घुक्र्याउने पार्टी


सरकारमा रहेर पनि सत्तापक्षीय र प्रतिपक्षी दलझैं देखिन्छ संघीय समाजवादी पार्टी। डा. बाबुराम सधंै सरकारको विरोध गर्छन् उनको तर्क सुन्दा लाग्छ सो पार्टी प्रतिपक्षी रै’छ।

सोही पार्टीका अर्का नेता उपेन्द्र यादव विरोध गरेझैं गर्छन् तर सरकार छोड्ने माम्लामा भने उनको ढुलमुले नीतिले गज्जब काम गर्या छ, मन्त्री पद सुरक्षित छ।

सरकार आफ्नो पार्टीको एजेन्डाप्रति गम्भीर भएन, अधुरो संविधान मान्दैनौं भन्दै सरकारलाई धम्की द्याझैं गर्ने तर मन्त्री नछोड्ने उनको ढुलमुले नीति खुब फाब्या छ, देश विदेश डुल्याडुल्यै छन्।

यादव अब फेरि राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जाँदै छन्। उपप्रधानमन्त्रीसमेत रहेका यादव परराष्ट्रमन्त्री ज्ञवालीले नेतृत्व गर्ने भ्रमण टोलीका सदस्यका रूपमा सहभागी हुने भनेसी उनको कुर्ची मोह कस्तो रै’छ भन्ने कुरो घामझैं छलंग हुन्छ।

सधैं घुक्र्याउने बानी पर्या डा. भट्टराई अझै सरकारलाई घुक्याइ रा’छन्। ‘दशैंपछि चेतावनी दिएर सरकार छोड्छौं’ –पूर्व कम्रेड भट्टराईको पछिल्लो तर्क यस्तै आएको छ।

अमेरिका उड्ने यादवले अमेरिका भत्ता र यता मन्त्री पदको दशैंभत्ता राम्रै पड्काऊन्, आफू र पार्टीलाई राम्रै दानापानी जुटाऊन् भन्ने शुभकामना पो हो कि ?

उनको पछिल्लो धम्कीलाई धरहराले भने यसरी नै बुझ्या छ है पाठकवृन्द। अनि नेताज्यूहरू घुक्याइरहने भएसी बरु पार्टीको नामै बदलेर ‘घुक्र्याउने पार्टी’ राखे कसो होला ?