दीर्घकालीन विकल्प खोज


आज घटस्थापना, बडादशैंको पहिलो दिन । घर–घरमा जमरा राखेर दशैंको विधिवत् शुभारम्भ गर्ने दिन । दशैं शुरू हुनुभन्दा केही दिनअघिदेखि नै परदेशबाट स्वदेश फर्किने र स्वदेशमै पनि अन्यत्र रहेकाहरू गृहजिल्ला पुग्ने क्रम बाक्लिएको छ । काठमाडौं उपत्यकाबाट दिनहुँ हजारौं व्यक्ति गृहजिल्ला प्रस्थान गरिरहेका छन् ।

हरेक वर्ष उपत्यकाबाट बाहिरिने यात्रुको संख्या निकै बाक्लो हुन्छ, यसपटक पनि त्यस्तै भएको छ । विगतका वर्षझैं काठमाडौंका मुख्य नाका र राजमार्गमा सवारीको चाप र यातायातको सास्ती दोहोरिएको छ ।

दशैं र अन्य चाडबाडको समयमा नागढुंगा–नौबीसे सडक खण्ड जामको पर्याय बन्ने गर्छ, घर प्रस्थान गर्ने र काठमाडौं आउने यात्रु सहजै गन्तव्यमा पुग्दैनन् ।

जामकै कारणले रौतहटबाट उपचारका लागि काठमाडौं आउँदै गरेका एक बिरामीको शुक्रबार बिहान बसमै मृत्यु भएको छ । मृगौला उपचारका लागि आमासहित काठमाडौं आउँदै गरेका रौतहटको गरुडा नगरपालिका–२ का रूपलाल साहको शुक्रबार अकालमा निधन भएको हो ।

धादिङको थाक्रे गाउँपालिका–८ चारकिलोमा दुईवटा मालवाहक सवारी एक–आपसमा ठक्कर खाएर सवारी अवरुद्ध हुँदा साहकी आमा श्रीजनदेवीले उनलाई बेलैमा अस्पताल पुर्याउन सकिनन् । दुर्घटनामा परेका कन्टेनरलाई किनारा लगाउन ढिलाइ हुँदा अन्यत्रबाट काठमाडौं आउँदै गरेका एम्बुलेन्स पनि घन्टौं जाममा परेका थिए ।

नागढुंगा–नौबीसे र पृथ्वी राजमार्गमा मुख्य चाडबाडमा सवारी चाप दोहोरिने गरेकाले यो मार्ग हुँदै ओहोर–दोहोर गर्ने यात्रुले जामकै लागि भनेर समय छुट्याउनुपर्ने बाध्यता छ ।

यात्रु र सवारीको संख्या थपिने तर सडकको अवस्था सुधार नहुँदा यो समस्या केही वर्ष अझै घट्ने सम्भावना देखिँदैन, समस्या झनै बढ्दो क्रममा छ ।

यात्रुको चाप र यस्तो समस्याबारे सरकार प्रस्ट जानकार छ तर समस्याबारे सरकार जति गम्भीर हुनुपर्ने हो त्यस्तो कदम चालिएको पाइँदैन ।

उता बीपी राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिवास खण्ड हुँदै भित्रिने–बाहिरिने सवारीको चाप पनि अहिले निकै बढेको छ ।

सो सडकबाट ठूला यात्रुवाहक र मालवाहक सवारी गुडाउन प्रतिबन्ध लगाइए पनि दुईपाङ्ग्रे, साना र मझौला सवारीको चाप निकै बढेको छ ।

तर, टाइम कार्डको व्यवस्था अनिवार्य गर्दै तोकिएको गति र समयमा मात्रै सवारी ओहोर–दोहोर गर्न पाउने भएकाले बीपी राजमार्गमा यात्रुले त्यति धेरै सास्ती बेहोरेका खबर चर्चामा आएका छैनन् ।

पृथ्वी राजमार्गमा भने ठूला मालवाहकसहित सबै किसिमका सवारी गुडाउन छुट भएकाले सवारी व्यवस्थापन जटिल बन्दै गएको छ ।

गिटी, बालुवा, रोडा र अन्य निर्माण सामग्री ढुवानी गर्ने सवारीलाई दशैंजस्ता ठूला चाडपर्वमा टाइम कार्डको व्यवस्था गरिएको खण्डमा सवारी व्यवस्थापन केही मात्रामा भए पनि सहज हुनेछ ।

यस्तै विकल्प अघि सार्दै सरकारले घटस्थापनादेखि फूलपातीका दिनसम्म १० पाङ्ग्रेभन्दा ठूला सवारी गुड्न प्रतिबन्ध लगाएको छ । राजमार्गको सवारी चापलाई व्यवस्थित गर्न सरकारले अल्पकालीन मात्रै होइन दीर्घकालीन विकल्प पनि खोज्नै पर्छ ।