पुनर्निर्माणपछि हरिशंकर मन्दिर खुला


ललितपुर, नेस ।  

पाटन दरबार सग्राहलयमा रहेको हरिशंकर मन्दिर बिहीबारबाट सार्वसाधारणका लागि खुल्ला गरिएको छ। २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि बन्द गरिएको मन्दिर पुनर्निर्माणपछि खुल्ला गरिएको हो।

तीन तलाको हरिशंकर मन्दिर विश्व सम्पदामा सुचीकृत पाटन दरबारस्वायर क्षेत्रमा रहेको छ। पाटनका राजा योगनरेन्द्र मल्लकी छोरीले सो मन्दिर निर्माण गर्न लगाएको इतिहासमा उल्लेख छ। हिन्दू धर्मावलम्वीले हरिशंकरलाई शिव र विष्णुको संयुक्तस्वरुपमा पुज्ने गरेका छन्।

मन्दिर पुनःनिर्माणको सम्पूर्ण प्राविधिक जिम्मेवारी काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी)ले लिएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले मन्दिरको उद्घाटन गर्दैै मन्त्री भट्टराईले मुलुकमा रहेका पुराना संस्कृति सम्पदालाई जस्ताको त्यस्तै स्वरुप दिन सक्षम दक्ष कालिगढलाई सम्मान गरिने बताउनुभयो।

सत्रौं शताब्दीको अन्त्यमा निर्माण भएको सो मन्दिर हाल २०७६ सालमा पुनःनिर्माण हुँदा पनि पुरानै स्वरुपको देखिएको भनी खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो– ‘सांस्कृतिक विविधता भएको मुलुकमा प्राकृतिक र ऐतिहासिक सम्पदा मासिन नदिनु आजको चुनौती हो, समयसँगै समाज पुस्तान्तरण हुँदै गएको अवस्थामा दक्ष कामदारको अभाव हुन दिनु हुँदैन।’

मुलुकमा पुरानो संस्कृति र मौलिकताको महŒव जोगाइराख्न कलाकार र कालिगढको नामावली संकलन गरी राख्न जरुरी भएको मन्त्री भट्टराईको भनाइ थियो। देशको पुरानो कलाकारितामा थप जोड दिन यस विधामा आधारित थप विद्यालय र क्याम्पस खोल्न जरुरी रहेको मन्त्री भट्टराईले औंल्याउनुभयो। सो अवसरमा केभीपीटीका देशीय निर्देशक रोहित रञ्जितकारले मन्दिर पुनर्निर्माण सम्पन्न गर्न रु पाँच करोड १८ लाख खर्च भएको जानकारी दिनुभयो।

यो मन्दिरसँगै अन्य मन्दिरको पुनर्निर्माणको कामलाई एकै पटक अघि बढाउँदा सम्पन्न गर्न चार वर्ष लाग्यो, रञ्जितकारले भन्नुभयो– ‘मन्दिरमा प्रयोग भएका पुराना सामग्रीमा ८० देखि ८५ प्रतिशत बुट्टा भरिएको काठ र २० देखि २५ प्रतिशत पुराना इँट्टाबाहेक सबै सामग्री नयाँ खरिद गरी प्रयोग गरेका छौं। हरिशंकर र चारनारायण मन्दिरको काम एकै पटक समाप्त भए पनि पछिल्लो चाहिँ दशैंपछि उद्घाटन गरिने रञ्जीतकारले बताउनुभयो। हरिशंकर मन्दिर निर्माणमा अस्ट्रियाको युनिभर्सिटी अफ एप्लाइड आर्ट भियना र जर्मन राजदूतावासको पनि सहयोग रहेको छ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले पाटन दरबार क्षेत्रका ९० प्रतिशत मन्दिर पुनःनिर्माण सम्पन्न भएको जानकारी दिनुभयो। वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीले हरिशंकर मन्दिर मूर्त र अमूर्त सम्पदा दुवैको एक उदाहरणीय नमुना रहेको बताउनुभयो।

पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङग्रहालयका प्रमुख सन्दीप खनालले वडादशैंलाई लक्षित गरी सो मन्दिर खुला गरिएको जानकारी दिनुभयो। पाटन दरबार हेरचाह कार्यालयका अनुसार पाटन दरबार परिसरका कृष्णमन्दिर, विश्वनाथ मन्दिर, पाटन दरबार संग्रहालयका तीन चोक, बहादुर शाह भवन, सिंहस्तम्भ, योगनरेन्द्रको शालिक स्तम्भ, मणिमण्डप र तलेजु भवानी मन्दिर पुनः निर्माणको काम समाप्त भइसकेको छ।