मङ्गलबारदेखि पाइपलाइनबाट नियमित रुपमा तेल आउने, वार्षिक ८० करोड बचत हुने



न्युज अफ नेपाल, काठमाडौं ।
मङ्गलबार नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीले औपचारिक रूपमा पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन लगत्तै पाइपलाइनबाट नियमित रुपमा तेल आउनेछ ।

स्रातका अनुसार भारत र नेपालका प्रधानमन्त्रीले एकैपटक स्वीच थिचेर उद्घाटन गर्नेछन् भने अमलेखगञ्जमा निगमका कार्यकारी निर्देशकले डब्बा (भाँडो) थापेर उद्घाटन गर्नेछन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निवासबाट स्वीच थिचेर डिजल सेन्ड गर्नुहुन्छनेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट स्वीच थिचेर रिसिभ गर्ने कार्यक्रम रहेको बताइएको छ ।

कम्प्युटरकै माध्यमले पाइपलाइन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम राखिएको छ । पेट्रोलियम पाइपलाइनलको क्षमता दैनिक २० घण्टासम्म संचालन हुन सक्ने बताइएको छ ।

दैनिक रूपमा ३० हजार किलोलिटर तेल पाइपबाट आउँछ। पाइपलाइनबाट तेल आएको दिनदेखि नै बजारमा पठाइने आयल निगमका कार्यकारी निर्देशक पौडेलले जानकारी दिए।

पौडेलका अनुसार पाइपबाट ल्याइएको तेल सुरूमा प्रमुख शहर काठमाडौं, पोखरा र अमलेखञ्जमा पठाइन्छ। पछि विस्तारै देशभर फैलाउने निगमको तयारी रहेको छ ।

अहिले २५ सय किलोलिटर तेल पाइपमा भरेर राखिएको छ। अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की राखिएका छन्। ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की छन्।

ती ट्याङ्कीमा तेल भरेर राखिएको छ। पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि ढुवानीमा वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने निगमले जनाएको छ।

मंगलबारदेखि पाइपलाइनबाट नियमित डिजल आउने भए पनि पेट्रोल आउन भने अझै करिब १ वर्ष लाग्ने निगमले जनाएको छ ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म (६९.५) किलोमिटर नयाँ पाइपलाइन बिछ्याइएको हो। नयाँ पाइपलाइनमध्ये भारतमा ३२.२५ र नेपालमा ३७.२५ किलोमिटर पर्दछ।

परियोजनाका लागि भारतीय आयल कर्पोरेशनले २ सय करोड (भारू) अनुदान दिएको छ। नेपाल तर्फबाट ७५ करोड लगानी गर्ने निगमले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्