नेपालजस्तो विकासोन्मुख राष्ट्रका लागि चीनको समग्र आर्थिक विकासको अनुभव धेरै उपयोगी हुन्छ। वास्तवमा चीनबाट सिक्नुभनेको नक्कल गर्नु मात्र होइन, चीनको अनुभवबाट हाम्रो देशको माटोमा सुहाउँदो नीति लागू गर्ने हो। हुन त अझै पनि चीन आफैं विकासोन्मुख राष्ट्र नै भएको ठान्छ।
यद्यपि देशको मुहार फेर्न सापेक्षिकरूपमा छोटो समय ४० वर्षमा गरेको चामत्कारिक आर्थिक सफलताका कारणले संसारले चीनलाई विकसित राष्ट्रका रूपमा नै लिन्छ। चीनको रूपान्तरणले चिनियाँ नागरिकलाई पूर्ण आत्मविश्वासी बनाएको छ– जसमा आत्मविश्वास छ उसले जस्तोसुकै जटिल समस्या पनि समाधान गर्दै महान् लक्ष्य हासिल गर्न सक्छ भन्ने उदाहरण भने हामीले चीनबाट लिन सक्छौं।
चीनमा सरकारको स्वामित्वमा रहेका उद्योगको संरचना निकै बलियो छ। सरकारी उद्योगमा बढी कर्मचारी, अदक्ष हाकिम, घाटामा चल्ने, पुरानो प्रविधि र नवप्रवद्र्धनको अभाव भएका उद्योगलाई गाभिने र पुनर्संरचना गरिन्छ।
चिनियाँ सरकारी संस्थामा दक्षताको आधारमा प्रमुखको नियुक्ति गरिन्छ।
संस्थालाई नाफामा लाने दायित्व कार्यालय प्रमुखको हुन्छ। सार्वजनिक संस्थाको हितविपरीत जाने कार्यालय प्रमुखलाई कारबाही गरिन्छ। जसको परिणामस्वरूप चिनियाँ अर्थतन्त्रलाई अगाडि बढाउने प्रमुख माध्यम चिनियाँ सार्वजनिक संस्था बनेको छ। चीनले सरकारको स्वामित्वमा भएका संस्थालाई बलियो बनाएको छ।
अहिले भइरहेको चीन र अमेरिकाबीचको व्यापार विवादमा चीनको मजबुत स्थिति हुनुका कारण नै चीनमा रहेका सार्वजनिक संस्था हुन्। चीनको कुल उत्पादनमा सरकारी स्वामित्वका उद्योगको योगदान ५० प्रतिशतभन्दा बढी छ। विश्वको १० शीर्ष स्थानमा रहेका उद्योगमध्ये चीनमा तीनवटा रहेका छन्।
चीनमा राज्य नियन्त्रित उद्योगले कुल औद्योगिक उत्पादनले लगभग ५० प्रतिशत योगदान दिने गरेको छ। नेपालमा सरकारी संस्थाको समस्या भनेको दण्डहीनताको अवस्था हो। अहिलेसम्म थुप्रै सरकारी संस्था डुबिसकेका छन् तर त्यसका जिम्मेवार कुनै पनि संस्था प्रमुख कारबाहीमा परेका छैनन्।
चीनबाट सिक्नुभनेको सक्षम र दक्षताको आधारमा मात्र संस्था प्रमुख छान्ने र जिम्मेवारी बहन नगरे तुरन्तै कारबाही गर्ने हो। यसका साथै चीनमा हरेक वर्ष देशको आवश्यक जनशक्तिको हिसाबले विश्वविद्यालयमा विभिन्न विषयहरूको भर्ना खुला गरिन्छ। उदाहरणका लागि कुनै निश्चित समयमा इन्जिनियरको आवश्यकता भए ती वर्ष इन्जिनिएरको भर्ना अरू विषयमा भन्दा बढी गर्छ।
