नवराज सिलवाल
सांसद ललितपुर क्षेत्र नम्बर १
हिजो राज्य नै सब थोक जस्तो लाग्दथ्यो। आज राज्य, शासन प्रशासनको सीमा बुझेर बदल्ने कार्यमा लाग्दै छ। प्रहरी सेवामा लामो समय काम गर्नुभएको अनुभवलाई राजनीतिकमा प्रयोग गर्दै आउनुभएका ललितपुर क्षेत्र नं १ का संघीय सांसद नवराज सिलवालसँग राजनीतिक अनुभव, मुलुकको शासकीय प्रणाली र दक्षिण ललितपुरको विकासबारे नेपाल समाचारपत्रका लागि सुनिल महर्जनले गरेको कुराकानीको अंशः
लामो समय प्रहरी संगठनमा काम गर्नुभएको अनुभवसँग सांसदको अनुभवलाई कसरी दाँज्नुहुन्छ ?
हिजोको काम गर्ने परिधि, जिम्मेवारी निश्चित थियो। त्यस कारणले सोचाइ पनि सीमित नै थियो। आजको अवस्था त्यस्तो रहेन। अहिलेको जिम्मेवारीको क्षेत्र निकै ठूलो छ। दायित्व असीमित रहेको छ।
हिजो राज्यको निर्देशन मात्र मान्ने भूमिकामा थिएँ। राज्यले भनेको खुरुखुरु मान्ने पदमा थिए। आज राज्यले दिने आदेश सही छ कि गलत, नीति ठीक कि बेठीक ? कस्तो नीति बनाउनेलगायत विषयमा केन्द्रित हुनुपर्ने अवस्था छ।
राज्यको नीति, निर्देशनलाई प्रभाव पार्न सक्ने भूमिकामा अहिले रहेको छु। आफ्नो निर्वाचन क्षेत्रका मानिसको जीवनका यावत पक्ष आफ्नो जिम्मेवारीको दायरासँग प्रत्यक्ष जोडिएको छ।
विभिन्न परिस्थितिसँग भिज्नुपर्ने, मानिसलाई सहयोग गर्न तयारी भएर बस्नुपर्ने स्थिति छ। राज्य सञ्चालन र जनताको प्रत्यक्ष सरोकार रहेका विषयमा कानुन बनाउनेतर्फ खटिनुपर्ने छ। जुन जिम्मेवारी हिजोको भन्दा नितान्त फरक रहेको छ।
लामो समय प्रहरी सेवा रहँदा निर्मित सोच र संस्कार अहिलेको राजनीतिक कर्ममा लाग्न कतिको सहायक बनेको छ ?
मानिसलाई सदाचारी, अनुशासित र नैतिकवान् बनाउने उद्देश्यले व्यावसायिक भएर जीवनको लामो समय काम गरें। मिसन लिएपछि जसरी भए पनि पूरा गर्ने बानी थियो। प्रहरीमा हुँदा देश विदेशमा धेरै काम पनि गरे।
मानिसका पीडा, दुःख र गरिबीलाई निकै नजिकबाट बुझ्ने मौका पाएँ। समृद्ध समाज बनाउनको लागि प्रहरी सेवामा रहँदा हर प्रकारको परिस्थितिसँग जुध्ने, कठिनाइ सामना गरी पेसाप्रति निष्ठावान् भएर काम गर्न सिकेको छु।
प्रहरी सेवामा रहेर बटुलेको अनुभव, भोगाइ, सिकाइ र त्यसबाट निर्मित समष्टिगत व्यक्तित्वलाई अहिले पनि उपयोग गर्दै आएको छु। जीवनका सबै परिस्थिति र अनुभवबाट खारिएर राजनीतिमा देखिएका विकृति विसंगति विरुद्ध लड्दै मानिसमा आशा जगाउन भूमिका निर्वाह गर्दै आएको छु।
जीवनमा दुःख पाएको छु। त्यसैले राजनीतिबाट जनताको सेवा गर्नेतर्फ अघि बढ्न हिजोको सोच र संस्कार निकै सहायक रहेको पाएँ।
‘क्याडर बेस’ र अन्य सेवाबाट प्रत्यक्ष राजनीतिमा आउनुमा के फरक छ जस्तो लाग्दछ ?
