साधुको हत्यामा संलग्न तीन पक्राउ


न्युज अफ नेपाल, अमरगढी ।

डडेल्धुरामा भएको साधु (जोगी) हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । प्रहरीले आइतबार अन्दाजी १४ र १६ वर्षीय दुई स्थानीय किशोरलाई नियन्त्रणमा लिइएको हो । घटनापश्चात अर्का आरोपित डडेल्धुरा र बैतडीको सिमानामा लुकीछिपी बसेको सूचनाका आधारमा आइतबार पक्राउ परेका हुन् । पक्राउ परेका आरोपित बालबालिका ऐन, २०७५ को दफा ११ बमोजिम उनीहरुको परिचय भने खुलाइएको छैन ।

पक्राउ परेका तीनै जनाले गत मङ्गलबार घटनास्थल नजीकै अजयमेरु गाउँपालिका–१ समैजी कोटेलीमा रहेको पसलमा मदिरा सेवन गरी होहल्ला गर्दै मृतकको कुटीमा गएका थिए । फर्कने क्रममा नजीकै सडकमा मृतक उमाशङ्कर गिरी (साधु) सँग भेट भएको र विवाद भएको जनाइएको छ । विवाद भएपछि पक्राउ परेका १६ वर्षीय किशोरले गिरीलाई ढुङ्गा प्रहार गरेका थिए ।

गिरी भागेर आफ्नो कुटीमा लुके पनि मदिराको मातमा रहेका आरोपितहरुले लखेट्दै गई पुनः ढुङ्गा प्रहार गरी सो स्थानबाट भागेर आ–आफ्नो घर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डडेल्धुरा प्रहरीले जनाएको छ ।

घटनास्थलको सूक्ष्म अवलोकन, घटनास्थल वरिपरि भेटिएका सबुत प्रमाणहरुको अध्ययन विश्लेषण, घटनास्थल वरिपरि रहेका स्थानीय तथा प्रत्यक्षदर्शीहरुले खुलाइदिएका विवरणहरु, शङ्कास्पद व्यक्तिहरु माथिको सूक्ष्म निगरानी, पक्राउ परेका व्यक्तिहरुको प्रारम्भिक बयान र अन्य प्राविधिक विश्लेषण लगायतका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

पक्राउ परेका तीनै जनाविरुद्ध कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।