पर्वतमा आगलागी हुँदा एक घर जलेर नष्ट


न्युज अफ नेपाल, पर्वत । पर्वतको विहादी गाउँपालिका वडा नं. १ बाच्छामा आगालागी हुँदा एक घर जलेर नष्ट भएको छ । गएराती साढे २ बजेको समयमा भएको आगालागीवाट स्थानीय वैकुण्ठ केसीको घर जलेर नष्ट भएको हो ।

खर र जस्ताले छाएको कच्ची घर जल्दा अन्नपात, लत्ताकपडा पुर्ण रुपमा जलेर नष्ट भएको विहादी गाउँपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार घरभित्र भएका लत्ताकपडा, अन्नपात, र केहि नगद समेत गरी झण्डै पाँच लाखको क्षति पुगेको छ ।

घरमा सुतिरहेका बैकुण्ठका दम्पत्ती घर वाहिर निस्कन सफल भएकाले मानविय क्षति हुन भने नपाएको प्रहरीले जनाएको छ । कुँडो पकाउन अगेनामा सल्काईराखेको आगोका कारण आगालागी भएको प्रहरीको अनुमान रहेको छ ।

रातीनै स्थानीय बाच्छा प्रहरी चौकी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो । अहिले पिडित परिवार आफन्तकोमा आश्रय लिएर बसिरहेका छन् ।