बोइङमाथि इन्जिनियरको आरोप, खर्च कम गर्न सुरक्षा प्रणालीको बेवास्ता गर्‍यो


न्युयोर्क, एजेन्सी ।

विश्वको सबैभन्दा ठूलो विमान निर्माता कम्पनी बोइङले लागत खर्च जोगाउन आवश्यक सुरक्षा प्रणाली नअपनाएको आरोप लगाइएको छ। उक्त प्रणाली हुनुले दुई विमान दुर्घटना हुनबाट बच्न सक्थ्यो। बोइङका एक वरिष्ठ इन्जिनियरले कम्पनीमाथि उक्त आरोप लगाएका हुन्। ती इन्जिनियरले आफ्नो उजुरीमा वोइङ–७३७ म्याक्स जेट निर्माणमा खर्च कम गर्न सुरक्षा प्रणालीलाई हटाएको बताएका थिए। यदि ती उपकरण वोइङमा समावेश गरिएको भए विमान दुर्घटना हुनबाट जोगाउन सकिने उनलाई लागेको बताए।

बोइङले उक्त उजुरीको प्रतिलिपि न्याय विभागलाई सुम्पेको न्युयोर्क टाइम्सले एक सूत्रलाई उद्धृत गर्दै उल्लेख गरेको छ। न्यायिक विभागले म्याक्सको डिजाइनलाई लिएर आपराधिक जाँच गरिरहेको छ। संघीय अनुसन्धानकर्ताहरूले आरोपलाई लिएर बोइङका पूर्वकर्मचारीसँग सोधपुछ गरिरहेका छन्। तर, उनको गुनासोलाई लिएर अनुसन्धानकर्ताहरूले छानबिन गरेको वा नगरेको प्रस्ट भएको छैन।

यो गुनासो उक्त मोडलका दुई विमान दुर्घटनाग्रस्त भएपछि आएको थियो। बोइङका कयौं पूर्व तथा कार्यरत कर्मचारीले डिजाइनको समस्यामा र ७३७ म्याक्सको निर्माणको प्रोसेसमा छलफल गरेका थिए। इन्जिनियर कुर्टिसले यस मामिलामा प्रमुख कार्यकारीमाथि विमानको सुरक्षामा सम्झौता गरेको आरोप लगाउँदै औपचारिक उजुरी दर्ता गरेका हुन्। ७३७ म्याक्सको निर्माणका बेला कुर्टिस ककपिट प्रणालीमा काम गरिरहेका थिए। जसमा पाइलटले विमानलाई निगरानी तथा नियन्त्रण गर्छ। कुर्टिसले प्रबन्धकहरूसँग हावामा विमानको गति मापन गर्न ब्याकअप प्रणालीको अध्ययन हुनु आवश्यक भएको आफ्नो गुनासोमा उल्लेख गरेका छन्।

उनले आफ्नो गुनासोमा भनेका छन– ‘७३७ म्याक्समा सिन्थेटिक एयरस्पिडको प्रयोगले इथियोपिया र इन्डोनेसियाको घटनालाई रोक्न सकिन्थ्यो वा सकिँदैन्थ्यो भन्ने विषयमा निश्चितरूपमा भन्न सकिन्न। यद्यपि बोइङको यो कार्यले सुरक्षाभन्दा लाभलाई बढी महŒव दिएको कुर्टिसले बताए।

मार्चमा इथियोपियाको राजधानी अदिस अबाबामा केन्याको राजधानी नैरोबीबाट उडान भरेको केही समयपछि बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटनाग्रस्त हुँदा १ सय ५७ यात्रीको मृत्यु भएको थियो। त्यसको केही महिनाअगाडि गत वर्ष अक्टोबरमा लायन एयरलाइन्सको बोइङ म्याक्स विमान जाकार्ताबाट उडान भरेको केही मिनेटपछि दुर्घटनाग्रस्त भएको र त्यसमा रहका १ सय ८९ जनाको ज्यान गएको थियो। यी दुई घटनापछि कयौं देशले बोइङ विमानको उडानमाथि रोक लगाएका थिए।