देशलाई चाहिने जनशक्ति उत्पादन गर्न चाहिने प्रोफेसर उपलब्ध नभए विदेशबाट पनि प्रोफेसरहरू बोलाउने व्यवस्था गरेको हुन्छ। विश्वविद्यालय भर्ना हुनका लागि विद्यार्थीले राष्ट्रिय परीक्षा दिनुपर्छ। उक्त परीक्षामा विद्यार्थीले प्राप्त गरेको अङ्कको आधारमा कुन विषयका लागि उपयुक्त हुन्छ सोअनुसार विद्यार्थीले विषयको छनोट गर्न पाउँछ।
चीनको उच्च शिक्षाको प्रमुख उद्देश्य भनेको उच्च शिक्षामा विद्यार्थीको कक्षा छोड्ने दर कम गर्नु हो ताकि विद्यार्थीले समय बर्बाद गर्न नपरोस्। सबै विद्यार्थीले आफूले पाएको शिक्षाअनुसार रोजगारी पाऊन्। यदि विद्यार्थीले विश्वविद्यालय छनोट गर्न नपाए प्राविधिक तालिम प्राप्त गरेपछि रोजगार सुनिश्चित हुन्छ।
यहाँजस्तो विद्यार्थी संगठनको दबाबमा ४ सय विद्यार्थीको क्षमतामा १२ हजार विद्यार्थी भर्ना गरिँदैन। नेपालमा कममात्र उच्च शिक्षा हासिल गरेका व्यक्ति छन्। त्यसमध्ये पनि थोरैमात्र बजारको मागअनुसारका जनशक्ति उपलब्ध छन्। यस कारण सम्बन्धित निकायले देशका लागि कस्तो जनशक्ति आवश्यक छ त्यो पहिचान गर्न सक्नुपर्दछ।
स्वदेशमा भन्दा विदेशमा सजिलै काम पाउने विषय छनोट गर्ने नेपालका प्रतिभावान विद्यार्थीको परम्परा भइसकेको छ। तर, अहिलेको अवस्था नियाल्दा देशका लागि कस्तो खालको जनशक्ति आवश्यक छ भन्ने कुरामा सम्बन्धित अधिकारी नै अनभिज्ञ हुन्छन्।
नेपालमा अहिलेसम्म पनि भौतिक संरचना निर्माण गर्ने प्रविधि र जनशक्ति छैन। नेपालमा ठूला जलविद्युत् परियोजनाका लागि जनशक्ति र प्रविधि नभएर विभिन्न परियोजना विदेशीलाई सुम्पिएको छ। सुरुङ निर्माणको जनशक्ति र प्रविधिको अभावले मेलम्ची परियोजना विदेशीकै भरमा पर्नु परेपछि के हालत भयो सबैले देखेकै छौं।
हाम्रोजस्तो पहाडै पहाड र ठूलाठूला नदीले भरिएको देशमा यस्तो प्रकारका जनशक्ति र प्रविधिको ठूलो खाँचो छ। त्यसको पहिचान गरी दिगो विकासको अवधारणा औंल्याउन हामीले चीनसँग थुप्रै कुराहरू सिक्न बाँकी छ। त्य
सैले धेरै उचाइका पुल, ठूला जलविद्युत् परियोजना र सुरुङ निर्माण गर्न सक्ने क्षमता भएका जनशक्ति उत्पादन गर्न चाहिने पाठ्यक्रम विश्वविद्यालयमा प्रवेश गराउने, त्यसका निम्ति आवश्यक परे विदेशबाट प्राध्यापक बोलाउने र चाहिने भौतिक पूर्वाधार निर्माण गर्ने कामजस्ता देशको आवश्यकता अनुसारको शिक्षामा नेपाली नेताहरूले सोच्नैपर्छ। चीनका कर्मचारीमा पुरस्कार र दण्डको उचित व्यवस्थापन हुन्छ।
विभिन्न विश्वविद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सरकारी सेवा नियुक्ति गरिन्छ। सरकारी कार्यालय अति प्रतिभावान विद्यार्थीले सम्हालेको हुन्छ। अनुचित लाभ लिने कर्मचारीलाई फाँसीसम्मको सजाय हुन्छ।
