रविविरुद्ध अदालतको मानहानी गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दर्ता

0
Shares

कञ्चनपुर । अदालतको मानहानी गरेको भन्दै सञ्चारकर्मी रवि लामिछाने, उनले कार्यक्रम सञ्चालन गर्ने न्यूज २४ र निर्मला घटनामा अनुसन्धानमा लापरवाही गरेको भन्दै बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी विरुद्ध मुद्धा दर्ता भएको छ ।

जिल्ला अदालत कञ्चनपुरमा उनीहरु विरुद्ध दिलिप बिष्टका दाई खड्क बिष्टले मुद्धा दर्ता गरेका हुन् । सिधा कुरा जनतासंग कार्यक्रममा मुद्धा चलिरहेको अवस्थामा बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक जिसीको अन्तरवार्ता लिएर अदालतको मानहानी गरेको भन्दै मुद्धा दर्ता गरिएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तदार हरिकृष्ण अवस्थीले बताए ।

‘आईतवार सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा छ’ अवस्थीले भने, ‘सोमवार उक्त निवेदन न्यायधिस समक्ष पेश हुन्छ, त्यसपछि मात्रै उक्त मुद्धाको प्रक्रिया अगाडी बढ्ने छ ।’ सिधा कुरा जनता संग कार्यक्रममा बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक जिसीले निर्मला पन्तको बलात्कारपछि हत्यामा सत प्रतिशत दोषी दिलिप विष्ट नै भएको ठोकुवा गरेका थिए ।