प्रदेश सरकार लगानीको सुरक्षा गर्न प्रतिबद्ध

0
Shares

काठमाडौं, (नेस)।प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योगी तथा लगानीकर्ताको लगानी सुरक्षाका लागि प्रदेश सरकार जुनसुकै कदम उठाउन पनि तयार रहेको बताउनु भएको छ।

नेपाल उद्योग परिसंघसँगको छलफलफलमा मुख्यमन्त्री राउतले लगानीबिना समृद्धि सम्भव नभएकाले आफूले नयाँ लगानी आकर्षित गर्न तथा साविकका लगानीकर्ताको हित सुरक्षाका लागि प्रतिबद्ध रहेको बताउनुभएको हो।

नयाँ लगानीका लागि कानुनी सुधार, कर सहुलियत तथा भूमि प्राप्तिलाई सहज बनाउन हरदम प्रयास भइरहेको पनि मुख्यमन्त्री राउतले बताउनुभयो।

साविकका उद्योगी तथा लगानीकर्तालाई भइरहेको दोहोरो कर तथा विद्युत महशुलमा रहेको अन्तरले परेको समस्या समाधानका लागि प्रदेश तहमा र संघिय सरकारको तहमा समेत पहल गर्ने प्रतिबद्धता मुख्यमन्त्री राउतले व्यक्त गर्नुभयो।

सो अवसरमा प्रदेश २ का महान्याधिवक्ता दीपेन्द्र झाले उद्योगी तथा लगानीकर्ताका लागि प्रदेशले चार प्रकारका विशेष सहुलियत तथा सहजीकरणको काम गरेको जानकारी पनि गराउनुभयो।

पहिलो प्रादेशिक करमा २० वर्षे सहुलियत दोस्रो भूमि प्राप्तिमा सहजीकरण तेस्रो तीन घण्टाभित्रै उद्योग दर्ता र अन्य प्रक्रिया पूरा गरिदिने र चौथो उद्योगका लागि सुलभ दरमा विद्युत् उपलब्ध गराउने कुरालाई प्राथमिकतामा राखेर काम भएको महान्याधिवक्ता झाले उल्लेख गर्नुभयो।

सो अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले संघीय र प्रादेशिक दुवै तहमा सरकार र उद्योगी तथा लगानीकर्ताबीच विश्वासको वातावरण बनाउनुपर्ने समय आएको बताउनुभयो।

सरकारका तह र उद्योगी तथा लगानीकर्ताबीच विश्वासको संकट हुँदा लगानी नभित्रिने र भएको लगानीको पनि पलायन हुने खतरा रहेकाले यसमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।

प्रदेश २ को सिमरा वीरगन्ज कोरिडोर तथा वीरगन्जमा रहेको आर्थिक हबलाई जोगाउन तथा विस्तार गर्न पनि समग्र लगानी वातावरणमा सुधार हुनु पर्ने अध्यक्ष मोरले उल्लेख गर्नुभयो।

विद्युत् महशुलमा रहेको अन्तर कायम रहे औद्योगिक कोरिडोरमा रहेका उद्योगसमेत बन्द हुन सक्ने भएकाले समस्या समाधानका लागि पहल लिन पनि अध्यक्ष मोरले मुख्यमन्त्री राउतसंग आग्रह गर्नुभयो।