क्षेप्यास्त्र खरिदले भारतमाथि अमेरिकी प्रतिबन्ध लाग्ने चेतावनी


नयाँदिल्ली, एजेन्सी ।

भारतले रुसबाट अत्याधुनिक क्षेप्यास्त्र प्रणाली एस–४०० खरिद गर्ने तयारी गरिरहेकै बेला अमेरिकाले नयाँदिल्लीलाई चेतावनी दिएको छ।
अमेरिकी अधिकारीहरूले यदि भारतले उक्त क्षेप्यास्त्र प्रणाली खरिद गर्छ भने उमाथि अमेरिकी प्रतिबन्ध लाग्ने खतरा रहेको बताएका छन्। यद्यपि अमेरिकाको भ्रमणमा रहेका भारतका विदेशमन्त्री एस जयशंकरले यो खरिदलाई लिएर अमेरिकालाई मनाउने सकिने बताए। तर अमेरिकी विदेश मन्त्रालयले भारतको एक अखबारलाई इमेलमार्फत यस प्रकारको कुनै पनि कारोबार भारतका लागि कठिनाइ बन्न सक्ने र अमेरिकाले उमाथि प्रतिबन्ध लगाउन सक्ने उल्लेख गरेको छ।

यो प्रतिबन्धको कारण अमेरिका र भारतबीचको सम्बन्धमा तनाव आउनु नभएर अमेरिकाको विशेष कानुनका कारण हो। उक्त काटसा कानुनको उल्लंघन गर्ने कुनै पनि देशविरुद्ध अमेरिकाको प्रतिबन्ध लागू हुने प्रावधान रहेको छ। यो कानुनले अमेरिकाले आफ्ना विरोधीहरूलाई दबाब बनाइरहेको हुन्छ र यस प्रकारको हतियार कारोबारलाई रोक्ने प्रयास गरेको हुन्छ। अमेरिकाको घोषित विराधी भनेको रुस, इरान र उत्तर कोरिया हुन्।

रुसको मामिलामा अमेरिकाको यो कानुनले ऊसँग हतियार खरिद–बिक्री गर्न अन्य देशलाई रोक लगाउँछ। सन् २०१७ अगस्ट २ बाट यो कानुन लागू भएको हो। त्यति बेलादेखि नै भारतले रुससँग रक्षा सम्बन्ध, विशेष गर एस–४०० क्षेप्यास्त्र प्रणालीको सम्भावित खरिदमा असर पर्ने अनुमान गरेको थियो।