डेंगु नियन्त्रणमा प्रदेशले सहयोग गरेन 


न्यज अफ नेपाल, हेटौंडा । प्रदेश–३ सरकारको मुख्यालयसमेत रहेको हेटौंडामा फैलदोँ क्रममा रहेको छ । प्रदेश सरकारले डेङगु नियन्त्रणमा सहयोग नगरेको गुनासो नगरपबलिकाले गरेको छ । यसरी फैलँदो क्रममा देखिएको डेंगु नियन्त्रणमा प्रदेशको सहयोग नपाएर एक्लै अगाडि बढेको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले चुनाबका बेलामा सधैं देखिने दलका भ्रातृ संगठनहरु हेटौंडामा डेंगु नियन्त्रण गर्ने अभियानमा नदेखिएको भन्दै गुनासो गर्नुभएको हो ।

प्रदेश र नगरपालिकाबीचको समन्वय अभावका कारण हेटौंडामा डेंगु नियन्त्रणको प्रयास सफल हुन नसकेको हो । स्थानीय स्वास्थ्यकर्मी नै भन्छन्–प्रदेश र पालिकाबीच समन्वय नहुँदा डेंगु नियन्त्रण हुन सकेको छैन ।
हेटौंडाहुँदै दैनिक सयौं सवारीसाधन राजधानी काठमाडौं जाने भएकोले हेटौंडामा फैलिएको डेंगुको प्रत्यक्ष प्रभाव काठमाडौंमा पनि पर्नसक्ने र यसले काठमाडौंमा बस्दै आएका नागरिकको स्वास्थ्य अवस्था भयाबह बनाउनसक्ने देखिन्छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा एडिज नामक लामखुट्टेको बिगबिगी छ । पछिल्लो तीन महिनामा काठमाडौं उपत्यकामा डेंगुका ११ जना बिरामी देखिएका छन् । असार, साउन र भदौमा गरी ११ जना बिरामी भेटिएका हुन् । उपत्यकाभर नै डेंगु सार्ने लामखुट्टे भए पनि बानेश्वर, तीनकुने र ताहचल क्षेत्र उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

हेटौंडा र काठमाडौंको भावी जोखिम न्यून गर्न डेंगु जाँच गर्ने किट आवश्यक मात्रामा खरिद गर्न नगरपालिका तयार रहेको बताउँदै मेयर महतले भन्नुभयो–किटको अभावका कारण डेंगु परीक्षणमा समस्या नहुने वातावरण बनाउँदैछौं ।
‘संघीय र प्रदेश सरकारको मुख ताक्नु भन्दा नगरपालिका आफैं नगरवासीको स्वास्थ्यप्रति संवेदनशील बन्नुपर्छ भनेर निरन्तर लागिरहेका छौं,’ उहाँले डेंगुका बिरामीलाई उपचार अभाव हुन नदिइने बताउनुभयो ।

तर, काठमाडौंको टेकु अस्पतालमा उपचाररत् बिरामी धेरैजसो हेटौंडाका छन् । डेंगुले गर्दा हेटौंडाका सबैजसो अस्पताल तथा मेडिकलमा बिरामीको चाप बढेको छ । ती बिरामी काठमाण्डौं गएका छन् ।

सुनौलो भविष्य स्वास्थ्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित मकवानपुर सहकारी अस्पतालको दशौं वार्षिक साधारणसभाको शनिबार हेटौंडामा उद्घाटन गर्दै उहाँले डेंगु नियन्त्रणका लागि नगरपालिका सजग र सचेत रहेको स्पष्ट पार्नुभयो । एक महिना अघिदेखि हेटौंडामा डेंगु देखा परे पनि नगरपालिका र वडा कार्यालयहरुको प्रयासबाट बिरामी बढ्न नदिइएको उहाँको दाबी छ ।

पूर्वी नेपालबाट चितवन हुँदै मकवानपुरमा डेंगुको महामारी फैलिएको छ । साउन मसान्त र भदौ पहिलो हप्तासम्म तीन जनाको ज्यान जाँदा डेंगुबाट प्रभावित हुने बिरामीको संख्या चार हजार नाघेको छ । प्रदेश–३ मा ५ सय ५९ जना नागरिकमा डेंगु संक्रमण देखिएको छ । प्रदेशगतरुपमा हेर्ने हो भने संक्रमणको तथ्यांकको दोस्रो नम्बर छ प्रदेश–३ । डेंगु संक्रमण फैलिएपछि प्रदेश–३ मा २ जनाको मृत्यु भइसकेको छ ।

प्रकोप बढी देखिएको हेटौंडा–४, कमलडाँडामा लामखुट्टे नियन्त्रणका लागि अभियान चलाउँदा केही स्थानीय र टोल सुधार समितिका सदस्य बिरामी परेका थिए । कमलडाँडाकी मौसमी श्रेष्ठ डेंगु नियन्त्रणका लागि घरदैलो अभियान चलाइए पनि प्रभावकारी हुन नसकेको बताउनुहुन्छ ।

डेंगुको प्रकोप फैलिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ पहिलो हप्ता सरोकारवालाको बैठक बोलाएको थियो । बैठकमा प्रदेशका क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख सहभागी थिए । बैठकले डेंगु नियन्त्रणका लागि प्रदेश र पालिकालाई साथमा लिएर अभियान चलाउने निर्णय गरेको थियो । तर, डेंगु नियन्त्रण हुनुको साटो बिरामी बढ्न थालेपछि स्वास्थ्य अधिकारी चिन्तित छन् ।

डेंगु नियन्त्रणका लागि अभियान निरन्तर चलाइएको वडा नम्बर–४ का अध्यक्ष नवीन सिग्देल बताउनुहुन्छ । मेयर हरिबहादुर महतको नेतृत्वमा वडाध्यक्ष, वडा सदस्य, कर्मचारी, टोल विकास संस्थाका सदस्य अभियानमा लागेका छन् । तर, नगरको मात्र प्रयासले सम्भव नदेखिँदा डेंगुप्रभावितले प्रदेश सरकार भएको अनुभूति गरेका छैनन् ।

डेंगु नियन्त्रणका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत् प्रदेश स्वास्थ्य निर्देशनालयले औपचारिक कार्यक्रमबाहेक केही नगरेको स्थानीयको गुनासो छ । पत्रकार र शिक्षकसँगको अन्तत्र्रिmयामा प्रदेश सरकार सीमित देखिएको छ ।

प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले हेटौंडामा नियन्त्रण कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन भइरहेको दाबी गर्नुभयो । विद्यालय, स्वास्थ्यक्षेत्र र सुरक्षा निकायलाई डेंगु नियन्त्रणका लागि आग्रह गरिएको उहाँले बताउनुभएको छ ।

डेंगु नियन्त्रण, महामारी कम गराउने दायित्व प्रदेश सरकारको पनि हो । प्रदेश सरकार मातहत स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय र हेटौंडा अस्पताल छन् । हेटौंडा उपमहानगरमातहत स्वास्थ्यचौकी मात्र पर्छन् ।
डेंगु लागेपछि ज्वरो, रुघाखोकी लाग्ने, खान मन नलाग्ने, जीउ दुख्नेजस्ता लक्षण देखा पर्छन् । डेंगु लागेपछि समयमै स्वास्थ्य संस्था नगए बिरामीको मृत्युसमेत हुनसक्छ । दिउँसोपख लामखुट्टेले टोक्दा डेंगु लाग्ने हुँदा बाहुला भएको लुगा लगाउनुपर्छ भने घरमा झुलभित्र बस्न सुझाइएको छ ।