भाले बोकेर सुत्केरी भेट्न पुगे वडाध्यक्ष !


नानीराम नेपाल, सिन्धुपाल्चोक । मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको बलेफी गाउँपालिकाले त्यसको कार्यान्वयनको सुरुवात गरेको छ । चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा उद्घोष गरिए अनुसार बलेफी गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गर्दै पोषणयुक्त आहार बितरण सुरु गरिएको छ ।

सुत्केरी महिलाका घरमै पुगेर जनप्रतिनीधिहरुले पोषणयुक्त आहार प्रदान गरेका छन् । मंगलबार बलेफी गाउँपालिका ८ स्थित भीरकुनामा सुत्केरी महिलाका लागि पोषण सामाग्री प्रदान गरिएको छ । बलेफी ८ का वडाध्यक्ष चरीबहादुर तामाङले ७ दिनकी सुत्केरी महिला सन्चमायाँ तामाङ, र ङेमा तामाङको घरमै पुगेर पोषणयुक्त सामाग्री प्रदान गर्नुभयो । उनीहरुका लागी एक/एक वटा भाले, गेडागुडी, आयोडिनयुक्त नुन र सरसफाईका सामाग्री प्रदान गरिएको हो । स्वास्थ्य संस्थामा आई नियमित गर्भजाँच गर्दै स्वास्थ्यचौकीमा नै आई सुत्केरी हुने महिलाहरुका लागि पोषण सामाग्री प्रदान गरिएको वडा सदस्य मन्दिरा कायस्थले जानकारी दिनुभयो ।

गाउँपालिकाको नीति, कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरुलाई पोषण सामाग्री प्रदान गरिएको वडाध्यक्ष तामाङले बताउनुभयो । ‘यो गाउँपालिकाकै अभियान हो, हामीले सुरुवात गरेका छौं’, तामाङले भन्नुभयो, ‘स्वास्थ्यसंस्थामा आई नियमित गर्भजाँच गराउने, स्वास्थ्यसंस्थामै सुत्केरी हुने महिलाहरुलाई पोषण सामाग्री प्रदान गर्दै जानेछौं ।’ सोमबार बलेफी गाउँपालिकाको ७ नम्बर वडामा पनि सुत्केरी महिलालाई पोषण सामाग्री प्रदान गरिएको थियो ।

वडाध्यक्ष कार्केल लामाले सुतकेरी महिलाका घरमै पुगेर भाले, गेडागुडी, आयोडिनयुक्त नुन र सरसफाई सामाग्री प्रदान गर्नुभएको थियो । सुतकेरी आमा र बच्चाको पोषणका लागि गाउँपालिकाको यो कार्यक्रममा जिल्लास्थित टुकी संघ सुनकोसीको सुआहारा परियोजनाले समन्वयको काम गर्दै आएको छ ।