तीनकुनेमा अस्थायी पार्क


काठमाडौँ, नेस ।

विदेशका राष्ट्रप्रमुख नेपाल प्रवेश गर्दा पहिलो आँखा पर्ने तीनकुने खाली जग्गामा तत्कालका लागि अस्थायी पार्क बन्ने भएको छ। काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको करिब ५३ रोपनी क्षेत्रफल रहेको खाली जग्गामा तीन दिनअघि कामपाले पार्क बनाउने तयारी गर्दा स्थानीयले विरोध गरेका थिए। मुआब्जाको माग गर्दै पटक–पटक आन्दोलन गरेका स्थानीयले तत्कालका लागि पार्क निर्माण गर्न दिन सहमति गरेका हुन्।

राष्ट्रपति सीको भ्रमणको क्रममा मुख्य रुट तीनकुने पार्क निर्माण गर्ने वा नगर्ने विषयमा विरोध भइरहेको अवस्थामा परराष्ट्र मन्त्रालयले स्थानीयलाई वार्तामा बोलाएको थियो। ‘मन्त्रालयका अधिकारी, काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी केदार न्यौपाने, महानगरका प्रहरी प्रमुख डीएसपी धनपति सापकोटा र स्थानीयबासीबीच सहमति भएपछि हिजो बिहीबारदेखि पार्क बनाउन शुरू गरिएको हो।’
–कामपा शहरी विकास विभाग प्रमुख डा. उत्तरकुमार रेग्मीले भन्नुभयो। परराष्ट्र मन्त्रालयसँग सहमति भएलगत्तै महानगरको इन्जिनियरसहितको टोली तीनकुने पार्क पुगेको थियो।

करिब चार दिनभित्र पार्क निर्माण गर्ने गरी सडक विभागले डोजर, स्काभेटरलगायत समाग्री तीनकुने पुगेका थिए। सबै क्षेत्रफल सम्याउने र सीको स्वागतका लागि ६ फिट अग्लो फूल र विभिन्न प्रजातिको बिरुवा रोप्ने भएको छ। ‘अहिले बाटोको साइडमा मात्र रुख रोप्ने तयारी गरिएको छ।’ –कामपा प्रहरी प्रमुख सापकोटाले बताउनुभयो। केही अग्लो थुम्का बनाउने, कतै दुबो रोप्ने र केही स्थानमा फूल रोपेर हरियाली बनाउन लागेको कामपाले जनाएको छ। यसअघि बिमिस्टेक सम्मेलनमा कामपाले सो क्षेत्रमा जस्ताले छोपेर नेपाल र विदेशी पाहुनाको तस्वीर राखेको थियो।