स्थान एक, काउन्टर फरक


न्युज अफ नेपाल, हेटौंडा । निकै तामाझामसाथ हेटौंडा १, चौकीटोलमा रहेको संयुक्त सुमो काउन्टर हट्ने भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । सुमोहरुको बजार क्षेत्रमा रहेका काउन्टरका कारण भिडभाड बढाएको भन्दै यस्तो निर्णय गरिएको छ ।

संयुक्त काउन्टरको सट्टा सबै सुमो कम्पनीले आफ्नै काउन्टर सोही स्थानबाट सञ्चालनमा ल्याउने भएका हुन् । सुमो कम्पनीहरुले हेटौंडा बजारमा राखेका काउन्टर बन्द गरी चौकीटोलमै छुट्टाछुट्टै काउन्टर सञ्चालन गर्ने सहमति भएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको सर्वपक्षीय बैठकले हेटौंडा–काठमाडौं चल्ने सुमोहरु चौकीटोलबाटै चल्नुपर्ने तथा अटो तथा ईरिक्सा सञ्चालनमा पनि कडाइ गर्ने निर्णय गरेको वडा अध्यक्ष सबिन न्यौपानेले बताउनुभयो । बैठकले सवारीसाधनको पार्किङ व्यवस्थित गर्ने तथा बजार क्षेत्रमा फुटपाथ पसल सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । फुटपाथ व्यवसाय हटाउन जनशक्ति तथा सामग्री अपुग भए उपमहानगरपालिकाले उपलब्ध गराउने भएको छ ।

हेटौंडा–काठमाडौं चल्ने सुमोहरु चौकीटोलस्थित आफ्नै काउन्टरबाट मात्र सञ्चालन हुने पूर्वनिर्णयलाई कार्यान्वयन गराउने निर्णयमा उल्लेख छ । चौकीटोलमा रहेको साझा सुमो काउन्टरमा सबै सुमोले काउन्टर सञ्चालन गरी त्यहाँबाट मात्र सञ्चालन गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । हेटौंडाबाट भाडाका करिब ४ सय सुमो दैनिकरुपमा काठमाडौं जान्छन् ।

चाडपर्वलाई लक्षित ट्राफिक व्यवस्थापन र यात्रुलाई सहज यात्राका लागि बजारका विभिन्न क्षेत्रमा छरिएर रहेका सुमोका काउन्टरहरु अब चौकीटोलमै राख्ने व्यवस्था गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताउनुभयो । बैठकमा प्रजिअ जोशीले ट्राफिक तथा उपमहानगरपालिकासँग समन्वय गरी तोकिएको स्थानमा मात्र पार्किङ व्यवस्था गरिने बताउनुभयो । अटो र ईरिक्सालाई पनि व्यवस्थित गरिने बैठकमा उहाँले जानकारी दिनुभयो ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख हरिविष्णु ढकालले बढ्दो ट्राफिक चाप व्यवस्थापनबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । बैठकमा हेटौंडा उपमहानगर प्रमुख हरिबहादुर महत, यातायात व्यवसायी संघ प्रतिनिधिहरु र जनप्रतिनिधिलगायतको उपस्थिति थियो ।