कटुवा पेस्तोल र गोलीसहित दुई पक्राउ


न्युज अफ नेपाल, काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट कटुवा पेस्तोल र गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी धरान घर भएका २४ वर्षीय शैलेश तामाङ र दाङ घोराही नगरपालिका ९ का २० वर्षीय उज्वल गिरी रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु१ख ९९८८ नंको बस जाँच गर्ने क्रममा बसमा सवार शैलेशका साथमा कटुवा पेस्तोल र सोही बसमा सवार उज्वलको साथमा सोही पेस्तोलको गोली एक थान फेला पारेको थियो ।

उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु ल्याइएको प्रहरीले जनाएको छ ।