्नो निर्वाचन क्षेत्रका जनता खुसी देखिएको बताउनुभयो।

‘मैदान नहुँदा अर्काको खेतबारीमा बल खेल्न बाध्य थिए। अब यस्तो अवस्थामा आफ्नै घर आँगनमा सुविधासम्पन्न रंगशाला निर्माण हुन लागेपछि स्थानीय युवादेखि नगरबारी दंग छन्।’ –उहाँले बताउनुभयो। रंगशाला निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग हुने उहाँले बताउनुभयो।

बस्ती नजिकैको बन्द अवस्थामा रहेको ढुंगा खानीलाई सदुपयोग गर्दै रंगशाला बन्न लागेपछि स्थानीय खुसी देखिएका छन्। स्थानीय महेश सञ्जेलले बताउनुभयो– ‘१० वर्षअघिसम्म ढुंगा खानी चल्थ्यो। स्थानीयलाई अप्ठेरो परेपछि विरोधमार्फत बन्द भयो। अहिले रंगशाला बन्न लागेको छ। धेरै खुसी लागिरहेको छ।’

गोदावरी–१० मा रंगशाला बन्न लागिएको उक्त खानीलाई पूर्णलालको खानीको नामले परिचित थियो । पछि त्यस स्थानको नामसमेत पूर्णलालको खानी डाँडाको नामले चिनियो।
हाल उक्त स्थानमा ठूल्ठूला ढुंगाका ककारो देख्न सकिन्छ। भने ढुंगाखानी माथि झार र रुख बिरुवाले घेरिएको वन रहेको छ।

झार उम्रिएको उक्त स्थानमा रंगशाला बन्न लागेपछि स्थानीय युवासमेत उत्साहित देखिएका छन्। खेलकुदका लागि गतिलो चौर नहुँदा यहाँका युवा सानो चौरमा खुम्चिएर फुटबल खेल्न बाध्य थियो। अब त्यस्तो नहुने भएको छ। अब युवाले नयाँ बन्ने मिनी रंगशालामा खेल्न पाउने भएका छन्।

‘हामीले चौर नहुँदा बाली काटेको बारीमा केही महिना भाडा तिरेर खेल्न बाध्य थियौं। अब रंगशाला बनेपछि राम्रै चौरमा खेल्न पाउने भयो।’ –स्थानीय युवा गोविन्द घिमिरेले बताउनुभयो।
उक्त मिनी रंगशाला सातदोबाटोस्थित चापागाउँ दोबाटोबाट ९ किलोमिटरको दूरीमा पर्दछ।

उक्त रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत बनिसकेको छ। कुल १० हजार ५ सय ५५ वर्गमिटरको क्षेत्रफलमा उक्त रंगशाला बन्ने नगरपालिकाले जनाएको छ।
रंगशालामा एथ्लेटिक्स, ड्रेसिङ, रंगशालाको कार्यालय प्रयोजनका लागि समेत भवन बन्नेछ भने १२ हजार ७ सय दर्शक अट्ने क्षमताको रंगशाला हुनेछ।

रंगशालामा ८ वटा दौडका लागि ट्र्याकसमेत बन्नेछ। उक्त रंगशालामा प्रशस्त पार्किङको समेत नगरपालिकाले परिकल्पना गरेको छ। सतहमा मात्रै १ सय २० वटा मोटरसाइकल र ४८ वटा चारपांग्रे सवारी अट्नेछ भने सतहमुनि ३ सय ८० मोटरसाइकल र १ सय १२ चारपांग्रे सवारी अट्ने क्षमताको पार्किङ बन्नेछ।

उक्त रंगशाला निर्माण गर्न कुल १ अर्ब ४९ करोड ९५ लाख ५० हजार ८ सय ११ रुपियाँ ९८ पैसा लाग्ने अनुमान गरिएको छ। अघिल्लो वर्ष प्रदेश र नगरले १–१ करोड रुपियाँ विनियोजन गरेको थियो भने अहिले २–२ करोड रुपियाँ विनियोजन गरी टेन्डर प्रक्रियामा गइसकेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बताउनुभयो। रंगशाला निर्माणका लागि ठूलै रकम चाहिने भएकोले दाता खोज्ने कामसमेत तीव्र पारे पनि पूर्वाधार विकासको पहिलो चरणका काम तीव्र गतिमा गर्न लागिएको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्