अवैध लागूऔषधसहित ५ पक्राउ


नवलपरासी । देवचुली नगरपालिका १५ धौलागिरी चोकबाट नियन्त्रित लागूऔषध फेनरागन ३० एम्पुल, नोर्फिन ३० एम्पुल र डाइजेपाम ३० एम्पुलसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की लेखनाथ महानगरपालिका २७ बस्ने ३२ वर्षीय डेबिड क्षेत्री र लेखनाथ महानगरपालिका ३२ बस्ने २४ वर्षीय कुमार खडका रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले भैरहवाबाट बेनी म्याग्दीतर्फ जाँदै गरेको लु।१ ख ७३९३ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै सप्तरीको राजविराज नगरपालिका ८ स्थित अवैध लागूऔषध गाँजासहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । करिब ५० ग्राम गाँजा र नियन्त्रित लागूऔषध नाइट्रोभेट १४ ट्याब्लेट सहित कंचनपुर नगरपालिका १० बस्ने नागेश्वर चौधरी समेत ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले स।१० प १८१३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेकामाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।