नयाँ सभामुख को ?


काठमाडौं, (नेस)।यौन दुव्र्यवहार लागेपछि सभामुख कृष्णबहादुर महराले दिनुभएको राजीनामा स्वीकृत भएको छ। उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसमक्ष सभामुखले दिनुभएको राजीनामा स्वीकृत भएसँगै नयाँ सभामुखको बहस पनि शुरू भएको छ।

संसद् सचिवालयले महराले दिनुभएको राजीनामा स्वीकृत भएको सूचना संसद् सचिवालय सिंहदरबारमा टाँस गरिएको छ। रिक्त भएको सभामुखका लागि सत्तारूढ दल नेकपाभित्र पनि नयाँ सभामुखको खोजी शुरू भएको छ।

सत्तारूढ दलले सभामुख वा उपसभामुखमध्ये एक प्रतिपक्ष दललाई बनाउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
रिक्त सभामुखमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई बनाउने वा नेकपाका अन्य सांसदलाई बनाउने भन्ने बहस शुरू भएको हो।

कार्यकारी पदमा महिलालाई उपसभामुख बनाउनुपर्ने पक्षमा सत्तारूढ दलभित्रका महिला सांसदहरू लागेका छन्।
सभामुख र उपसभामुख चयन र राजीनामाका सन्दर्भमा स्पष्ट व्यवस्था नहुँदा नेकपा समस्यामा परेको छ।

संविधानको धारा ९१ मा प्रतिनिधिसभाको सभामुख र उपसभामुख चयन सम्बन्धमा फरक–फरक दल र फरक–फरक लिंगको हुनुपर्ने व्यवस्था छ।

नेकपाभित्र अहिले संविधान संशोधन गर्ने, सहमतीय आधारमा सभामुख चयन गर्ने वा प्रतिनिधि सभा नियमावली २११ को उपनियम १ को व्यवस्था संशोधन गरी उपसभामुखले राजीनामा दिने ठाउँको थप व्यवस्था गर्ने गरी विकल्पमा छलफल शुरू भएको नेकपाका एक सचिवालय सदस्यले बताए।

सत्तारुढ दल नेकपाले सभामुख पद आफूले लिने गरी गृहकार्य अगाडि बढाएको छ। पूर्वसभामुख एवं नेकपा संसदीय दलका उपनेता सुभाष नेम्वाङको नाम बढी चर्चामा छ। यसअघि पनि सभामुखको चर्चामा रहनुभएका नेकपाका प्रमुख सचेतक देव गुरुङलाई पनि सभामुख बनाउनुपर्ने बहस शुरू भएको छ।

नेम्वाङले सभामुखमा इच्छा नदेखाएको अवस्थामा उपसभामुखलाई राजीनामा गराउने कानुनी बाटो खुलाएर सभामुख बनाउने गृहकार्य पनि नेकपाभित्र शुरू भएको छ।

महराले राजीनामा दिएसँगै संघीय संसद् सचिवालयको वेभसाइटबाट फोटा हटाइएको छ भने कार्यालयमा रहेको नेम प्लेटबाट पनि नाम हटाइएको छ।

सभामुख बस्दै आउनुभएको सभामुखको सरकारी निवासबाट सर्ने तयारी महराले गर्नुभएको छ। सामान्यतया राजीनामा दिएको एक महिनासम्म सरकारी निवासमा बस्न पाउने प्रावधान रहेको छ।