चालकको सावधानी


अधिकांश दुर्घटना लापरबाहीले हुने गरेको देखिन्छ। आफ्नो सानो लापरबाहीले जीवन नै जान सक्छ भन्ने हेक्का राख्ने मानिसले हतार गर्दैन।

सीमित गतिमा सवारी चलाउँदा गन्तव्यमा पुग्न सकिन्छ। तर, नेपालमा चालकहरू के–के छोपौंलाजस्तो गरी अन्धाधुन्ध गाडी हाँक्छन्।

दुर्घटनाको प्रमुख कारण नै तीव्र गतिलाई लिइने गरिन्छ। दुर्घटना आकस्मिक हुने भए पनि लापरबाहीका कारण दिनहुँ घटना घटिरहेका छन्। मोटरसाइकलको यात्रा सबैभन्दा जोखिमपूर्ण मानिन्छ।

दिनहुँजसो मोटरसाइकल पल्टिएका, ठोक्किएका, बसले ठक्कर दिएका समाचारहरू आउने गरेका छन्। मोटरसाइकल दुर्घटनामा परी अकालमा ज्यान गुमाउनेको संख्या बढ्दै जानु विडम्बनाको कुरा हो। त्यसमा पनि युवा नै बढी छन्।

यात्राका लागि सहज मानिने र मोटरसाइकलको यात्रा जोखिमपूर्ण रहेको पछिल्ला दुर्घटनाले साबित गरेका छन्। पछिल्लो समयमा भएका दुर्घटनालार्ई विश्लेषण गर्ने हो भने मोटरसाइकलको यात्रा असुरक्षित बन्दै गएको पाइन्छ।

मोटरसाइकल दुर्घटनाको मुख्य कारण तीव्र गति रहने गरेको प्रहरी अनुसन्धानले पुष्टि गरिसकेको छ। युवापुस्ताले अन्धाधुन्ध बाइक कुदाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, भीडभाड र गाडीको चापलाई ख्याल नगर्ने, सडकको स्थिति विचार नगरी जथाभावी बाइक दौडाउने गर्दा दुर्घटना निम्तिने गरेको छ

। पछिल्लो समय चालकको लापरबाहीले गर्दा दुर्घटना बढिरहेकोमा दुईमत छैन। ट्राफिक प्रहरीले ट्राफिक सचेतना र चेकजाँचको गतिविधि दैनिकरूपमा सञ्चालन गर्दै आएको छ। तर, दुर्घटना हुने क्रम भने न्यूनीकरण भएको छैन।

दुर्घटनामा हेल्मेट नलगाउने, हेल्मेटको लुपी नकस्ने, मादक पदार्थ सेवन गरी मोटरसाइकल हाँक्ने, सडक र सवारीको हेक्का नगरी जथाभावी दौडाउने प्रवृत्तिमा सुधार नगर्ने हो भने अरू थुप्रै मान्छेले अकालमा ज्यान गुमाउनेमा कुनै द्विविधा छैन। हेल्मेट लगाउनु आफ्नै सुरक्षाका लागि हो।

अझै पछाडि बस्नेले पनि हेल्मेट लगाउने हो भने धेरैको ज्यान जोगिन सक्छ। सबैले अपनाउन सकिने सानातिना कुराहरूमा हेक्का राख्दा अमूल्य जीवन जोगाउन सकिन्छ।

सडक अनुशासन भनेको ट्राफिक नियमको पालना गर्नु हो। ट्राफिक नियमको सही कार्यान्वयन हुने ठाउँमा दुर्घटना पनि कम हुन्छ।

मोटरसाइकल अधिकांश मानिसको अनिवार्य आवश्यकताको साधन बनिसकेको सन्दर्भमा यसको समुचित प्रयोग गरेर दुर्घटना न्यूनीकरण गर्नेतर्फ ध्यान दिनु आवश्यक देखिएको छ। प्रहरीले पनि यस विषयमा चनाखो हुनुपर्ने देखिन्छ।

– प्रिति कँुवर।
काठमाडौं