सामुदायिको तिज विशेष कार्यक्रममा अभिमुखिकरण गोष्ठी


न्युज अफ नेपाल, काभ्रे ।

पर्दैन गाह्रो तिज खर्च धान्नलाई
वचत गरौं चाँड पर्व मान्नलाई

सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. पनौती ४, टौखालले विगतका वर्षहरुमा भन्दा फरक तरिकाले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको रजत वर्ष तथा हरितालिका तिज २०७६ को अवसरमा संस्थाको मुख्य कार्यालयको तालिम हलमा आयोजित महिला सशक्तिकरण सम्बन्धी एकदिने अभिमूखिकरण गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा संस्थाका ८० जना महिला सदस्यहरुको सहभागीता रहेको थियो भने पनौती नगरपालिकाका उपप्रमुख श्री गिता बन्जारा प्रमुख अतिथि र पनौती नगरपालिकाका कार्यपालिका सदस्य चण्डिका परियार अतिथि रहनुभएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष प्रकाश बन्जारा, उपाध्यक्ष कुमार प्रसाद लामिछाने, सचिव श्री मुकुन्द शर्मा, कोषाध्यक्ष प्रताप ताम्राकार लगायत संस्थाका सञ्चालक सदस्यहरु, लेखा समितिका सदस्यहरु र उपसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा संस्था लेखा समिति सदस्य मिना श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो साथै कार्यक्रम संस्थाका सञ्चालक सदस्य मनिका शाक्यले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रम सामुदायिक साकोसका महिला विकास उपसमितिका संयोजक श्री जमुना सापकोटाको सभापतित्वमा सन्पन्न भएको थियो । कार्यक्रममा पनौती नगरपालिकाका उपप्रमुख श्री गिता बन्जाराले प्रमुख अतिथिको मन्तव्यका क्रममा सहकारीको भिडमध्येबाट एउटा मात्र सहकारीको छनौट गर्नुपर्दा म पनि सामुदायिक नै रोज्छु र अरुलाई पनि सामुदायिक नै छनौट गर्न अनुरोध गर्दै सामुदायिकलाई स्थापनाकाल देखि नै चिने जानेको र यसका वस्तु तथा सेवा सदस्य मैत्री भएको भन्दै २०७६ सालको तिजको सम्पूर्ण दिदी बहिनीहरुलाई शुभकामना ब्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष बन्जाराले कार्यक्रममा बोल्दै “पर्दैन गाह्रो तिज खर्च धान्नलाई, वचत गरौं चाँड पर्व मान्नलाई” भन्ने मूल नाराका साथ २०६५ सालबाट तिजलाई भड्कीलो र तडक भडक भन्दा भिन्न तरिकाले वचतको ब्याजबाट तिज मनाउनु पर्छ साँवा मास्नु हुन्न भन्ने उदेश्यका साथ तिज विशेष वचत सहित शुरुवात गरेको बताउदै संस्थाले हरेक वर्ष तिज कार्यक्रम भिन्दा भिन्दै तरिकाबाट मनाउँदै आएको बताउनु भयो । यस वर्ष जिल्ला प्रशासन कार्यालयको सूचना समेतलाई सम्बोधन गर्दै महिलाहरुको क्षमता विकासका लागि प्रशिक्षक रमिला हुमागाईको सहजीकरणमा एक दिने गोष्ठी आयोजना गरेको र संस्थाले विगत देखि नै महिला हक अधिकारका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको उहाको भनाई थियो ।

अध्यक्ष वञ्जाराले संस्थाले समावेशीकरणलाई विशेष जोड दिंदै संस्थाको सञ्चालक र लेखा समितिमा ३३ प्रतिशत महिला रहने ब्यवस्था गर्दै आएकोमा गत वर्षको विनियम संशोधनबाट महिला उपाध्यक्ष समेत रहने ब्यवस्था गरिएको जानकारी गराउँदै तिजको शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको अवस्था र संस्थाले सदस्यहरुलाई उपलब्ध गराउँदै आएका सेवाहरुको बारेमा विस्तृत रुपमा जानकारी गराउनु भएको थियो भने सहजकर्ता रमिला हुमागाईले नेपालको संविधानमा महिलाहरुको अधिकार, महिला हिंसा, लैङ्गिक समानता, महिलाहरुको नेतृत्व विकासका विषयमा सहजीकरण गर्दै महिलाहरु आफैं सक्षम र सवल बन्नका लागि योजना बनाएर लाग्नुपर्ने विषयलाई जोड दिंदै कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

विगतमा संस्थाले तिज विशेष खातामा वचत गर्ने सदस्यहरुलाई तिज उपहार स्वरुप कुनै वर्ष महिलाहरुको सौभाग्यको सामाग्री, कुनै वर्ष छाता, कुनै वर्ष मोवाईल पर्स उपलब्ध गराउदै आएकोमा यस वर्ष वचत रकमको आधारमा कम्तिमा १ कित्ता शेयर थप गरी प्रमाण पत्र उपलब्ध गराएको छ । कार्यक्रममा सहभागी सदस्यहरुले संस्थाले अन्य सामाग्रीहरु भन्दा शेयर थप गरी प्रमाण पत्र उपलब्ध गराएकोमा धेरै खुसी भएको अभिव्यक्ति ब्यक्त गरेका थिए ।