विद्यालय निमार्णमा जापानी दुतावासको १ करोड सहयोग


न्युज अफ नेपाल, हेटौंडा ।  मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–२ मा रहेको एक विद्यालय भवन बनाउन जापानी दुतावासले एक करोड सहयोग गरेको छ ।

नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको विशेष पहलमा जापानी दुतावासले सरिखेत कुँडुलेमा रहेको प्रजाप्रगति आधारभुत विद्यालयको शौचालय र बाथरुमस हित ६ कोठे भवन बनाउन एक करोड सहयोग गरेको हो । जापानी दुतावासका डेपुटी चिफ अफ मिसन युजो योसियोका र विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद चौधरीले मंगलबार जापानी दुतावासमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

मकवानपुरको विकट पश्चिमी क्षेत्र राक्सिराङ सरिखेतमा अवस्थित ८ कक्षासम्म पठनपाठन हुने र ८० प्रतिशत चेपाङ (प्रजा) बालबालिका अध्ययन गर्ने प्रजाप्रगति स्कुलको ६ कोठे भवन २०७७ असोज १४ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा नेता बानियाँले आफूले जापानी दुतावासलाई गरेको आग्रह स्वीकार गर्दै ६ कोठे भवन बनाइदिन लागेकोमा दुतावासप्रति आभार व्यक्त गर्दै उक्त ग्रामीण क्षेत्रका चेपाङ बालबालिकाहरु अब वर्षामा पानी नचुहिने र आरामदायी भवनमा पठनपाठन गर्न पाउने भन्दै खुशी व्यक्त गर्नुभयो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले अबका दिनमा विकट राक्सिराङका पिछडिएका चेपाङ बालबालिकाले ढुक्कसँग पठनपाठन गर्न पाउने भन्दै दुतावास र विशेष पहल गरिदिने नेता बानियाँलाई धन्यवाद दिनुभयो । प्रजाप्रगतिमा ५ स्थायी शिक्षक र ४ जना निजीस्रोतका गरी ९ शिक्षक छन् ।