मातृवत् परदारेषु श्रीराम


रावण पुत्र मेघनाद अत्यन्त बलशाली थियो र स्वर्गका राजा इन्द्रलाई समेत युद्धमा परास्त गरेकोले उसलाई इन्द्रजीत पनि भनिन्थ्यो । दिव्य १२ वर्ष सम्म केही नखाई कत्ति नसुती इन्द्रियलाई वशमा गर्ने पुरुषले मात्र उसलाई मार्न सक्ने शिवजीको वरदान थियो ।

लक्ष्मणसंगको भीषण युद्धमा उसले वीरगति प्राप्त गर्यो र उसको शिर रामका पाउमा र हात दरबारमा पत्नी सुलोचनाको अगाडि गिर्न पुग्यो । सुलोचनाले अत्यन्त विषाद गर्दै “म मन, वचन र कर्मले अखण्ड पतिव्रता धर्ममा बसेकी रहेंछु भने यो हातले सब हाल खुलस्त लेखोस् ! भन्ने बित्तिकै हातले सबै वृतान्त लेखेर बतायो ।

अब सती जान पत्नी सुलोचनालाई पति इन्द्रजीतको शिर चाहिने भयो र उनले ससुरा रावणसंग यसको माग गरिन् । कुलवधुलाई कुनै पनि अवस्थामा परपुरुषसंग र खासगरी युद्धका बखत शत्रुका शिविरमा पठाउनु मर्यादा भित्र पर्दैन । अझ रावण धुरन्धर विद्वान र चारै वेदको ज्ञाता समेत थियो । रावणलाई कठिनाइ अवश्य भयो तर उसले सुलोचनालाई यही निवेदन लिएर रामसंग जान भन्यो ।

सुलोचना अत्यन्त सुन्दर, सुशील र मर्यादामा रहेकी स्त्री थिइन् । फेरि युवा अवस्थाका पतिको मृत्युले उनी अत्यन्त विह्वल र विचलित पनि थिइन् । उनलाई यस्तो अवस्थामा रामसंग जान स्वभावैले संकोच भयो । रावणले थप्यो ( म रामलाई शत्रु मान्छु तर राम मलाई शत्रु मान्दैनन्) ।

अझ सबै परस्त्रीलाई उनी माता समान आदर गर्छन् (मातृवत् परदारेषु !) । मेरो मनले भन्छ ( शत्रु होस् त राम जस्तो । ढुक्क भएर जाऊ ! कुनै अनर्थ हुँदैन । रामले ससम्मान तिमीलाई इन्द्रजीतको शिर दिई पठाउने छन् । सुनीति, सद्गुण र सद्धर्मलाई शत्रुले पनि सम्मान गर्न कर लाग्दो रहेछ !

बाबुलाल भण्डारी