हडपेको ९ महिनापछि संस्थाकै नाममा आयो १ करोडको घर जग्गा

0
Shares

सरोज यादव, मोरङ । स्थानीयको निरन्तर आन्दोलन पछि मोरंगको बेलबारी २ लालभित्तिमा रहेको साहारा बालग्रामको व्यक्तिको नाममा गएको जग्गा पुनः सहाराकै नाममा फिर्ता भएको छ ।

सामाजिक संस्थाको जग्गा व्यक्तिको नाममा गएको थाहा भएपछि स्थानीयहरु आन्दोलित भएर विरोधका चरणवद्ध कार्यक्रमहरु अगाडि वढ्दै गएपछि उक्ता जग्गा संस्थाकै नाममा फिर्ता भएको हो । सहाराको नाममा रहेको १ विगाहा ८ कट्ठा ३ धुर जग्गा खरिद गरेका इटहरीका व्यवसायी डम्बरबहादुर तामाङले शुक्रबार दिउँसो सहाराको नाममा जग्गा फिर्ता गरिदिएका हुन् । सहराको नाममा जग्गा फिर्ता गर्ने प्रकृयाका लागि सहाराको तर्फबाट प्रतिनिधी बनेर भिमराज बस्नेत मालपोत कार्यालय बेलबारी पुगेका थिए ।

सहाराका तर्फबाट १ करोड रुपैयाँको मुल्य कायम गरेर जग्गा किन्ने निर्णय पुस्तिका र प्रतिनिधि तोकिएको पत्रका आधार प्रकृया अघि बढाइएको थियो । जग्गा फिर्ता प्रकृयाका लागि लाग्ने आवश्यक कर छुटका लागि बेलबारी नगरपालिकाले पत्र समेत लेखिदिएको थियो । नगरपालिकाको पत्रको आधारमा १ करोड मुल्यांकनको सो जग्गाको लाग्ने जम्मा करमा ५० प्रतिशत छुट गरी २ लाख रुपैयाँ राजस्व समेत बुझाइएको छ । सो राजस्व पनि व्यवसायी डम्बर तामाङले नै तिरेका छन् ।

गत २०७५ मंसिरमा जिल्ला अदालतको आदेशका आधारमा तामाङको नाममा गएको जग्गा ९ महिनापछि पुनः संस्थाकै नाममा आएको हो । सहाराको नाममा फिर्ता भएका ६ वटा टुक्राका जग्गाहरुको कित्ता नम्बर पुरानै रहने भएका छन् । नेकपाका नेता एवम् पुर्वसांसद हर्कमान तामाङ,सहाराका वर्तमान अध्यक्ष शिवप्रसाद बराल लगायतको मिलेमतोमा सहाराको जग्गा डम्बरबहादुर तामाङको नाममा गएको थियो ।