‘क्याडर बेस’बाट आउने अधिकांश मानिसमा सोच र संगतको दायरा सीमित भएको पाएँ। स्वतन्त्र चिन्तनको कमी, समस्यालाई हेर्ने र बुझ्ने दृष्टिकोण पनि एउटै पाराको रहेको छ।
अन्य पेसा र सेवाबाट आउँदा फरक ‘फ्रेलवर’ र समस्यालाई हेर्ने तरिका पनि फरक नै हुँदोरहेछ। केही परिर्वतन गरांै भन्ने भावना हुँदोरहेछ।
जब कि क्याडर बेसबाट आएका मानिसमा ‘यस्तै त हो नि, भन्ने’ भावना बढी भएको पाएको छु। राजनीतिको विकृति–विसंगति लिप्त भइसकेको हुन्छ भने अन्य सेवाबाट आउने मानिस केही गरेर देखाउने चाहना प्रवल हुने गरेको छ।
हुन त यी कुराहरू मानिसको पूर्वअनुभव, सोच र संस्कारअनुसार फरक फरक हुने गर्दछतर मलाई सामान्यतया लागेका कुराहरू मात्र हुन्।
अरु क्षेत्रबाट राजनीतिमा आउने मानिसले पनि त्यस क्षेत्रको विकृति पनि बोकेर आएको हुन्छ नि होइन ?
हो, राजनीतिमा नयाँ मानिसको प्रवेशसँगै उसले राम्रो र नराम्रो पक्ष लिएर आएका हुन्छन्। प्रहरी सेवामा पनि राम्रा कुरा एकछिन थाती राखेर भन्नुपर्दा नराम्रा प्रवृत्ति पनि धेरै छन्।
प्रहरी सेवामा रहेका सबै मानिस राम्रा छन् भन्ने भनाइ पनि मेरो होइन। प्रहरीमा सोचेअनुरुप रेसपोन्स गर्ने तरिका फरक पाएँ।
प्रहरीमा गुट–गुटमा विभाजित भई एकले अर्कोलाई सिध्याउन निकै चर्को र अस्वस्थ खेल खेल्ने प्रवृत्ति रहेको छ।
भ्रष्ट प्रवृति भएका प्रहरीको बोलवाला व्यापक छ। संस्थाले मलाई न्याय गर्न नसकेको अनुभूति छ। प्रहरी र राज्यले ममाथि विगतमा ठूलो अन्याय गरेको छ।
मैले पनि निकै पीडा महसुस गरेको छु। यी पीडा र अन्यायबाट सिकेर न्याय र मानिसको खुसीको लागि केही गर्दछु भन्ने भाव म मा छ।
राजनीतिमा आउनुभएपछि शासनका बारे तपाईको धारणामा कस्तो परिर्वतन आएको छ ?
हिजो राज्य, सरकार भनेको सबथोक लाग्दथ्यो। आज राज्य, साधन, स्रोतको, ऐन, नियम र विश्वासको सीमितता बुझेको छु। त्यसलाई बदल्ने, प्रश्न उठाउने, सही दिशातर्फ परिलक्षित गर्ने भूमिकामा छु।
यसले गर्दा राज्यप्रतिको बुझाइमा निकै परिर्वतन आएको छ। राज्यलाई सुशासन, जिम्मेवारी र लोककल्याणकारी बनाउने ध्येय रहेको छ। राजनीतिमा हरबखत जनताले परीक्षण गरिरहेका हुन्छन्।
जनताले हरेक परिस्थितिमा सक्षमताको परीक्षा लिइरहेका हुन्छन्। जनताको भावना र आकांक्षालाई प्रतिविम्बित गर्नुपर्ने हुन्छ। ती परीक्षणमा उत्रिन हुन राम्रो चरित्र हुनुपर्ने अनिवार्य रहेको छ।
जीवनमा एउटा लक्ष्य लिएपछि त्यसलाई पूरा गर्न प्रत्यनशील रहने मेरो स्वभाव रहेको छ।
त्यसैले गलत प्रवृति विरुद्ध लड्ने, परिर्वतनको संवाहक बन्ने र मूल्य र मान्यताको राजनीतिको लागि अघि बढीरहेको छु।
तपाईले प्रतिनिधित्व गर्नुहुने ललितपुरको दक्षिण पहाडी भेगको क्षेत्रबाट उभिएर राज्यको तस्वीर हेर्दा कस्तो देखिन्छ ?
