एनआरएनएको नवौं महाधिवेशन- भित्र्याउने लगानी कि राजनीतिक खिचातानी ?

0
Shares

परिवर्तन देवकोटा, काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं महाधिवेशन काठमाडौंमा आज मंगलबारदेखि शुरू हँुदै छ। नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनका लागि विभिन्न देशबाट करिब १ हजार ५ सय प्रतिनिधि सहभागी हुँदै छन्। एनआरएन परिपक्व बन्दै गए पनि यसका अभियन्ता भने विस्तारै टाढा हुन खोज्दै छन्।

विदेशमा सिकेको सीप र आर्जन गरेको सम्पत्तिलाई जन्मभूमिमा लगाउने उद्देश्यले स्थापित यो संस्था पछिल्ला दिनमा राजनीति गर्ने थलो बन्दै गएपछि एनआरएनका शुरूका अभियन्ता विस्तारै टाढा हुन थालेका हुन्। संस्थाको सदस्यता हुन राखिएको लचिलो प्रावधानका कारण यसमा विकृति भित्रिएको गुनासो छ।

एनआरएनका नाममा जस्तासुकै व्यक्ति पनि प्रवेश गरेकाले यसभित्र राजनीतिको छाया देखिनुका साथै नेपालमा लगानी गर्न सक्ने वास्तविक गैरआवासीय लगानीकर्ताहरू निस्क्रिय हुन थालेका एनआरएनएका एक अभियन्ताले नेपाल समाचारपत्रलाई बताए।

उनले भने– ‘श्रमको सम्मान गर्नुपर्छ तर विदेशमा सामान्य रोजगारी गरी बसेका व्यक्तिहरूबाट एनआरएनको अभियानलाई सफल बनाउन सकिँदैन। अहिले चाहे खाडी मुलुकबाट आएका प्रतिनिधि हुन् वा युरोप र अमेरिकाबाट आएका, उनीहरू अधिकांश आफ्नो जीविकोपार्जनका लागि सामान्य रोजगारीमा मात्रै सीमित छन्।

उनीहरूको मेहनत र श्रमप्रति सम्मान गर्नुपर्छ तर जसरी एनआरएनए भनेर राज्य र जनस्तरले लगानी गर्नसक्ने समूहको रूपमा बुझेको छ, त्यो बुझाइ उनीहरूबाट पूरा हुनसक्दैन।’‘पछिल्ला दिनमा आएका एनआरएनएका अधिकांश प्रतिनिधिको सोच काठमाडौंलगायत शहरी क्षेत्रमा घरघडेरी जोड्नु मात्र छ।

उनीहरूले बहुर्राष्ट्रिय कम्पनीसँगको साझेदारीमा नेपालमा लगानी भित्र्याउने सक्ने वा आफै पनि लगानी गर्न सक्ने सोच र क्षमता राख्दैनन्’, एनआरएनका ती अभियन्ताले भने– ‘१ सय ६० दिन विदेशमा बसेकै आधारमा एनआरएनको सदस्य बन्न पाउनेहरूले नेपालमा कहाँबाट ठूला पूर्वाधार, जलविद्युत्लगायतका आयोजनामा लगानी गर्न सक्छन्।’

एनआरएनएभित्र पछिल्लो समय बढ्दै गएको फोहोरी राजनीतिका कारण राज्यले आशा गरेजस्तो लगानी तथा आर्थिक विकासका सूचकहरू आउन नसकेको ती अभियन्ताको गुनासो छ।
‘संघभित्रको राजनीतिक खिचातानीका कारण उनीहरू आफै विचलित हुँदै गएको यस्तो अवस्थामा राज्यले उनीहरूबाट के अपेक्षा गर्ने?’ –ती अभियन्ताले प्रश्न गरे।

एनआरएनएका पूर्वअध्यक्ष देवमान हिराचनले संगठनले भने लक्ष्यअनुरूप नै काम गरिरहेको दाबी गर्नुभयो।नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले केही कमीकमजोरी देखिए पनि बाहिर हल्ला चलेजस्तो नराम्रो नभएको बताउनुभयो।

एनआरएनएको सदस्यतासम्बन्धी प्रावधान सरल भएकाले धेरै सदस्यहरू भएको र त्यहींबाट विकृति देखिएको बताउँदै हिराचनले आगामी नेतृत्व गलत प्रवृत्तिबाट विमुख हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो– ‘केही विकृतिहरू देखिँदै गएकाले अबको नेतृत्व सचेत बन्नुपर्छ।’

एनआरएनएमा राजनीतिक कार्यकर्ता हावी भएको कुरालाई खण्डन गर्दै उहाँले हावी भइसकेको भन्ने अवस्था नआएको र केही राजनैतिक कार्यकर्ता समावेश हुनु सामान्य भएको उल्लेख गर्नुभयो।एनआरएनएको अभियानअनुसार अहिले संस्था चलिरहेको र मुलुकको विकासका निम्ति हरसम्भव लागिरहेको बताउँदै हिराचनले नेपालीहरूको खुट्टा तान्ने बानीले लगानीकर्ता निरुत्साहित पार्ने काम भइरहेको तर्क गर्नुभयो

। उहाँले थप्नुभयो– ‘खुट्टा तान्ने प्रवृत्तिको विकास झन्झन् बढ्दै गएको छ, यसबाट लगानीकर्ता विचलित हुनुहुन्न।’ विदेशमा सिकेको ज्ञान, सीप र क्षमताको नेपालमा सदुपयोग गर्नुपर्ने तर्क गर्दै हिराचनले भन्नुभयो– ‘अनावश्यक कुराहरू विदेशमा नै फालौं, आवश्यक कुराहरू मात्र नेपाल भित्र्याऔं।’

यस्तै एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछानेले पनि लक्ष्यअनुरूप काम गरिरहेको बताउनुभयो। उहाँले देशको सर्वाङ्गीण विकासमा एनआरएनको भूमिका उल्लेख्य भएको जिकिर गर्दै नेपाल समाचारपत्रसँगको कुराकानीमा भन्नुभयो– ‘एनआरएनएले १६ वर्ष पार गर्दै गर्दा केही उद्देश्यहरू पूरा गरेको छ भने केही पूरा हुने क्रममा छन्।’

लामिछानेले सचेत नेपालीहरू एनआरएनमा रहेको दावी गर्दै संघमा पार्टी कार्यकर्ता हावी नभएको बताउनुभयो। उहाँले गैरआवासीय नेपालीहरूले ज्ञान, सीप र क्षमता नेपाल भित्र्याइरहेको बताउँदै केवल लगानीको हिसाबले हेर्न नहुने तर्क गर्नुभयो।