दशैंमाथि कालो बादल


टीका बन्धन काठमाडौं।निरन्तररूपमा जारी रहेको वर्षा अझै केही दिन सक्रिय हुने भएको छ। यसपटक अझै मौसम सक्रिय रहेकाले दशैंसमेत प्रभावित हुने भएको छ।

मुलुकभर जडान भएका ४ सयभन्दा बढी मौसमी स्टेसनमा रेकर्ड हुने वर्षाको मात्राका आधारमा पनि मनसुनी अवस्था विश्लेषण गरिन्छ। 

विज्ञहरू भन्छन्– ‘विजया दशमीमा पनि पानीले छोड्ने सम्भावना कम छ।’ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार हल्का र मध्यमस्तरको वर्षा गराउने मौसमी गतिविधि अझै बाँकी रहेकाले यसपटकको दशैं हिलोमुक्त हुनेछैन।

‘मौसमी क्यालेन्डरअनुसार मनसुन निस्क्रिय हुनुपर्ने समय हो तर मनसुन कमजोर बनाउने वायु सक्रिय भइसकेको छैन, आइतबार साँझ उहाँले भन्नुभयो– ‘पानीको मात्रा ७०/८० प्रतिशत कम भए पनि मनसुनी बादलले अझै साता/दश दिन छोड्ने संकेत देखिँदैन।’

मनसुन सक्रिय गराउने न्यून चापीय रेखा औसत स्थान आसपासमा रहँदा दक्षिणपूर्वी मनसुनी हावाको प्रभाव वायुमण्डलको तल्लो सतहदेखि माथिल्लो सतहसम्म प्रस्टै देखिएकाले मनसुनी गतिविधि जारी रहने अर्यालले प्रस्ट्याउनुभयो।

मनसुनको न्यूनचापीय रेखा भारतको राजस्थान, हरियाणा, दिल्ली, उत्तर प्रदेश, दक्षिण विहार, झारखण्ड आसपासमा रहेको छ।

मनसुन कमजोर गराउने पश्चिमी वायु सक्रिय हुन नसक्दा दशैंभर मौसम बदली, हल्का र मध्यमस्तरका मौसमी गतिविधि जारी रहने भएको हो। भू–मध्य सागर हुँदै पाकिस्तानको उत्तर भेग र भारतको जम्मुकास्मिर हुँदै भित्रिने पश्चिमी वायु कमजोर हुँदा मनसुनी गतिविधि जारी रहेको मौसमविद् बताउँछन्।

यससँगै तिब्बतको उच्चचापीय क्षेत्रमा रहेको ‘जेटस्ट्रिम’ (तीब्र गतिमा बहने हावाको मुस्लो) पृथ्वीको सतहबाट १४ देखि १६ किलोमिटर माथि रहेकाले पनि मनसुन निस्क्रिय गराउन अवरोध सिर्जना गरेको अर्यालले बताउनुभयो।

‘जेटस्ट्रिम नेपालको हिमालयन रेन्जभन्दा माथि छ, मनसुन कमजोर गराउन त्यो दक्षिणतर्फ सर्नुपर्छ तर त्यसो हुन सकिरहेको छैन।’ –उहाँले भन्नुभयो।

मुलुकभर जडान भएका ४ सयभन्दा बढी मौसमी स्टेसनमा रेकर्ड हुने वर्षाको मात्राका आधारमा पनि मनसुनी अवस्था विश्लेषण गरिन्छ।

महाशाखाले दैनिक १६ स्टेसनमार्फत वर्षाको अवस्था अध्यावधिक र विश्लेषण गर्दै आएको छ। आइतबारसम्मको अवस्था नियाल्दा सुदूरपश्चिमबाहेक पश्चिम, मध्य र पूर्वी भेगका स्टेसनमा वर्षाको मात्रा नघटेको पाइएकाले मनसुन जारी रहने मौसमविद्हरूको ठहर छ।

मुलुकभरका ८० भन्दा बढी स्टेनसनमा तीन दिनदेखि निरन्तर वर्षा नभएको पाइएमा मनसुन निस्क्रिय हुने बलियो संकेत मानिने भए पनि यसपटक त्यस्तो नपाइएको अर्का मौसमविद् समीर श्रेष्ठले बताउनुभयो। आज सोमबारदेखि मौसममा केही सुधार आए पनि पूर्णरूपमा मौसम सुधार भएको बुझ्न नहुने उहाँको भनाइ छ।

अंग्रेजी महिनाको जुन १० देखि सेप्टेम्बर २३ तारिख नेपालका लागि मनसुन अवधि हो। यो अवधिलाई विश्व मौसम संगठन (डब्ल्यूएमओ) ले नेपालका लागि मनसुनी क्यालेन्डर तय गरेको छ। एक दशकयताको मनसुनी अवस्थालाई नियाल्दा ढिलो गरी भित्रिन थालेको मनसुन ढिलै गरी अन्त्य हुन थालेको छ।

विगत १० वर्षको अवधिलाई नियाल्दा सन् २०१२ बाहेक अन्य वर्षको मनसुन अक्टोबर महिना लागेपछि मात्रै निस्क्रिय भएको छ। विभागका अनुसार सन् २०१२ मा सेप्टेम्बर २८ तारिखमा मनसुन बिदा भएको थियो।

मनसुन गत वर्ष अक्टोबर ५ तारिखमा बिदा भएको थियो भने यसपटक गत असार ५ (जुन २० तारिख) मा भित्रिएको थियो।