अवैध उत्खनन् गरेको भन्दै टिपरसहित चालक प्रहरी नियन्त्रणमा


भीमदत्तनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली नदीबाट अवैध उत्खनन् गरेको भन्दै जेसिबी, टिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।

भीमदत्तनगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रबाट ठेक्का नै नगरी अवैधरुपमा गिट्टी, बालुवा उत्खनन् गरिरहेको अवस्थामा १७ जना चालक, तीन जेसीबी र १६ वटा टिपर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताउनुभयो । उहाँले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर कारवाही प्रक्रिया अघि बढाइने बताउनुभयो ।

महाकाली नदीको स्रोत बाँडफाँटका विषयमा कञ्चनपुरको भीमदत्त र महाकाली नगरपालिकाबीच किचलो यथावत् छ । दुवै नगरपालिकाले आआफ्नो पायक पर्ने ठाउँबाट नदीजन्य वस्तु उत्खनन् गरिरहेका छन् ।