‘राष्ट्रसंघका सिद्धान्तप्रति नेपाल प्रतिबद्ध छ’


नेपाल समाचारपत्र, काठमाडौं । नेपालले संयुक्त राष्ट्रसंघका उद्देश्य र सिद्धान्तप्रतिको आस्था र प्रतिबद्धता दोहोर्याएको छ।शान्ति, सुरक्षा र विश्व व्यवस्थाका लागि बहुपक्षीयतावादको प्रवद्र्धनमा राष्ट्रसंघको भूमिकाप्रति अटल विश्वास रहेको जनाएको छ।

अमेरिकाको न्युयोर्कमा जारी राष्ट्रसंघको ७४औं महासभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शान्ति, सुरक्षा र विश्व व्यवस्थाको सुनिश्चितताका लागि बहुपक्षीयतावादको विकल्प नरहेको बताउनुभएको हो।

नेपालको परराष्ट्रनीति शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलका सिद्धान्त, असंलग्नता, राष्ट्रसंघीय बडापत्र, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मानकबाट निर्देशित रहेको उहाँले अवगत गराउनुभयो।

शुक्रबार साँझको आफ्नो सम्बोधनमा मन्त्री ज्ञवालीले भन्नुभयो– ‘नेपालको परराष्ट्रनीति सबैसँग मैत्री तथा कसैसँग पनि शत्रुता नगर्ने कार्यसञ्चालनको आदर्श वाक्य हो।’

क्षेत्रीय प्रक्रियाले शान्ति, सुरक्षा र आर्थिक विकासका विश्व प्रयासमा सहायकको भूमिका निर्वाह गर्ने नेपालको मान्यताअनुरूप क्षेत्रीय सहकार्यमा नेपालले जोड दिएको उहाँले बताउनुभयो।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क), बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) र एसियन कोअपरेसन डाइलग (एसीडी) मार्फत आर्थिक सहयोग बढाउन नेपाल प्रयासरत रहेको ज्ञवालीको भनाइ थियो।

क्षेत्रीय संगठनको महत्व प्रस्ट्याउँदै उहाँले भन्नुभयो– ‘सार्कको वर्तमान अध्यक्ष भएको नाताले अवरुद्ध सार्क प्रक्रियालाई नवजीवन प्रदान गर्ने प्रयास भइरहेको छ।’

सन् २०३० अगावै नेपाल अल्पविकसित अवस्थाबाट मध्यम आयस्तर भएको मुलुकमा रूपान्तरण हुन प्रयासरत रहेको ज्ञवालीले अवगत गराउनुभयो।

विद्यमान कानुनी र नीतिगत प्रक्रिया सुधार गरेर नेपालले सबै क्षेत्रको वैदेशिक लगानीका लागि एकद्वार प्रणाली सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो।

नेपालको लुम्बिनी गौतमबुद्धको जन्मथलो मात्र नभएर शान्तिको उद्गमस्थल र आध्यात्मिक तृप्तिको गन्तव्यसमेत भएकाले लुम्बिनीलाई प्रवद्र्धन गर्न सन् २०२१ मा नेपालले राष्ट्र संघीय वैशाख दिवस आयोजना गर्ने तयारी गरेको ज्ञवालीले जानकारी दिनुभयो।

नेपालले राष्ट्रसंघको मानवअधिकार परिषद् (सन् २०२१–२०२३) मा थप योगदान गर्न चाहेको उल्लेख गर्दै नेपाललाई सहयोग गर्न उहाँले अपिल गर्नुभयो।

‘नेपालले परिषद्मा रहेर पुनः योगदान गर्न चाहेको छ, सबै सदस्य राष्ट्रलाई नेपालको पक्षमा अमूल्य मत दिन आग्रह गर्दछु’ –ज्ञवालीले भन्नुभयो।

आतङ्वादका सबै रूपको नेपालले निन्दा गर्दै आएको बताउँदै राष्ट्रसंघीय प्रतिआतंवाद रणनीतिसहित मौजुदा सन्धिसम्झौताको प्रभावकारी कार्यान्वयनको पक्षमा रहेको उहाँले दोहोर्याउनुभयो।

विगत ६ दशकयता नेपालले राष्ट्रसंघको शान्तिकार्यमा बफादार, व्यावसायिक सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै महिलालाई शान्ति सेनामा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।