सुदूरपश्चिमका शक्तिपीठमा सामूहिक जमरा


बैतडी, (नेस)।देशका अन्य ठाउँमा घरघरमा जमरा राख्ने चलन भएपनि बैतडीसहित सुदूरपश्चिमका अधिकांश जिल्लामा भने शक्तिपीठमा सामूहिकरूपमा जमरा राख्ने चलन रही आएको छ।

घटस्थापनाको बिहानै आत्मशुद्ध गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई मन्दिरमा राखी जमरा उमार्न जौं, मकैलगायतका अनाज छर्ने गरिएको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो। उहाँले भन्नुभया– ‘घरमा भन्दा पनि मन्दिरमा सफा र शुद्ध हुने भन्ने जनविश्वास रहेकोले मन्दिरमा जमरा राख्ने गरेको छ।’

माता भगवतीलाई मनपर्ने वनस्पति जमरा भएकाले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो। यसैगरी माटोको विशुद्ध जलपूर्ण घडाको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जांै छर्ने गरिएको उहाँले बताउनुभयो।

गँहुँ र जांैको अंकुर दुर्गादेवीको प्रिय वस्तु भएकाले यस दिन रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेंलो जमरा ग्रहण गरिन्छ।

बैतडीका प्रसिद्ध शक्तिपीठमा पनि आइतबार विधिपूर्वक जमरा राखिएको छ। जिल्लाको देहीमाडौंमा रहेको निङलाशैनी भगवती मन्दिर, त्रिपुरासुन्दरी भगवती मन्दिर, तल्लादेही तथा मल्लादेहीमा रहेको डिलाशैनी भगवती मन्दिर, मेलौलीमा रहेको मेलौली भगवती मन्दिरमा विधिपूर्वक जमरा राखिएको हो।

यसैगरी पाटनको उदयदेव, महारुद्र, विभिन्न ठाउँका भूमिराजलगायतका मन्दिरमा विधिपूर्वक जमरा राखिएको छ। दशैं सामाजिक सद्भावको पर्व भएकाले यो समयमा सामूहिकरूपमा मन्दिरमा जमरा राख्ने चलन रही आएको देहीमाडौंका रमेश बोहराले जानकारी दिनुभयो।

देवीदेवताका मन्दिर जमरा राखेर सामूहिकरूपमै पूजाआजा गर्ने चलन रही आएको बोहराले जानकारी दिनुभयो। दशैंको अवसरमा नवरात्री उपसाना गरेर पूजाआजा गर्ने चलन रही आएको छ। घटस्थापनाका दिन राखिएको जमरालाई धेरै जसो ठाउँमा अष्टमीका दिन काट्ने चलन रही आएको छ।

आइतबारदेखि जमरा राखिएका मन्दिरमा रातमा समेत जाग्राम बसेर पूजाआजा गर्ने चलन रही आएको छ। जमरा देवीको प्रसादका रूपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ।

यसैबीच देशका अन्य ठाउँमा दशैंको बेला खानपिन गर्ने चलन रही आएको भएपनि सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा चोखोभोको रहेर नवरात्र उपासना गर्ने चलन रही आएको आचार्य घनश्याम लेखकले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘दशैंमा शक्तिको पूजा गरिने भएकाले शक्ति प्राप्तिका लागि सात्तिवक हिसाबले पूजा गर्ने चलन रही आएको छ।’

सुदूरपश्चिमका अधिकांश जिल्लामा मन्दिरमा जमरा राख्ने गरिएको भएपनि केही जिल्लामा भने घरमा पनि राख्ने गरिएको छ। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा दशैंको समयमा विभिन्न मठमन्दिरहरुमा सामूहिक पूजाआजा गर्ने चलन रही आएको छ।

दशैंका बेला शक्तिपीठहरुमा पूजाआजा गरेमा मनोकामना पूर्णहुने जनविश्वास रही आएको छ। दशैंको समयमा सामूहिकरूपमा पूजापाठ गरिने भएकाले घर बाहिर भएका, बसाइसराइ गरेर गएका पनि फर्कने गरेका छन्। यसले गर्दा गाउँघरमा रमाइलो हुने गरेको स्थानीय धनबहादुर क्षेत्रीले बताउनुभयो।

मन्दिरमा सामूहिकरूपमा जमरा राख्ने चलन वर्षौं पहिलादेखि शुरू भएको र यसले सामाजिक सद्भावको विकास सहयोग पर्याउने निङलाशैनी भगवती मन्दिरका पुजारी लोकराज भट्टले जानकारी दिनुभयो।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।