विप्लवका महोत्तरी इन्चार्ज र सेक्रेटरी अदालत परिसरबाटै पुन: गिरफ्तार


जनकपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका महोत्तरी इञ्चार्ज रुपबहादुर कार्की तथा सेक्रेटरी भीमबहादुर आले अदालत परिसरबाटै पुनस् पक्राउ परेका छन् । उनीहरुलाई बिहिबार महोत्तरी जिल्ला अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।

अदालतले आदेश दिए पनि हतकडीसमेत नखोली प्रहरीले उनीहरुलाई पुनस् गिरफ्तार गरेको हो । गत जेठ १३ गते बर्दिवास नगरपालिका कार्यालयमा कुकर बम राखेको आरोपमा कार्की र आलेलार्य प्रहरीले पक्राउ गरेको थियो । कार्कीई भदौ १३ गते बर्दिवासबाट तथा आलेलाई असोज २ गते गौशालाबाट पक्राउ परेका थिए ।

प्रहरीले दुईविरुद्ध कृत्रिम विस्फोटक पदार्थ राखेको आरोपमा मुलुकी अपराध संहिता ०७४ को दफा १४० बमोजिम ३ वर्ष कैद र ३० हजार रुपैयाँ सजाय माग दाबीसहित मुद्दा दायर गरेको थियो । बम दाबी गरिएको कुकर भित्र साबुन र मोबाइल बाहेक कुनै प्रकारको विस्फोटक पदार्थ फेला नपरेको हुँदा अदालतले उनीहरुलाई ३० हजार धरौटीसहित साधारण तारेखमा छाडने आदेश दिएको थियो।

अन्य जिल्लामा घटेका घटनामा समेत उनीहरुको संलग्नता रहेका हुनसक्ने अनुमानमा दुवैलाई थुनामै राख्नु परेको प्रहरीले जनाएको छ ।