एनआरएनए पोर्चुगलको नेतृत्वमा काँग्रेसको वाहुल्य


दीपेन्द्र गजुरेल, स्पेन । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको नेतृत्वसहित अधिकांश पदमा नेपाली काँग्रेस निकटका उम्मेदवार विजयी भएका छन् ।

संघको सातौं अधिवेशनबाट परिषद् सदस्यमा रविन अधिकारी र नारायणकाजी मगर निर्वाचित भएका छन् भने संयुक्त गठबन्धनका गोविन्द सापकोटा र धन शेर्पा पराजित भए । सन् २०१९–२०२१को कार्यकालका लागि अध्यक्षमा काँग्रेसका उम्मेदवार तिलकप्रसाद  गैरेले तीन मतको झिनो अन्तरले संयुक्त गठबन्धनका उम्मेदवार इश्वर रिजाललाई पराजित गरे ।

त्यस्तै, बरिष्ठ उपाध्यक्षमा पनि काँग्रेसका भिमसेन थापा चुनिएका छन्, उनले गठबन्धनका उम्मेदवार आनन्द गुरुङलाई हराए । दुई उपाध्यक्षमा पनि काँग्रेसकै अशोक गुरुङ र मच्छिन्द्र अर्याल  निर्वाचित भएका छन् ।  गुरुङ र अर्यालले गठबन्धनका पेमाछिरी शेर्पा र स्वतन्त्र उम्मेदवार गणेश पाण्डेयलाई पराजित गरे ।

महासचिवमा भने संयुक्त गठबन्धनका हेमराज सुबेदी चुनिएका छन् उनले कांग्रेसका उम्मेदवार प्रकाश कडरियालाई पराजित गरे ।  कोषाध्यक्षमा काँग्रेसका बिक्रमजङ कुँवर र युवा संयोजकमा काँग्रेसकै दिनेश भण्डारी बिजयी भएका छन् ।

अधिवेशन अघि नै महिला उपाध्यक्षमा सीता श्रेष्ठ, महिला  संयोजकमा सुशीला थापा, सचिवमा यामिन्द्र घर्ती र प्रकाश ढकाल तथा सह कोषाअध्यक्षमा तिलक कँडेल निर्विरोध निर्वाचित भएका थिए । कार्यसमितिका १५ सदस्य पनि निर्विरोध चुनिएका छन् ।

आइतवार सम्पन्न अधिवेशनमा काँग्रेस एक्लै प्यानल बनाएर निर्वाचनमा होमिएको थियो भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा), आदिवासी जनजाती महासंघ तथा समाजवादी पार्टीले छुट्टै गठबन्धन बनाएका थिए । पोर्चुगलमा शीर्ष नेतृत्व सहित यति धेरै पदमा निर्वाचन भएको पहिलो अभ्यास हो ।

मतगणनापछि आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता बीरबहादुर बलायरले निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र प्रदान गरे । संघका अन्तर्राष्ट्रिय परिषद् उपाध्यक्ष कुल आचार्यले सपथ गराए । नवनियुक्त पदाधिकारीलाई निर्देशन दिदै नेता बलायरले राजनीतिक आस्थाका आधारमा नभई नेपाली पन र सेवा भावका आधारमा काम गर्न सुझाए  । गैर आवासीय नेपालीको साझा समस्या समाधानका लागि सरकार र पार्टीले लिनुपर्ने नीतिका बारेमा सुझाव दिन उनले आग्रह गरे ।

त्यस्तै, संघका उपाध्यक्ष आचार्यले गैर आवासीय नागरिकले अघि सारेका  नागरिकता र अन्य समस्याबारे संघले गरिरहेका प्रयासबारे जानकारी  दिए । त्यसैगरी पोर्चुगलका लागि नेपाली अबैतनिक वाणिज्यदूत मकर हमालले नयाँ नेतृत्वलाई बधाई दिदै समस्या   समाधानका लागि एकजुट हुन आग्रह गरे ।

सोही कार्यक्रममा निवर्तमान अध्यक्ष कुबेर कार्कीले नव निर्वाचित   समितिलाई कार्यभार हस्तान्तरण गरे । पोर्चुगलमा करिव २५ हजार नेपाली रहेका अनुमान गरिएको छ । एनआरएनएमा दुई हजार भन्दा बढी सदस्य छन् । यो अधिवेशनमा १ हजार ३ सय ९८ सदस्यले मतदान गरेका थिए ।