हाम्रो लक्ष्य फाइनल पुग्नु हो

0
Shares

सुदीपकुमार योञ्जन १३औं दक्षिण एसियाली खेलकुदका लागि ब्याडमिन्टनतर्फ मुख्य प्रशिक्षकमा हुनुहुन्छ। करिब २ वर्षदेखि ब्याडमिन्टनका मुख्य प्रशिक्षक रहनुभएका योञ्जनले नेपाली ब्याडमिन्टनलाई माथि उठाउँदै हुनुहुन्छ। उहाँले अहिले सागका लागि छनोट भएका खेलाडीलाई प्रशिक्षण दिइरहनुभएको छ। उहाँको १३औं सागमा मुख्य लक्ष्य भनेको फाइनल पुग्ने हो। खेलाडी जीवनमा राष्ट्रिय च्याम्पियनसमेत हुनुभएका योञ्जनसँग नेपाल समाचारपत्रका लागि फिरोज राजोपाध्यायले गरेको कुराकानीको सारसंक्षेप ः

१३औं सागमा के लक्ष्य राख्नुभएको छ ?

हाम्रो सागमा लक्ष्य भनेको फाइनल पुग्ने हो। कोर्टमा छिरेपछि नतिजा के हुन्छ त्यो थाहा हुँदैन। सागका लागि पोखरामै ब्याडमिन्टन हुने भएकाले हामीले मौसमसँग भिज्न पोखरामै प्रशिक्षण दिइरहेका छौं। यसले नेपाली खेलाडीलाई सागमा खेल्न सहज वातावरण पनि हुन सक्छ।

स्वर्ण पदक जित्ने सम्भावना कत्तिको छ ?

मुख्यतया हाम्रो लक्ष्य फाइनल पुग्ने हो। स्वर्ण जितिन्छ भनेर यसै भन्न सकिँदैन।

स्वर्ण पदक ल्याउन के गर्नुपर्छ ?

स्वर्ण नै ल्याउने हो भने प्रतियोगिता हुने करिब २ वर्ष अघिदेखि नै तयारी हुनुपर्छ। हामीले सागका लागि २ वर्षदेखि नभए पनि १ वर्ष अघिदेखि नै यसरी नै प्रशिक्षण गर्न पाएको भए मैले ठोकुवा नै गर्छु कि नेपाली खेलाडीले सागमा पक्कै स्वर्ण जित्नेछन्।

पहिलेको तुलनामा अहिले नेपाली ब्याडमिन्टनलाई तपाईंले कसरी मूल्यांकन गर्नुभएको छ ?

पहिलेभन्दा अहिले धेरै राम्रो भइरहेको छ। हालै सम्पन्न अन्नपूर्ण ब्याडमिन्टन प्रतियोगितामा नेपाली खेलाडीले राम्रै प्रदर्शन पनि गरेका थिए। यो नेपाली ब्याडमिन्टनको इतिहासमा अहिलेसम्मकै उत्कृष्ट सिरिज पनि हो।

सिरिजमा प्रिन्स दाहालले दुई जना भारतीयलाई हराएर सेमिफाइनल पुग्नु, डबल्समा पनि भारतलाई हराएर फाइनल पुग्नु, नवीन श्रेष्ठले अस्टे«लियाका खेलाडीलाई हराउनु निकै उत्कृष्ट नतिजा हुन्।

प्रिन्सले हालै पनि यू–२१ दक्षिण एसियाली रिजनल ब्याडमिन्टनमा रजत पदक जितेका छन्। यति मात्रै होइन पाकिस्तानमा पाकिस्तानलाई नै हराइसकेको छ। यस हिसाबले नेपाली ब्याडमिन्टन पहिलेभन्दा अहिले धेरै माथि पुगिसकेको छ।

यति उत्कृष्ट नतिजा निस्कनुको कारण ?