खासगरी मेरो निर्वाचन क्षेत्रमा ललितपुरका दक्षिण पहाडी भेग पर्दछ। सडक, खानेपानी, जस्ता विकासका न्यूनत्तम पूर्वाधार बाट वञ्चित रहेका ती क्षेत्रमा गरिबीको रेखामुनि रहेका मानिसछन्।
उम्मेदवार हुनुअघि यस्तो विकट भेग होला भनेर सोचेको थिएन। राजधानीसँग जोडिएको जिल्लाको यस्तो हविगत रहनुमा राज्यको विकासको केन्द्रीकृत सोच र कार्यशैली निकै दोषी रहेको छ।राज्यले अहिलेसम्म त्यस्ता क्षेत्रको विकासको सही मोडेल ल्याएको रहनेछ।
तपाई निर्वाचित भएपछि दक्षिण ललितपुर भेगमा के के काम गर्नुभयो ?
दक्षिण ललितपुरको पहाडी भेग निकै विकट रहेको छ भनेर मैले अगाडि पनि भने। त्यसैले पूर्वाधारको विकासमा जोड दिएको छु।
सडक, खानेपानी, पूर्वाधार, विद्यालय, ग्रामीण विद्युतीकरणका क्षेत्रमा काम गर्दै आएको छु। पर्यटकीय गन्तव्य परिणत गर्ने, सहकारी,कृषि, पशुपालनका योजनालाई प्राथमिकतामा राखेको छु।
केही न केही प्रगति भइरहेको पनि छ। स्रोत र साधनको लागि सडक जस्तै नख्खु करिडोर, कर्मनाशा करिडोर,लेले–चन्दनपुर सडकको पिच भइरहेको छ। त्यस क्षेत्रको विकासको सबैभन्दा ठूलो चुनौती भनेको छरिएरको बस्ती हुनु हो।
अतः एकिकृत बस्ती विकासको लागि पनि प्रयास भइरहेको छ। बागमती गाउँपालिका, प्यूटारलगायत क्षेत्रमा एकृकित बस्तीको डीपीआर तयार पार्ने काम भइरहेको छ।
दक्षिण ललितपुर भेगका विकासका चुनौती अरु पनि छन् ?
अहिले ६० कटेका मानिसमात्र पहाडी भेगमा बसोबास गर्र्दै आएका छन्। सबै युवावर्ग उपत्यकालगायत विभिन्न क्षेत्रमा बस्दै आएका छन्।
उनीहरू गाउँमा बस्न चाहँदैनन्। बस्ती पातलिने क्रम झन् झन् छ बढ्दो छ। चुनावताका वा सार्वजनिक सभा र समारोहमा पहाडी भेगको विकटता र सडकको कुरा जोडतोडले हुने गरेको छ।
वास्तवमा सडकको चर्चा भोटको राजनीतिका लागि मात्र चल्ने गरेको छ। सडकलाई एजेन्डा बनाएर धेरैले राजनीतिको रोटी सकाइसकेका छन्। अब यहाँको दीर्घकालीन विकासको मोडेल तयार गर्नुपर्ने खाँचो छ।
अहिलेसम्म विकासको मोडल तयार नभएको हो त ?
विकासको मोडेल तयार नभएको मात्र होइन, विकासको मोडल तयार गर्नुपर्दछ भन्ने सोच पनि बनिसकेको छैन। त्यही बाटो बनाउने, फेरि भत्किने र अनि फेरि पिच गर्नेलाई विकास भनेर वर्षौदेखि भन्दै आएका छौं।
अब यस्तो पूर्वाधार विकासको चक्रबाट माथि उठेर दीर्घकालीन विकासको मोडेल तयार गर्नुपर्दछ। त्यस्तो मोडेलको शरूमा एकिकृत बस्ती बसाल्ने गर्नुपर्छ।त्यहाँको स्रोत र साधनको परिचालन र उत्पादनशील बढाउने हिसाबले सडक बनाउनु पर्दछ।
मानौ त्यहाँ ठूलो सडक बन्यो, सडकबाट शहरको चाउचाउ, कुकिज, र अन्य जंक फुड, पेय पदार्थलगायत शहरको सामग्री मात्र गाउँमा जाने र गाउँको उत्पादन बाहिर जान सकेन भने त्यसलाई विकास भन्ने कि के भन्ने ?
यस्तो विकासले गाउँमा खाने मकै, मोहीलाई विस्थापित गरेर गाउँलाई आत्मनिर्भर बनाउँछ कि परनिर्भर ?
सडक बनायो र रोजगारीको अवसर भएन भने के हुन्छ ? के त्यस्तो विकास हामीले खोजेको हो त ?