अनुचित लाभ लिएर नीति बनाएका कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरू समेतलाई फाँसी दिइएका कयौं उदाहरण छन्। फाँसीको सजाय पाउनेहरूमा खर्बपतिदेखि रेलमन्त्रीसम्म रहेका छन्।
तर, हाम्रा नेताहरू अर्बपति व्यापारीसँग पार्टीको नाममा चन्दा लिँदै आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने अनि त्यसको बदलामा व्यापारीलाई सरकारबाट अनुचित लाभ मिलाइदिने गर्छन्। चीनमा यहाँजस्तो आफ्नो मान्छे खोजी खोजी लाभको पद दिँदैन। प्रतिभावान भए विदेशीलाई पनि विज्ञका रूपमा बोलाउँछ।
अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता अमेरिकी अर्थविद् मिल्टन फ्रिडमानलाई चीनको योजना आयोगको सल्लाहकारका रूपमा नियुक्ति गरेका थिए। तर, हामीकहाँ कर्मचारीले सरकारको निर्देशन पालन गर्दैन। भ्रष्टाचारी कर्मचारीलाई सुरक्षा दिने निकृष्ट काम नेताले नै गर्छन्।
सचिव, प्रहरी प्रमुखसम्मको उच्च ओहदामा रहेका सरकारी कर्मचारी भ्रष्टाचार गरेर कमाएको अथाह सम्पत्ति आफ्ना व्यक्तिगत प्रयोजनका लागि खर्च गर्छन्
। नेपालले पनि चीनबाट सिकेर अनियमित काम गर्ने कर्मचारी र नेताहरूलाई कठोरभन्दा कठोर अर्थात् फाँसीसम्मको कानुन बनाउन तयार हुनुपर्छ। यस्तै स्टिल, सिमेन्ट, कोइला, बिजुली, मेसिनरी, इलोक्टोनिक्स, फुटवेयर, गार्मेन्ट्स, घरायशी सामग्रीलगायतका करिब २ सय चिनियाँ औद्योगिक वस्तुहरू विश्वभर फिँजिएका छन्।
सन् १९९५ ताका विश्वका ५ सय ठूला कम्पनीहरूमध्ये २ वटा ठूला कम्पनी मात्र चिनियाँ रहेकोमा अहिले यो संख्या करिब ६ दर्जन पुगेको छ। सन् २००१ मा २० लाख ३३ हजार सवारीसाधन उत्पादन भएकोमा सन् २०१२ मा यो आँकडा १ करोड ९ लाख पुगेको छ, जुन अमेरिकी उत्पादनभन्दा अधिक हो।
यस हिसाबले अर्को २० वर्षमा चीन विश्वकै सर्वाधिक विशाल अटो बजार हुन सक्ने अर्थविद्हरूको प्रक्षेपण छ। सारमा नेपालजस्तो अल्पविकसित मुलुकका लागि चिनियाँ समृद्धि आफैंमा खुला ऐना हुँदै हो। तथापि, यत्तिकै प्रगतिको समृद्धिको धुरीमा पुगेको होइन। चिनियाँ समृद्धिका पछाडि निश्चित कारण छन्।
ती अत्यन्त महत्वपूर्ण छन्, अर्थपूर्ण छन्। दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, सुशासन, नीतिगत स्थायित्व, लगानीको सुरक्षा प्रत्याभूति, करको न्यून दर, उत्पादनमा प्रणालीमा यान्त्रिकीकरण, गुणस्तरीय श्रम, उच्च वचत, वचतलाई पुँजीमा रूपान्तरण चिनियाँ आर्थिक समृद्धिका वास्तविक कारण हुन्।
नेपालजस्तो अल्पविकसित मुलुकका लागि चिनियाँ सफलता अनुकरणीय नभइरहन सक्दैन। तथापि चिनियाँ सफलताका कारण पहिचान गरी अनुकरण गर्नु÷नगर्नु त्योचाहिँ नेपालको आफ्नो कुरा हो।
अनुप रेग्मी, बाओओ, हैनान, चीन
विद्यार्थी, होटल व्यवस्थापन
प्रतिक्रिया