कारण के भने हाम्रो बन्द प्रशिक्षणको प्रभाव हो। राज्यले १२ महिना यसरी नै गरिदियो भने हामी विश्वस्तरमा पुग्ने छौं। दुई महिनाको अन्तरालमा नतिजा रामै्र देखियो। यति राम्रो नतिजा आयो।

यदि १२ महिना यसरी नै प्रशिक्षण लिने हो भने नेपाली खेलाडीले विश्वमा राम्रो गर्ने सम्भावना धेरै छ।कम समयको तयारीमा निस्केको नतिजा हो यो। हामीकहाँ पनि विदेशमा जस्तो तयारी हुनुपर्छ।

विदेशमा जस्तो भन्नाले कस्तो तयारी हो ?

विदेशको कुरो नै अर्को छ। त्यहाँ कुनै प्रतियोगिता हुन लागेको छ भने दुई वर्ष अघिदेखि नै तयारी शुरू हुन्छ। भनौं न अहिले हामीकहाँ साग गेम हुन लागेको छ। तर हामी ३ महिना वा चार महिना अगाडिदेखि प्रशिक्षणमा लागेका छांै।

यसरी नतिजा आउँदैन नि। व्यवस्थापन, प्रशिक्षकको पहलमा मात्रै पदक आउने होइन। नतिजा सबै कुरो मिल्यो भने उत्कृष्ट नै आउँछ।

उत्कृष्ट खेलाडी जन्माउन प्रशिक्षकको भूमिका कस्तो हुनुपर्छ ?

प्रशिक्षक भनेको कोर्टमा मात्रै हुन्छ। प्रशिक्षण गरुञ्जेल मात्रै प्रशिक्षक र खेलाडी हुन्छन्। तर, बाहिर आएपछि हामी साथी हुन्छौं। प्रशिक्षक भनेको डाक्टर पनि हुन सक्छन्। अभिभावक पनि हुन सक्छन्। खेलाडीले के खान्छन्, के गर्छन्, साथीभाइको संगत् कस्तो छ।

राति कति बजे सुत्छन्, बिहान कति बजे उठ्छन्। त्यो सबै प्रशिक्षकले नियाल्नुपर्छ। यस्तो भूमिकामा हुनुपर्छ प्रशिक्षक। अनि मात्रै उत्कृष्ट र अनुशासित खेलाडी निकाल्न सफल हुन्छन्।

प्रशिक्षकको भूमिका बडो गाह्रो पो हुन्छ नि। यो पनि सत्य हो कि खेलाडी हारे भने दोष सबै प्रशिक्षकलाई नै आउने गर्छ।

विदेशमा अलग–अलग प्रशिक्षक हुन्छन्। किन ?

विदेशमा डाक्टर छुट्टै हुन्छन्। फिजिकल टे«निङका लागि अलग प्रशिक्षक हुन्छन्। मनोचिकित्सकको अलग प्रशिक्षक हुन्छन्। प्रशिक्षण दिने मुख्य प्रशिक्षक छुट्टै हुन्छन्।

सटल कक भन्छौं नि फिडिङ गर्ने पनि अलगै प्रशिक्षक हुन्छन्। उनीहरूकहाँ प्रशिक्षक भनेपछि चार/पाँच जना नै हुन्छन्।

जापानी प्रशिक्षक यामा मोटो पनि आउनुभएको छ ? उहाँको भूमिका के छ ?

जापानी प्रशिक्षक भर्खर मात्रै आउनुभएको हो। उहाँ ७० वर्षको उमेरमा पनि नेपाली खेलाडीको मायाले यहाँ आउनुभएको हो। उहाँको इच्छा भनेको नेपालमा प्रशिक्षण गर्ने हो।

उहाँले नेपालमा बरोबर आउनुभएर धेरै सहयोग गर्नुभएको छ। उहाँ नै नेपाली खेलाडीलाई प्रशिक्षण दिने भनेर आउनुभएको हो।

नेपाल ब्याडमिन्टन संघअन्तर्गत बसेर उहाँ हामीसँगै सहकार्य गरिरहनुभएको छ। उहाँबाट पनि खेलाडीले केही सिकिरहेका छन्।

दशैको विश्रामले कति असर गर्ला खेलाडीलाई ?

