अदुवा उत्पादन ७० प्रतिशतले घट्यो

0
Shares

गणेश घिमिरे, इलाम।नगदे बाली अदुवा। इलामेली किसानको प्रमुख खेती हो। तर, जिल्लामा यो वर्ष अदुवा उत्पादन घटेको छ । उत्पादन घट्दा कृषक चिन्तित बनेका छन्। जिल्लामा अघिल्लो वर्षभन्दा ७० प्रतिशतले उत्पादनमा कमी आएको छ ।

माउ निकाल्दा हरियो देखिएको अदुवाको बोट एकाएक पहेँलो हुन थालेको छ । मूल्य राम्रो भएकाले माउको बिक्रीबाट केही राहत मिले पनि मुख्य उत्पादनमा भने असर परेको इलाम माइजोगमाई गाउँपालिका– ३ का कृषक भूपाल घिमिरेले बताउनुभयो।

अदुवामा बगान पहेंलिने र गानो कुहिने रोग लागेको उहाँको भनाइ छ। यस्तो समस्या अधिकांश बगानमा देखिन थालेको छ । प्राविधिकको सल्लाह नपाउँदा र कृषकले पनि मूल्यलाई हेरेर मौसमको ख्याल नगरी माउ अदुवा निकाल्दा रोग लाग्ने गरेको छ । बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेलले अहिले अदुवाको भाउ राम्रो आए पनि उत्पादन भने घटेको बताउनुभयो।

बीउ किन्ने बेलामा मूल्य अत्यधिक हुने र उत्पादन बिक्री गर्दा कम मूल्य भएकाले कृषकले खेतीसमेत घटाएका छन् । निकासीमा भारतले लगाउने झन्झटका कारण पनि अदुवा कृषक र व्यवसायीमा निराशा थपिएको छ । तर, योपटक निकासी झन्झट भने हटेको छ ।

अघिल्ला वर्षमा प्रतिमन ५ सय रुपियाँसम्म झरेको अदुवाको मूल्य यो पटक ह्वात्तै वढेको छ । मूल्य बढे पनि रोगले उत्पादन घट्दा किसानले अन्य खेतीको विकल्प हेरिरहेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा अदुवा खेती हुन्छ ।

कृषकले धानखेती मासेर पनि अदुवा खेती गरेका थिए । तर, मूल्य अनिश्चितताकै कारण पुनः अदुवा हटाएर अलैंची, अम्लिसोलगायतका बाली लगाएका छन् ।

ढुक्क भएर अदुवा खेती गर्ने अवस्था नभएको इलाम नगरपालिका २ का कृषक नारद लम्सालले बताउनुभयो। गुणस्तरीय अदुवा उत्पादन नहुनु, रोगको प्रकोप बढ्नु र मुख्य बजार भारतमा उताकै उत्पादन बढ्नुले अदुवाको वजारमा ठुलो प्रभाव पार्ने गरेको छ ।

कृषकले माटोसहित बिक्री गर्ने र विषादीसमेत प्रयोग गर्ने गरेकाले बेला मौकामा अदुवाको बजार प्रभावित हुने गरेको छ ।जिल्लाको बिब्ल्याटे, मंगलबारे, फिक्कल र तीनघरे बजारमा अदुवाको कारोबार उच्च हुने गरेको छ ।

वर्षौंदेखि अदुवाको खेती गर्दै आए पनि चित्तबुझ्दो आम्दानी यो वर्ष मात्र भएको कृषक बताउँछन्। जिल्लाका विभिन्न स्थानका व्यापारी यतिखेर किसानको बारीमै गएर अदुवा खरिद गर्न व्यस्त छन ।मूल्यमा भइरहने घटबढले भने उनीहरूमा चिन्ता थपिने गरेको छ । किसानबाट महँगो मूल्यमा खरीद गरेको अदुवा बिक्री गर्ने समयमा मूल्य घट्ने हो कि भन्ने चिन्ताले व्यापारीलाई सताउने गरेको छ ।