सरकार र राजनीतिक दलका अवधारणाको विश्लेषण सहितको पुस्तक सार्वजनिक


न्युज अफ नेपाल, काठमाडौँ
नेपालको आर्थिक विकासका हालसम्मका अभ्यास तथा यसमा सरकार र राजनीतिक दलका अवधारणाको विश्लेषण सहितको पुस्तक ‘दिशाहीनमा नेपाली अर्थतन्त्रः विकासको नीति र राजनीति’ सार्वजनिक गरिएको छ ।

नीति फाउण्डेशनका अध्यक्ष मोहनदास मानन्धर, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा पुस्कर बज्राचार्य र व्यापार अर्थशास्त्रविद् रोजन बज्राचार्यद्वारा लिखित एड्रोइड पब्लिकेशनले प्रकाशनमा ल्याएको यस पुस्तकको आज यहाँ एक समारोहबीच नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँणेल, पूर्वउपाध्यक्ष पृथ्वीराज लिगल र राजनीतिक विश्लेषक सीके लालले विमोचन गर्नुभयो ।

सो अवसरमा काङ्ग्रेस नेता सिंहले विसं २०४६ मा मुलुकमा प्रजातन्त्र स्थापनासँगै आर्थिक मुद्दालाई अगाडि बढाउनु पर्दछ भन्ने सर्वोच्च नेता गणेशमान सिंहले सोच रहे पनि त्यसअनुसार सरकारले योजना र कार्यक्रम ल्याउन नसक्दा जनताले परिवर्तनको अनुभूति गर्न नपाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकमा पटकपटक राजनीतिक परिवर्तन त भए पनि आर्थिक क्रान्ति नहुँदा जनताको अवस्थामा सुधार आउन सकेन र त्यसले अनेक विद्रोहको अवस्था सिर्जना भयो ।”
योजना आयोगका उपाध्यक्ष डा कँणेलले १५औँ योजनामा समृद्धि हासिल गर्न विभिन्न १० वटा लक्ष्य राखिएको उल्लेख गर्दै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न वर्तमान सरकार क्रियाशील रहेको छ भन्नुभयो ।

आयोगका पूर्वउपाध्यक्ष लिगलले संविधानले परिकल्पना गरेको समाजवादउन्मुख अर्थतन्त्रका लागि समृद्धि हुनु आवश्यक रहेको बताउँदै आर्थिक विकासका लागि राजनीतिक सहमति जरुरी पर्दछ भन्नुभयो ।

राजनीतिक विश्लेषक सीके लालले दोस्रो विश्वयुद्धपछि विकासको अवधारणा आएको र सन् १९९० पछि शीत युद्ध समाप्तिसँगै विकासलाई व्यापारसँग हेर्न थालिएको उल्लेख गर्दै सीप र प्रविधिको विकास नभएसम्म समृद्धि हासिल हुन नसक्ने धारणा राख्नुभयो ।

पुस्तकका लेखक मोहनदास मानन्धरले समृद्धि आर्थिक वृद्धि हुनु मात्र नभई सामाजिक न्याय र आर्थिक रुपान्तरण पनि भएको बताउँदै समृद्धि के हो र कसरी प्राप्त गर्न सकिन्छ भन्ने प्रष्ट दृष्टिकोणका साथ सरोकारवालाको साझा सहभागिता हुनु आवश्यक रहेकामा जोड दिनुभयो । अर्का लेखक डा पुस्कर बज्राचार्यले मुलुकको आर्थिक समृद्धिका आयामका बारेमा प्रष्ट हुन नसक्दा सन् १९९० अघि र त्यसपछिका सरकारले ल्याएका योजना र कार्यक्रमले परिणाम दिन नसकेको बताउनुभयो । अर्का लेखक रोजन बज्राचार्यले मुलुकको विकासका लागि बजारलाई नियन्त्रण नगरी प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिँदै पूर्वाधारमा गरिने लगानी नै समृद्धिको आधार भएको धारणा राख्नुभयो ।

विकासको समष्टिगत हिसाबले विगतका १४ वटा आवधिक योजना बने पनि सूक्ष्मरुपमा त्यसलाई नहेरिँदा परिणाममुखी नतिजा आउन नसकेको, विकासको लक्ष्य नै प्रष्टरुपमा निर्धारण गर्न नसकिएका लगायतका विषयलाई पुस्तकमा विश्लेषण गरिएको छ ।

विसं २०४६ अघि र त्यसपछिको आर्थिक अवस्था, कृषि, औद्योगिकीकरण, बजार, पर्यटनजस्ता सेवा क्षेत्र तथा सडक, जलविद्युत्, सञ्चारजस्ता पूर्वाधारका विषयमा भएका प्रगतिलाई पनि पुस्तकमा समेटिएको छ ।
रासस