सीटीईभीटीले ६० वटा स्थानीय निकायमा प्राविधिक शिक्षालय खोल्ने


ईश्वरराज ढकाल, भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले यो वर्षभित्र करिब ६० वटा स्थानीय निकायमा प्राविधिक शिक्षा कार्यक्रम विस्तार गर्ने योजना रहेको जनाएको छ।

सरकारको लक्ष्यअनुसार ७ सय ३५ स्थानीय निकायमा प्राविधिक शिक्षालय स्थापना गर्ने योजना बनाएको थियो। २०७४ साल फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो सम्बोधनमा देशलाई रोजगारमुखी युवा उत्पादन गर्न सो योजना सार्वजनिक गर्नुभएको योजनाअनुसार सबै स्थानीय तहमा सीटीईभीटीको शिक्षालय खोल्ने उल्लेख गरिएको थियो।

लगत्तै सीटीईभीटीले एक वर्षभित्र २०७५ मा देशभर १ सय १ स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गरेको थियो। ‘सीटीईभीटी स्थापना भएको २८ वर्षमा १ सय ९१ प्राविधिक शिक्षालय थिए, प्रधानमन्त्रीको घोषणापछि एक वर्षमै १ सय १ प्राविधिक शिक्षालय थप गरेर २ सय ९२ बनाएका छौं।’ –सीटीईभीटीका सदस्य–सचिव डा. पुष्परमण वाग्लेले बताउनुभयो।

उहाँका अनुसार यो वर्ष करिब ६० स्थानीय निकायमा प्राविधिक शिक्षालय विस्तार गर्ने योजना बनाएका छौं। सरकारले सञ्चालन गरेको ९–१२ को प्राविधिक धारअन्तर्गत चारवटा विषय र सीटीईभीटीले सम्बन्धन दिएका शिक्षण संस्थाको संख्या ५ सय ४१ पुगेको छ। अब २ सय १२ स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्न बाँकी छ।

तर सरकारले सबै स्थानीय तहमा प्राविधिक शिक्षालय विस्तार गर्ने योजना अघि सारेता पनि यसवर्ष निर्धारित कोटाभन्दा झन्डै १० हजार विद्यार्थी कम भर्ना भएका छन्।

‘हामीले कार्यक्रम विस्तार गर्यौं तर उल्लेख्य मात्रामा विद्यार्थी ल्याउन सकिएन’ –सदस्य सचिव वाग्लेको भनाइ छ। उहाँका अनुसार कतिपय शिक्षालयमा भौतिक संरचना, ल्याब, कक्षाकोठा व्यवस्थित हुन नसकेकाले विद्यार्थीको संख्या कम भएको हो।

सीटीईभीटीले प्रत्येक वर्ष डिप्लोमामा २८ र टीएसएलसीमा ४३ कार्यक्रमअन्तर्गत करिब ६३ विद्यार्थी भर्ना गर्ने गरेको छ। तर यो वर्ष चिकित्सा शिक्षाअन्तर्गत ल्याब, नर्सिङ, एचएलगायतका विषयमा बढी विद्यार्थी भर्ना भए पनि इलेक्ट्रिक र इलेक्ट्रोनिक्स विषयमा विद्यार्थीको संख्या कम हुन गएको छ।

सीटीईभीटीमा यो वर्ष करिब ५० हजार विद्यार्थी मात्र भर्ना भएका छन्। सीटीईभीटीले १८ महिने टीएसएलसी र ३ वर्षे डिप्लोमा तहको कार्यक्रम सञ्चालन गर्दै आएको छ। सीटीईभीटीमा कम विद्यार्थी भर्ना भएपछि २ सय ९३ शिक्षण संस्थाले वैकल्पिक सूचीमा नाम निकालेका करिब १० हजार विद्यार्थीलाई पुनः भर्ना हुन आ≈वान गर्न लागिएको छ।

सीटीईभीटीअन्तर्गत करिब ८ सय ८० शिक्षण संस्थाले टीएसएलसी र डिप्लोमा तह अध्यापन गर्ने गरेको तथ्यांक छ।
सीटीईभीटीका परीक्षा नियन्त्रक शिवहरि ढकालले भन्नुभयो– ‘ती संस्थाले कम विद्यार्थी भर्ना भएकाले वैकल्पिकमा रहेकालाई भर्ना गर्न अनुमतिका लागि निवेदन दिएका छन्।

दशैंलगत्तै प्रकृया पूरा गरेर कोटा खाली रहेका शिक्षालयमा विद्यार्थी भर्ना गर्न स्वीकृत दिने तयारीमा छौ।’ सीटीईभीटीले डिप्लोमामा १२ हजार र टीएसएलसीमा २७ हजार कोटा निर्धारण गरेको छ।

सदस्यसचिव डा.वाग्लेले प्राविधिक शिक्षामा प्राविधिक शिक्षालयमा कम विद्यार्थी भर्ना हुनुको मुख्य कारण राज्यको नीतिगत त्रुटि भएको आरोप लगाउँदै भन्नुभयो– ‘नीति बन्यो तर विद्यार्थीले पढ्नैपर्छ भन्ने मान्यता राख्न छाडे।’

हाल सीटीईभीटीअन्तर्गत सरकारले गुणस्तर भन्दा पनि सङ्ख्यात्मक वृद्धिलाई जोड दिने नीतिले समस्या रहेको हुनसक्ने तर्क सीटीईभीटीका पदाधिकारीको छ। सदस्य–सचिव डा. वाग्लेले सीटीईभीटीका शिक्षालयमा अध्ययन गरेका विद्यार्थीमध्ये करिब ७५ प्रतिशतले रोजगार हासिल गरेको जानकारी दिँदै भन्नुभयो– ‘हामीले देशभर तथ्यांक संकलन गर्दा प्राविधिक विषयअन्तर्गत टीएसएलसी र डिप्लोमा तह अध्ययन गर्ने ७५ प्रतिशत विद्यार्थीले रोजगारी पाउने गरेका छन्।’

सीटीईभीटीले यो वर्षबाट नयाँ सम्बन्धन दिएलगत्तै गुणस्तर वृद्धिमा जोड दिने योजना अघि बढाएको सदस्य–सचिव डा.वाग्लेको भनाइ छ।

डिप्लोमा तहअन्तर्गत प्रदेश १ मा २ सय ६१, प्रदेश २ मा ५ सय ८१, प्रदेश ३ मा १ हजार ३ सय ३५, गण्डकी प्रदेशमा २ सय ७५, प्रदेश ५ मा ८ सय २८, प्रदेश ६ मा ९४, र प्रदेश ७ मा १ सय ८३ गरी ३ हजार ४ सय ९७ विद्यार्थी अपुग रहेको छ।

यस्तै टीएसएलसीअन्तर्गत प्रदेश १ मा १ हजार १ सय ६०, प्रदेश २ मा ४ सय ८९, प्रदेश ३ मा १ हजार ५ सय प्रदेश ४, ५, ६ मा ५ सय २०, ६ मा ७ सय २० र ७ मा ५ सय ६ गरी छ हजार १४ जना विद्यार्थी अपुग छन्।