दशैंमा ५ दिन विश्राम भएको थियो। विश्रामपछि पोखरामा २३ गतेदेखि बन्द प्रशिक्षण भइरहेको छ। तर, विश्राममा पनि उनीहरूले केही न केही व्यायाम र अभ्यास गरेका छन्।

उनीहरूले सुतेर, खाएर, घुमेर समय बिताएमा त्यसले प्रशिक्षणमा बाधा पुग्छ। त्यसैले उनीहरूले दशैंमा पनि प्रशिक्षणका केही अंशलाई निरन्तरता दिएका छन्।

सागको तयारीका लागि ब्याडमिन्टनलाई राज्यले के गरिरहेको छ ?

राज्यले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई पहिलोपटक १४ सय रुपियाँ दिएको छ। यो अहिले २२ सय रुपियाँमा पुगेको छ। पोखरामा बन्द प्रशिक्षण शुरू भएपछि प्रत्येकलाई २५ सय रुपियाँ दिएको छ।

जेब खर्च २ सय ५० रुपियाँ पनि दिएको छ। राज्यले निकै राम्रो काम गरेको छ। मेरो करियरमा अहिलेसम्म राज्यले यस्तो आर्थिक सहयोग गरेको पहिलोपटक हो। म राज्यबाट निकै खुसी छु।

पहिले यस्तो थिएन ?

कहाँ थियो र पहिले यस्तो ? म ३६ वर्ष भएँ ब्याडमिन्टनमा लागेको तर अहिलेसम्म यस्तो राज्यको सहयोग पाएको थिएन। हाम्रो पालामा ३ सय, ४ सय दिइन्थ्यो।

अहिले २५ सय पुगेको छ। यो भनेको ठूलो रकम हो। यसका लागि राज्यलाई धन्यवाद दिनैपर्छ। राज्य पनि खेलकुदप्रति गम्भीर भएको छ।

कुन देश नेपालका लागि कठिन हुनेछ ?

भारतबाहेक श्रीलंका र पाकिस्तान पनि राम्रो छ। पाकिस्तानमा डबल्स टिम निकै राम्रो छ। तर, हामीले पछिल्लोपटक २७ वर्षयता पहिलोपटक पाकिस्तानलाई हराएका छांै।

त्यो नतिजाले पनि नेपाली खेलाडीलाई हौसला प्रदान गर्नेछ। तर, यो साँचो हो यी तीन देश नेपालका लागि कठिन हुनेछ।

अन्तर्राष्ट्रिय सिरिजमा राम्रो गरिरहेका प्रिन्सबाट कति आस गर्न सकिन्छ ?

उनलाई मैले उनी ७ वर्षदेखि सिकाएको हुँ। उनी १५ वर्षका युवा हुन्, उनको भविष्य एकदमै राम्रो छ। उनको प्लस प्वाइन्ट भनेको अनुशासन हो। उनी निरास हुँदैनन्। उनले कोर्टमा छिरेपछि जित्छु भनेर लक्ष्य लिएका हुन्छन्।

कोर्टमा उनी आक्रमक खेलाडीका रूपमा प्रस्तुत हुने गर्छन्। त्यसैले पनि उनले अन्तर्राष्ट्रिय सिरिजहरूमा राम्रो गरिरहेका छन्। उनी दुबई र थाइल्यान्डमा भएको सिरिजमा सेमिफाइनलसम्म पुगेका थिए।

उनको कमजोरी भनेको अपरिपक्वता हो। उनले प्रतिद्वन्द्वीलाई रिड गर्न सकिरहेका छैनन्। त्योचाहिँ उनको कमजोरी हो। यसमा पनि उनले विस्तारै प्रगति गरिरहेका छन्।