छुट्टाछुट्टै स्थानबाट अबैध लागूऔषधसहित ४ पक्राउ


सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ४ खोर्केलाईनबाट एक युवकलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २४ वर्षीय शुक्रराज सारु मगर रहेको प्रहरीले जनाएका छ । सारुलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ ९ सय २० मिलिग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा घरभित्र चुरोटको बट्टामा लुकाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस्तै सर्लाही, बरहथवा नगरपालिका ९ झुलुङ्गे पुलबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका २ बस्ने २४ वर्षीय महेशकुमार गौतम रहेको प्रहरीले जनाएको छ ।

गौतमलाई १० किलो गाँजासहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले ना ३० प ७४३० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सर्लाही, मलंगवा नगरपालिका ८ गोरखकालीबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ५ सय ट्याब्लेट र डाइजेल्याप ६ एम्पुल सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १६ बस्ने संखुवासभा खाँदवारी नगरपालिका ७ का विपिन थापामगर र काठमाडौं टोखा नगरपालिका ३ गोंगवु बाँनियाटार हाइट बस्ने १९ वर्षीय सुमन कार्की रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतको सोनबर्षाबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।

पक्राउ परेका माथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।