दर खान गएका महिला कानुन पढेर फर्किए

0
Shares

न्युज अफ नेपाल, काभ्रे । बनेपा नगरपालिकाले तीजको अवसर पारी नगर भित्रका महिलाहरुलाई मुलुकी देवानी संहिता २०७४ का बारेमा कानुनी सचेतना अभिबृद्धी गराएको छ । ‘मुलुकी संहिताले महिलाहरुलाई अधिकार सम्पन्न बनाएको छ’–एसपी जयराज सापकोटाले भन्नुभयो ।

नगर प्रमुख लक्ष्मीनर सिं बादेले महिलाहरुले अधिकारसँगै कर्तब्य पुरा गर्दा गर्दै पनि पीडित बन्नु परेको बताउनु भयो । ‘पहिले जस्तो अहिले छैन’–प्रमुख लक्ष्मीनरसिं बादेले भन्नुभयोे–‘तपाईहरु सक्रिय हुँदा पुरुषहरुले हेप्न र हिंसा गर्न सक्ने अवस्था रहँदैन ।’ नगरपालिकाले हरेक वर्ष आफ्ना नागरिकहरुका लागि मुलुकमा निर्माण भएका कानुन र कानुनले गरेका ब्यवस्था तथा अधिकारका बारेमा सचेतना अभिबृद्धी कार्यक्रम राख्दै आएको नगर प्रमुख बादेले बताउनु भयो । उपप्रमुख रेखा सापकोटा दाहालले स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारले अलग अलग कानुन बनाए पनि संहिता कानुन अपराध नियन्त्रणका लागि महत्वपूर्ण भएकाले सबैले जान्नु पर्ने बताउनु भयो । ‘कानुन नागरिक मैत्री छछ, त्यसको प्रयोग सहि हुनु प¥यो’–उपप्रमुख सापकोटाले भन्नु भयो–‘अपराधजन्य घटना बाहेक न्यायिक समितिले हेर्ने उजुरीहरुका कारण पनि अपराध न्यून हुँदै गएको छ ।’ अपराधमा महिलाहरुको अवस्था र संलग्नतासँगै रोकथामका लागि नगर सरकारले खेल्नु पर्ने भूमिका नागरिकलाई जानकारी गराउन कानुनी सचेतना कार्यक्रम हरेक वर्ष तीजको अवसरमा राखिएको उहाँले बताउनु भयो । तीजको अवसरमा उक्त कार्यक्रम आयोजना गर्दा महिलाहरुको उल्लेख्य सहभागिता रहने उपप्रमुख सापकोटाले बताउनु भयो ।


कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख मञ्जु गौतमले धर्म र संस्कृतिको जगेर्ना गर्न तीजको महत्व रहेको बताउँदै कानुनको साक्षरताले मुलुक समृद्ध हुने र समाजमा अपराध न्यून हुने बताउनु भयो । कार्यक्रममा संविधान सभा सदस्य शिला कतिला, सहायक प्रजिअ लक्ष्मीदेवी शर्मा हुमागाई, सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य शान्ता न्यौपाने लगायतले कानुन कार्यान्वयनका बारेमा सबै पक्ष सक्रिय हुनु पर्ने बताउनु भयो । एसपी जयराज सापकोटाले मुलुकमा भईरहेका अपराधका घटनामा महिलाहरुलाई पीडित बनाउन विभिन्न पक्षबाट खेलिएको भूमिका र कानुन मार्फत दिएको न्यायका बारेमा बताउनु भयो । श्रीमान र श्रीमतीको झगडामा महिला सहनशिल भएकै कारण पटक पटक श्रीमानबाट अपहेलित र कुटपिटमा पर्नु परेको बताउनु भयो । जिल्लामा महिला पीडितका १ सय १६ घटना भएका छन् । एक वर्षमा घटेका उक्त घटना अघिल्लो वर्षको तुलनामा उल्लेख्य कमि हो । अघिल्लो वर्ष २ सय ३१ वटा घटना भएको तथ्याङ्क प्रहरी रेकर्डमा उल्लेख छ ।

न्यायिक समितिको सक्रियता, प्रहरी समुदाय परिचालन कार्यक्रम र सचेतना कार्यक्रम महिला हिसा कम हुनुको मुख्य कारण हो । श्रीमान/सौताका कारण ६६ वटा घटना भएका छन् भने देवर जेठाजुका कारण १० वटा घटना भएका छन् । सासु र ससुराका कारण ३५ वटा घटना भएका छन् भने परिवारबाट १७ वटा घटना भएका छन् । श्रीमान श्रीमतीका कारण ४३ वटा घटना भएका छन् भने अन्यबाट २५ वटा घटना भएका छन् । एक वर्षको अवधीमा जिल्लामा भएका ५ सय ६० वटा अपराधका घटनामा १९६१ जना सहभागि भएका छन् । जस मध्ये १८ सय ५१ जना पुरुष र १ सय १० जना मात्रै महिला छन् ।