८३ बर्षमा पनि घन र खलातीकै भर

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।

उमेर ८३ बर्ष भैसक्यो तर उनका हात अहिले पनि खलाती (आरनमा आगो फुक्ने छालाको साधन) र घनमै व्यस्त हुनुहुन्छ । १२ बर्षको उमेरमा समातेको घन र खलाती अहिले पनि उहाँका लागि पेट पाल्ने र परिवारको खर्च धान्ने साधन हो । बुढ्यौलीले ढाकेपनि उहाँ निरन्तर खलातीको हावाले आगो सल्काउँदै फलाम तताउने र पिट्ने दैनिकी छाड्न सक्नुहुन्न ।

उहाँ अर्थात पर्वतको फलेबास नगरपालिका वडा नं ५ खानीगाउँका ८३ बर्षिय बृद्ध जगतबहादुर बिक ७१ बर्ष देखि खलाती फुकेर तथा घन ठोकेरै परिवारको बिहान बेलुकाको हात मुख जोड्ने काममा अभ्यस्त हुनुहुन्छ । ‘यही खलाती फुकेर ७१ बर्ष देखि परिवार पाल्दै आएको छु’ उहाँले भन्नुभयो ‘परान(श्वास) रहुन्जेल यही खलाती मेरो हात मुख जोड्ने साधन हो, खलाती फुक्न छाड्दा मेरो स्वास पनि रोकिन्छ’
आरन चलाउने काम जगतबहादुर बिकको परिवार पाल्ने पुख्यौली पेशा नै हो । उहाँका बाबु बराजेले पनि यही पेशाबाट परिवार पालेका थिए ।
अहिलेको विकसित समयमा पनि उनी पुरानै बालीघरे प्रथाकै भरमा उनको पेशा चलेको छ । ‘अरुले बालीघरे छाडे तर मेरो परिवार पाल्ने पेशा नै यही हो, बाँचुञ्जेल छाड्दिन’ उहाँको भनाई छ ‘म बालीघरेबाट सन्तुष्ट छु, अरुको कुरा जान्दिन ’ जगतबहादुरले अहिले पनि एक घरबाट बार्षिक ५ पाथी देखि १० पाथी सम्म अन्न उठाउँदै आउनुभएको छ । यसरी उठाएको अन्नले उनले बार्षिक रुपमा घर खर्च चल्दै आएको बताउनुहुन्छ ।

जगतबहादुर अहिले मात्रै होईन १२ बर्षे उमेर देखि नै आरनको काममा लाग्नु भएको थियो । बाबुले काम गर्न नसकेपछि उहाँले १२ बर्ष देखि नै उनले आरन चलाउन थाल्नुभयो । फलामका धातु पिटेर हसिँया, बञ्चरो, कोदाली,फाली बनाएरै उनले घर खर्च चलाउदै गर्दा अचानक उहाँलाई भारत जाँने सोच आयो । पहिले उडिसा र पछि आसाम पुगेर रोजगारी गर्नुभयो ।

भारतमा गएपछि उहाँलाई अरु पेशा होइन आरन नै चलाउने मन लाग्यो । २२ बर्ष जति भारतमा बिताएर २०१८ सालमा उहाँ फलेबास फर्केर फेरी पुरानै आरन चलाउन थाल्नुभएको हो । ‘भारतमा गए पनि आरन चलाउन छाडिन’ उहाँले भन्नुभयो ‘अरु काम गर्दा कमाई नभएपछि आरन चलाउँदा सोचे भन्दा बढी कमाई भयो ’ भारतमा उहाँले मासिक ५ सय सम्म हसिँया र धान काट्ने कच्चीया बनाएर कमाई गरेको अनुभव सुनाउनुभयो । त्यसबेला त्यो कमाई सबैभन्दा सबैभन्दा बढी थियो ।

नेपाल फर्केपछि पनि उहाँले यही पेशा अगाल्दै आउनुभएको छ । नेपाल फर्केपछि साविकका शंकरपोखरी, खानीगाउँ, देबिस्थान र मुडिकुवा गाबिसका झण्डै २ सय घरमा बालीघरे प्रथाका आधारमै आरन चलाउनुभयो । त्यसबेला उहाँले २०, ३० मुरी अन्न उठाउँनुहुन्थ्यो । अन्न उठाउन मात्रै परिवारका सदस्यले महिना दिन भन्दा बढी समय लगाउनुपथ्र्यो ।

‘महिना दिन सम्म त अन्न उठाउन हिड्नै समय लाग्थ्यो, कतिघरमा त बर्षमा एक दिन पुग्न पनि मुस्किल’ उहाँले भन्नुभयो । त्यसबेला उहाँका ६ भाई छोरा र ७ बहिनी छोरी सहितको परिवार उठाएको अन्नले सजिलै पालिन्थ्यो ।