स्टिकर हिनामिना गर्नेलाई जरिवानासहित कैद


कृष्णउदास खनाल, वीरगन्ज। आन्तरिक राजस्व कार्यालय वीरगन्जले मदिराको बोतलमा प्रयोग गरिने अन्तःशुल्कको स्टिकर हिनामिना गरेको अभियोगमा पक्राउ परेका दुईजना सञ्चालकलाई ३१ करोड ६३ लाख ३० हजार ८० रुपियाँ (बिगो, जरिवाना र विलम्ब शुल्क) असुल उपर गर्नुको साथै १–१ वर्ष कैद सजायको फैसला गरेको छ।

वीरगन्ज–२४ रामगढवामा सञ्चालित उदयपुर डिस्टिलरी प्रालिका सञ्चालक ओमप्रकाश कलवार र पर्साको पोखरिया नगरपालिकाको बसतपुरमा सञ्चालित जयश्री धौलागिरिका सञ्चालक शम्भुशरण कलवारको मुद्दाको सवालमा फैसला गरेको हो।

कार्यालयले दुवै मदिरा उद्योगका सञ्चालकले अन्तःशुल्क ऐन २०५८ को दफा १६ को उपदफा १ (क) र दफा १६ को उपदफा २ (ख) बमोजिमको कसूर गरी अन्तःशुल्क राजस्व दबाएको, छिपाएको, छलेको हुँदँ बिगो, जरिवाना, विलम्ब शुल्क माग गर्दै १–१ वर्ष कैद सजाय ठहर भएको कार्यालयका प्रमुख कर अधिकृत गोपीकृष्ण कोइरालाले बताउनुभयो।

उदयपुरका सञ्चालक ओमप्रकाशसँग आर्थिक वर्ष २०७१/०७२, आव २०७३/०७४ र आव २०७४/०७५ मा अन्तःशुल्कको स्टिकर खरीद गरेर लगेको, त्यसको आम्दानी खातामा जनाएको, आम्दानी खातामा प्रत्येक दिनको खर्च र मौज्दातको विवरण जनाएको, स्टिकर जिम्मेवारी सार्दा जानाजानी बदनियतपूर्वक कम संख्यामा उल्लेख गरेको, उत्पादित मदिरा श्रीराम टेड्रिङ कन्सर्न प्रालिको नक्कली कर बिजक जारी गरी बिक्री गरेको पुष्टि भएको हुँदँ आन्तरिक राजस्व कार्यालय, वीरगन्जले बिगो, जरिवाना र विलम्ब शुल्क जोडेर जम्मा २६ करोड १५ लाख ७० हजार ३ सय ४७ रुपियाँ असुल गर्नुको साथै एक वर्ष कैद फैसला गरेको छ भने जयश्री धौलागिरिका सञ्चालक तथा ओमप्रकाशका दाइ शम्भुशरण कलवारसँग बिगो, जरिवाना र विलम्ब शुल्क गरी कुल ५ करोड ४७ लाख ५९ हजार ७ सय ३३ रुपियाँ असुल गर्नुको साथै १ वर्ष कैद सजाय फैसला गरेको थियो।

शम्भुशरणले आव २०७४/०७५ मा ३ लाख ६० हजार अन्तःशुल्कको स्टिकर हिनामिना गरेको अभियोग लगाइएको छ। शम्भुलाई पनि ओमप्रकाशकै ऐन अनुसार कारबाही गरिएको कार्यालयका प्रमुख कोइरालाले बताउनुभयो।

दुवैले ऐन अनुसार बिगो, जरिवाना र विलम्ब शुल्क नबुझाए मुलुकी फौजदारी संहिता २०७४ को दफा १६४(२) बमोजिम जायजेथा गरी असुल उपर गर्नू, जायजेथा गर्दा पनि असुल नभएमा सोही एनेको दफा १६४ को उपदफा ५ बमोजिम ७ वर्ष कैद सजय हुने फैसला उल्लेख छ।