दुर्घटनामा तीनको मृत्यु


काठमाडौं, नेस ।

मुलुकका विभिन्न भागमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–७ स्थित सडकमा ग१४प ५२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक पोखरा महानगरपालिका–८ नागढुंगा बस्ने फिन्जु लामा शेर्पाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ।

धनकुटा, चौबीसे गाउँपालिका–३ गढीगाउँस्थित सडकमा को२त २८३६ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका सोही ठाउँ बस्ने लक्ष्मण तामाङको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यता मकवानपुर, हेटौंडा उपमहानगरपालिका–११ भैरवडाँडास्थित सडकमा ना६त ४५३७ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका–९ बस्ने सौरव दर्लामीको घटनास्थलमै मृत्यु भएको छ।