त्यस्तो विकासले गाउँमा खाने अर्गानिक खानाहरू हराउँदैनन् त ?त्यसैले कृषिको आधुनिकीकरण, रोजगारी प्राप्तिलगायत जीवनस्तरमा परिर्वतन हुने गरी पूर्वाधार विकास गर्नुपर्दछ।
गाउँको ‘बेस्ट क्वालिटी’, सामुदायिक वन ,स्रोत र साधन उपयोग हुने गरी बाटो बनाउने कार्य गर्नुपर्दछ। बाटोको लाभ गाउँले पाउने गरी, त्यहाँको अर्थतन्त्र उकास्ने गरी सही ठाउँमा बनाउनुपर्दछ।
त्यसैले सडकले पार्ने वातावरणीय, सामाजिक र अर्थतन्त्रमा पार्ने प्रभाव हरेर मात्र सडक बनाउनुपर्दछ। खाली सडक सडक मात्र भनेर गाउँको अर्थतन्त्र सबल हुँदैन। वन र कृषिलाई अधिकत्तम हानी पुर्याएर गरिने विकासले मानिसलाई कहीँ पनि पुर्याउँदैन
त्यसैले विकासको वैकल्पिक मोडेल बारे सार्वजनिक बहस चलाउनुपर्ने खाँचो छ। दक्षिण ललितपुरको विकासको मोडेल मौलिक र धरातललाई सुहाउने हुनुपर्दछ।
अहिलेसम्म विकासको वैकल्पिक मोडेल किन तयार नभएको जस्तो लाग्दछ ?
व्यक्तिगत स्वार्थ र सत्ताप्राप्तिको लागि मात्र राजनीतिक केन्द्रित भएकोले यस्तो भएको हो। राजनीतिक व्यक्तिलाई जसरी भएपनि आफू कसरी टिक्ने, आसेपासेलाई कसरी लाभ दिने सोचले गर्दा जनताको हित र कल्याण बारे सोच्ने खासै फूर्सद छैन।
देशभर नै यस्तै राजनीति टिकिरहेको छ। त्यसैले दक्षिण पहाडी भेगको विकटता र कठिनाईलाई सबल बनाउने विकास मोडेल तयार पार्नुपर्ने आवश्यकता छ। जनताको जीवनस्तर परिर्वतनका लागि, आर्थिक विकास र समृद्धका लागि राजनीति हुनुपर्दछ।
अहिलेको राजनीतिको मुख्य चुनौती के हो ?
राजनीतिक परिर्वतनलाई सामाजिक, आर्थिक स्तरमा प्रतिविम्बित गर्नु अहिलेको मुख्य चुनौती हो। २००७ सालदेखि राजनीतिक परिर्वतन तीव्र गतिले भयो, त्यसअनुसार आर्थिक विकास हुन सकेन।
जनतामा व्यापक निराशा देखिने थाल्यो, त्यसपछि फेरि राजनीतिक परिर्वतन भयो तर त्यसलाई जनताले दैनिक व्यवहारमा अनुभव गर्न सकेन।
केही सीमित मानिसले मात्र राजनीतिक परिर्वतनको लाभ पाए। यसले गर्दा आर्थिक विकास, राज्यको संस्थागत विकास र प्रणालीको विकास गर्ने विषय नै अहिलेको निकै ठूलो चुनौती हो।
यस्तो गर्न सकेन भने पाएको राजनीतिक परिर्वतन पनि गुम्ने खतरा सधैं रहिरहन्छ, अर्थात मुलुक राजनीतिको प्रयोगशालामात्र बनिरहने खतरा छ।
प्रणाली बनाउने कार्यमा कर्मचारी संयन्त्र कत्तिको बाधक छ ?
कर्मचारी संयन्त्र प्रक्रियामुखी र परिर्वतन नचाहने हुन्छन्। व्यक्तिगत लाभमा केन्द्रित हुने, काम नगर्ने वा झारो टार्ने खालको हुन्छन्।
यसलाई बदल्न राजनीतिक इच्छाशक्ति र प्रतिबद्धता चाहिन्छ। आफ्नो अस्तित्व जोगाउने, स्वार्थगत राजनीतिले कर्मचारी संयन्त्रलाई बदल्न सक्दैन। यसको लागि राजनीतिक व्यक्तिमा निकै ठूलो दृढता चाहिन्छ।
मुलुकमा दुई तिहाइको सरकार छ। यस्तो बेला कर्मचारी संयन्त्रमा भएका विकृति–विसंगतिलाई अन्त्य गरेर राजनीतिक परिर्वतनलाई टेवा पुर्याउने संस्था निर्माण गर्नुपर्ने खाँचो छ।
प्रतिक्रिया