क्यानमा चन्द समूहको ‘क्लिन स्विप’


फिरोज राजोपाध्याय, काठमाडौं।नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचनमा चतुरबहादुर चन्दको समूहले क्लिन स्विप गरेको छ।पूर्वअध्यक्ष विनयराज पाण्डेलाई अत्यधिक मतले हराउँदै चन्द क्यानको अध्यक्षमा निर्वाचित हुनुभयो।

शनिबार भएको निर्वाचनमा निर्वतमान अध्यक्ष चन्दले कुल ५९ मत खसेकोमा ४४ मत प्राप्त गर्नुभएको हो। पूर्वअध्यक्ष पाण्डेले भने १५ मत मात्रै हासिल गर्नुभएको थियो।

निर्वाचित अध्यक्ष चन्दले बताउनुभयो– ‘निर्वाचित भयौं। हामीसँग चुनौती धेरै छन्। यो निर्वाचन निलम्बित नेपाली क्रिकेटलाई फुकुवा गर्ने प्रक्रियाको रूपमा रहेको छ।

हामीले नियमित घरेलु प्रतियोगिता गर्नु छ। हामी आशा गर्छौं अब नेपाली क्रिकेटको प्रतिबन्ध आईसीसीले फुकुवा गर्नेछ।’

यस्तै चन्दकै समूहका राजबाबु श्रेष्ठ उपाध्यक्षमा, अशोकनाथ प्याकुरेल सचिवमा र कोषाध्यक्षमा रोशनकुमार सिंह निर्वाचित भएका छन्।

श्रेष्ठले पनि पाण्डे समूहका मिङ्मा डण्डु शेर्पालाई ठूलो मतान्तरले पराजित गर्नुभएको थियो। श्रेष्ठले ४० मत र शेर्पाले १७ मत ल्याउनुभएको थियो।

यस्तै सचिवमा प्याकुरेलले ४३ मत प्राप्त गर्दा उहाँका प्रत्यासी विनोदकुमार मैनालीले १५ मत हासिल गर्नुभयो। सिंहले पाण्डे समूहका उपेन्द्र भट्टराईले हासिल गरेको १२ मतविरुद्ध ४५ मत प्राप्त गर्नुभयो।सदस्यमा चन्द समूहकै उम्मेदवारको जित भएको छ।

यसमा दुर्गाराज पाठकले सर्वाधिक ४२ मत प्राप्त गर्नुभयो भने वीरेन्द्रबहादुर चन्दले ३६, माधवकुमार कर्माचार्यले ३५, सञ्जयराज सिंहले ३४ र करण मल्होत्रा क्षेत्रीले ३० मत ल्याएर निर्वाचित हुनुभयो।

सदस्यमा नेपाली पुरुष क्रिकेट टोलीका पूर्वप्रशिक्षक जगत टमाटाले मात्र १५ मत ल्याएर पराजित हुनुभयो।
प्रदेश १ मा कैलाश विष्ट ३७ मत र प्रदेश ३ का अमितवीर पाण्डे ३९ मत ल्याएर निर्वाचित हुनुभयो।

यसअघि प्रदेश २ का दाउद अन्सारी, प्रदेश ४ का ऋषि गौतम, प्रदेश ५ का प्रशान्तविक्रम मल्ल, प्रदेश ६ का पद्म खड्का र प्रदेश ७ का विक्रम विष्ट निर्विरोध निर्वाचित हुनुभयो। यस्तै महिलातर्फ जयन्ती भट्ट निर्विरोध निर्वाचित हुनुभयो।

नेपाली क्रिकेट फुकुवा हुने आशमा२०७३ साल वैशाख १३ गते नेपाली क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा प्रतिबन्धित भएको थियो।

पटकपटक आईसीसीसँग सकारात्मक छलफल गरिए पनि आजसम्म नेपाली क्रिकेट फुकुवा हुनसकेको छैन। तर क्यानको यो निर्वाचनलाई उक्त प्रतिबन्ध फुकुवा हुने प्रक्रियाका रूपमा लिइएको छ। यस निर्वाचनमा राखेप र आईसीसीको प्रतिनिधित्वको सक्रिय सहभागिता छ।

यसअघि भएको २०७२ सालको निर्वाचनलाई आईसीसीले मान्यता दिएको थिएन। जुन निर्वाचनमा चन्द नै अध्यक्षमा निर्वाचित हुनुभएको थियो।

सो निर्वाचनपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तदर्थ समिति तयार गरेपछि नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले प्रतिबन्ध लगाएको हो।

नवनिर्वाचित अध्यक्ष चन्दले भन्नुभयो– ‘त्यतिबेला हामी निर्वाचित भएका थियौं। तर हामीले काम गर्न नपाउँदै अन्य केही कारणले नेपाली क्रिकेटलाई प्रतिबन्ध लगाइदियो।’