च्छोरोल्पा हिमताल पुग्न सजिलो हुने भो


नेपाल समाचारपत्र,दोलखा।स्वीस सरकारको सहयोगमा दोलखाको गौरीशङ्कर गाँउपालिकाको छेतछेतदेखि च्छो रोल्पा हिमतालसम्मको ४० किलोमिटर पदमार्ग पुनर्निर्माण तथा स्तरोन्नति भएपछि उच्च हिमाली भेगमा रहेको पर्यटकीय गन्तव्य च्छो रोल्पा हिमताल पुग्न सहज भएको छ।

पटक–पटक दोलखाको उत्तरी क्षेत्रको भ्रमण गर्नुभएका नेपालका लागि स्वीस राजदूत ऐलिजाबेथ भोनकयापेलरले पदमार्ग पुनर्निर्माणपछि नेपाल सरकारको महत्वपूर्ण कार्यक्रम ‘भिजिट २०२०’ मा उच्च हिमाली भेगमा रहेको धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्वको च्छो रोल्पा हिमतालमा धेरै स्वदेशी तथा विदेशी पर्यटक पुग्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

राजदूत ऐलिजाबेथले पर्यटन विकास अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुहुँदै विकासको नाममा प्राकृतिक सुन्दरता र धार्मिक एवं सांस्कृतिक संरचना बिगार्न नहुने बताउनु भयो।

धर्म र मानव विकास एक–अर्कोसँग सम्बन्धित रहेको उल्लेख गर्नुहँुदै उहाँले पर्यटन विकासको लागि प्राकृतिक सुन्दरता र धार्मिक एवं सांस्कृतिक महत्वको संरक्षण गर्नुपर्ने बताउनुभयो।

उहाँले त्यसैको लागि स्वीस सरकारले पदमार्ग पुनर्निर्माणमा सहयोग गरेको बताउनुभयो।४ हजार ५ सय ८० मिटरको उचाईंमा रहेको दोलखाको गौरीशङ्कर गाँउपालिका–१ रोलवालिङमा अवस्थित च्छोरोल्पा हिमताल आजभन्दा झन्डै ६५ वर्षअघि बनेको स्थानीयको अनुमान छ।

२०५३ सालतिर च्छोरोल्पा हिमताल फुट्ने हल्ला चलेपछि यसको चर्चा शुरू भएको हो। त्यसअघि यो हिमताललाई स्थानीयले भगवान्को प्रतिकको रूपमा पुजा गर्थें। च्छोरोल्पा हिमतालमा सुनको भाले र सेता हाँस रहेको जनविश्वास अद्यापि कायमै छ।

झन्डै आधा किलोमिटर गहिराइ र तीन किलोमिटर लम्बाइको यो हिमताल हिमालको काखैमा रहेको र वरपरबाट प्रशस्तै प्राकृतिक सुन्दरतासमेत नियाल्न सकिने भएकोले पनि महत्वपूर्ण पर्यटकीय गन्तव्य बनेको छ।

२०७२ सालको भुकम्पले च्छोरोल्पासम्म पुग्ने पदमार्ग क्षतिग्रस्त बनेकोले पर्यटकलाई यात्रामा असहज भएको थियो। स्वीस सरकारले विकेन्द्रित ग्रामीण पुर्वाधार तथा जीविकोर्पाजन सुधार परियोजना–भुकम्प आपतकालीन सहायता आयोजनाअन्तर्गत पुनर्निर्माण तथा स्तरोन्नति गरिदिएपछि अहिले पर्यटक आगमनमा वृद्धि भएको स्थानीय बताउँछन्।

१० करोडको लागतमा पुनर्निर्माण तथा स्तरोन्नति गरिएको पदमार्ग हालै नेपालका लागि स्वीस राजदूत ऐलिजाबेथ भोनकयापेलरले जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेको उपस्थितिमा गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाहलाई हस्तान्तरण गर्नुभएको थियो।

छेतछेतदेखि च्छोरोल्पा हिमतालसम्मको पदमार्ग पुनर्निर्माण तथा स्तरोन्नति गरिएपछि च्छोरोल्पा हिमतालसँगै गौरीशङ्कर गाँउपालिका–१ को सगरमाथा आरोहीहरूको गाँउ बेदीङ र सिमिगाँउमा पुग्नसमेत पर्यटकलाई सहज भएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे बताउनुहुन्छ।

गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण साह च्छोरोल्पासम्मको पदमार्ग पुनर्निर्माण तथा स्तरोन्नतिको कामले भिजिट २०२० मा संरक्षण क्षेत्रमा पर्यटकको संख्या बढाउन सहयोग पुग्ने बताउनुहुन्छ।

पदमार्ग पुनर्निर्माण तथा स्तरोन्नतिको कामले गौरीशङ्कर संरक्षण क्षेत्रमा रहेको हिमचितुवा, रेडपान्डा, याक, कस्तुरी जस्ता वन्यजन्तु तथा विभिन्न प्रकारका वनस्पतिहरू अवलोकनको लागि आउने पर्यटकहरूलाई समेत सहज हुने संरक्षण क्षेत्र प्रमुख शाह बताउनुहुन्छ।