पूर्वसांसद गुप्तासहित पाँच जनालाई १० वर्ष जेलसहित १ लाख जरिवाना


ललितपुर । उच्च अदालत पाटनले सद्भावना पार्टीका नेता श्यामसुन्दर गुप्तासहति पाँच जनालाई १० वर्ष कैदका साथै १ लाख जरिवाना गर्ने फैसला सुनाएको छ । जिल्ला अदालतको फैसला उल्टाउँदै उच्‍च अदालतले गुप्तासहित अमिर आचार्य, आकाश लामा, जीतबहादुर गोले भनिने विकास लामा र किशोर पाण्डेलाई दोषी ठहर गरेको छ ।

न्यायाधीशद्वय गुणराज ढुङ्गेल र टेकराज ढुङ्गानाको इजलासले व्यापारी पवनकुमार संघाईको अपहरणमा संलग्न रहेको भन्‍दै फैसला सुनाएको हो । गुप्ता जिल्ला अदालतले सुनाएको सजाय भुक्तान गरी २०७० साउन २ गते रिहा भएका थिए ।

गुप्तामाथि व्यापारी पवनकुमार संघाईलाई अपहरण गरी २० दिनसम्म काभ्रेमा बेपत्ता पारी राखेको र ८५ लाख रूपैयाँ लिएर मुक्त गरेको अभियोग लागेको थियो । गुप्तामाथि २६ माघ ०६८ मा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले १७ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ता गरेको थियो।