काठमाडौँ । पत्रकारिता क्षेत्रका अगुवाहरुले पूर्ण प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गरेका छन् । नेपाल पत्रकार महासङ्घद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उहाँहरुले पछिल्लो समयमा पत्रकारमाथि असुरक्षा बढ्दै गएको भन्दै सरकारले पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितताको माग गर्नुभएको हो ।
गैरआवासीय नेपाल सङ्घ (एनआरएन)का अध्यक्ष भवन भट्टले हुँदै नभएका झुटा समाचार सम्प्रेषण गर्नेभन्दा पनि व्यावसायिक ढङ्गबाट सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न आम सञ्चार माध्यमलाई आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रताका लागि विश्वभरी छरिएर रहेका नेपाली पत्रकारबीच एकताकोे आवश्यकता औँल्याउनुभयो । महासङ्घका महासचिव रमेश विष्टले पछिल्लो समयमा अनलाइन पत्रकारितामा देखिएका विकृतिको अन्त्य गर्दै विश्वसनीय पत्रकारिताका लागि अनलाइन सञ्चारमाध्यमसँग अपिल गर्नुभयो ।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पछिल्लो समयमा समाचार लेखेकै आधारमा पत्रकारमाथि धम्की आउने र कुटपिट हुने क्रियाकलाप बढ्दै गएको भन्दै सुरक्षाको माग गर्नुभयो । उहाँले सरकारले विभिन्न ऐन÷कानूनमार्फत प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै त्यसको विरुद्धमा सबै श्रमजीवी पत्रकार एकजुट हुनुपर्ने बताउनुभयो । “कुनै समाचार लेखे वापत पत्रकार तथा सञ्चारकर्मीलाई कुट्ने, धम्की दिने गरिएको छ, समाचार लेखेका कारण पत्रकारलाई जेल हाल्ने, जरिवाना भराउने कानून बन्दै छ, प्रेसलाई नियन्त्रण गर्न खोजिएको छ, नियन्त्रणमुखी कानून ल्याउन खोजिदै छ”, उहाँले भन्नुभयो । रासस











प्रतिक्रिया